Sunday, July 28, 2019

किन चाहिन्छन् राम्रा पुस्तकालय ?

किन चाहिन्छन् राम्रा पुस्तकालय ?

किन चाहिन्छन् राम्रा पुस्तकालय ?


१८ सेप्टेम्बर २०१८ को न्युयोर्क टाइम्सको वेबसाइटमा प्रकाशित एक आलेखमा एरिक क्लिनेनवर्गले इन्टरनेटको विकासका कारण धेरैजसो सूचना सजिलै पाउन सकिए पनि पुस्तकालयको महत्वमा कमी नआएको उल्लेख गरेका छन्। धेरै पुस्तक र अन्य सूचनाका स्रोतहरू ‘डिजिटाइज’ भइसकेको भए पनि न्युयोर्कलगायत सहरमा पुस्तकालय जानेहरूको संख्या बढ्दै गइरहेको तथ्यांक उनले प्रस्तुत गरेका छन्।
क्लिनेनवर्गका अनुसार पुस्तकालय ज्ञान र सूचना पाइने मात्र होइन, मानिसका बीचमा परिचय स्थापित गर्ने र ज्येष्ठ नागरिकका लागि कम खर्चमा मन बहलाउने थलो पनि बनेका छन्। पुस्तकालयमा विभिन्न विषयमा हुने अन्तरक्रिया, सूचनामूलक भिडियो प्रदर्शनी आदिले विभिन्न उमेरसमूहका मानिसहरू खासगरी बालबालिका र युवाहरूको सामाजिकीकरणमा सहयोग गरेका हुन्छन्। विकसित मुलुकमा भएका यस्ता अभ्यास इच्छाशक्ति हुने र कार्यान्वयनमा दृढतापूर्वक लाग्न सक्ने हो भने नेपालमा पनि सम्भव छ।
युवा लेखक दिनकर नेपाल अहिले काठमाडौं छाडेर गृहनगर वालिङमै बसोबास गरिरहेका छन्। वालिङमा अरू क्रियाकलापसँगै सार्वजनिक पुस्तकालय स्थापनामा पनि लागेका छन्। उनका अनुसार एउटा पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण हुने परम्परागत तरिका कमजोर हुँदै जाँदा र समाजमा साक्षरहरूको संख्या बढ्दै जाँदा सामुदायिक पुस्तकालयको आवश्यकता बढेको छ।
कलाकारद्वय महजोडीले बनाएका टेलिचलचित्र ‘बजेट आयो’ मा गाउँलेले विकासका लागि बाटोघाटो निर्माण, खानेपानीको व्यवस्थासँगै पुस्तकालय स्थापनालाई पनि प्राथमिकतामा राखेको देखाइएको छ। यसरी नेपालमा सचेत तप्कामा स्तरीय पुस्तकालयको आवश्यकता र महत्व महसुस हुन थालेको छ।
पुस्तकालय अनुभव
पुस्तकालयसम्बन्धी मेरा व्यक्तिगत अनुभव अरूसँग पनि मिल्छन् र यहाँका पुस्तकालयका सीमितताहरू बुझाउँछन् जस्तो लाग्छ। अमृत साइन्स कलेजमा आईएस्सी पढ्दा धेरै कममात्र पुस्तकालय बसेँ। मलाई पढ्नुपर्ने जस्तो लागेका सबैजसो किताब किनेको थिएँ।
कहिलेकाहीँ, विज्ञानका विभिन्न विषयका प्राक्टिकलका किताबहरू मत्र पुस्तकालयबाट लगेँ। त्रिचन्द्र क्याम्पसमा बीए पढ्दा मैले अंग्रेजी र साइकोलोजी (मनोविज्ञान) मुख्य विषयका रूपमा लिएको थिएँ। त्यहाँ धेरै समय पुस्तकालयमा बिताएँ। त्यसबेलाको पाठ्यपुस्तक भन्दा बाहिरको नपढ्ने चलन थियो। गाइड र गेसपेपर मात्रै पढ्नेहरू धेरै थिए।
मनोविज्ञानका लागि पाठ्यक्रममा भएका किताबबाहेक त्यसबेला ज्ञानेश्वरमा रहेको अमेरिकन लाइब्रेरीमा गएर विभिन्न पुस्तक र कहिलेकाहीँ इन्साइक्लोपिडिया (विश्वकोष) बाटै सम्बन्धित शीर्षकका सामाग्री फोटोकपी गरेर ल्याउँथे। राजनीति, समाजशास्त्र, मनोविज्ञानलगायत विषयका नयाँनयाँ इन्साक्लोपिडिया (विश्वकोश) देख्दा यो भन्दा बढी पढ्नुपर्ने केही होला र ? जस्तो लाग्थ्यो।
पछि थाहा पाएँ, इन्साइक्लोपिडियाहरूले त अध्ययन अनुसन्धानमा प्रायः ‘विज्ञताको लागि सामान्य ज्ञान’ दिन मात्रै सक्दा रहेछन्। विस्तृत र गहिरो ज्ञानका लागि त सम्बन्धित विषयमा गहिरो अध्ययन अनुसन्धान गरी लेखिएका पुस्तक र जर्नलहरू पो पढ्नुपर्ने रहेछ।
२०७० असारमा साउथ एसियन युनिभर्सिटीमा पढेर फर्किएको केही समयपछि म त्रिविको नयाँ खुलेको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति कार्यक्रम (एमआईआरडी) मा पढाउन थालेँ। उक्त कार्यक्रममा रहेका विद्यार्थी र शिक्षकलाई अमेरिकन लाइब्रेरीको सदस्यता (निःशुल्क जस्तो लाग्छ) दिइएको थियो। त्यसबेला पुस्तकालय महाराजगन्जको अमेरिकी राजदूतावास परिसरभित्र सरिसकेको रहेछ।
त्यो लाइब्रेरी कार्ड लिएर म एकपटक छिरेको थिएँ। त्यहाँ सुरक्षाका कारण कम्प्युटर, पेनड्राइभ केही पनि लग्न नपाइने रहेछ। अमेरिकी राजदूतावासलाई हुने सुरक्षा चुनौतीका कारण पुस्तकालय छिर्दा विमानस्थलमा भन्दा कडा सुरक्षा जाँच हुने रहेछ। दिक्कलाग्दो सुरक्षा जाँचका कारण म त्यहाँ नछिर्ने विचार गरेँ। सर्वसाधारण पाठकमैत्री नहुँदा सायद पढ्नकै लागि त्यो पुस्तकालय अब म जाने छैन।
बीए पढ्दा धेरैपटक त्यसबेला जमलमा रहेको ब्रिटिस काउन्सिलको लाइब्रेरी गएँ। निरन्तर जस्तै त्यो पुस्तकालयको सदस्यता लिएको थिएँ मैले। त्यहाँ पत्रपत्रिका, मानविकी र समाजशास्त्रसम्बन्धी पुस्तक पढ्न पाइन्थे। पछि यो पुस्तकालय लैनचौरको बेलायतको दूतावास भएकै ठाउँमा सर्‍यो। अहिले ब्रिटिस काउन्सिलबाट आईईएलटीएस (एक किसिमको अंग्रेजी भाषा परीक्षा)को तयारी गरेकालाई पढ्ने सुविधा दिने गरी खुम्चिएको छ त्यो पुस्तकालय।
त्यसलाई पनि सर्वसाधारण नेपालीलाई पुस्तकालयको सुविधा दिनुपर्ने करलाग्दी छैन। धेरै पटक त्यहाँ गएर पढेको र सामग्रीहरू ल्याएर पढेकाले व्यक्तिगत रूपमा भने अमेरिकन लाइब्रेरी र ब्रिटिस काउन्सिलको लाइब्रेरीप्रति म धेरै नै अनुग्रहित छु।
न्युरोडमा नेपाल वायुसेवा निगम रहेको भवनमा रहेको नेपाल–भारत लाइब्रेरी गइरहेको छु। त्यहाँ नेपाली र भारतीय पत्रपत्रिकाका अलावा भारतीय समाज, राजनीति, धर्म, संस्कृति, नेपाल–भारत सम्बन्ध, भारतको विदेश नीतिका केही पुस्तक पाइए पनि अध्ययन अनुसन्धानको लागि पुग्ने पुस्तक त्यहाँ पनि छैनन्। त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालयमा नेपाली, हिन्दी, अंग्रेजी र नेपालमा बोलिने मातृभाषाका साहित्यका पुस्तकहरू पाइए पनि अन्य विषयका विद्यार्थीलाई पढ्ने वातावरण त्यहाँ छैन। त्यहाँ ई–लाइब्रेरी, इन्टरनेट र फोटोकपीको समेत राम्रो सुविधा छैन। प्रज्ञा प्रतिष्ठानको पुस्तकालय अहिले नयाँ बनेको छुट्टै भवनमा सरेपछि पनि यस्ता सुविधा भने थपिएका छैनन्।
नेपालको सबैभन्दा ठूलो, धेरै विषयका किताब पाइने भने त्रिविको केन्द्रीय पुस्तकालय हो। २०७२ वैशाखको भूकम्पपछि त्यहाँ बसेर पढ्न पनि डर लाग्ने भएको छ। धेरैजसो विषयका स्नातकोत्तर र विद्यावारिधिको मात्र पढाइ हुने केन्द्रीय क्याम्पसको पुस्तकालयमा चाहिने सबैजसो पुस्तक, जर्नल, डिजिटल स्रोतहरू, सुविधा सम्पन्न ई–लाइब्रेरी त्यहाँका विद्यार्थी, शिक्षक र अध्येताहरूका लागि सजिलै प्राप्त हुनुपर्ने हो।
त्यहाँ केन्द्रीय, आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पढाइ हुने लगायत नेपाली जनजीवन, समाज, संस्कृति, भाषा, अर्थ राजनीतिका सकेसम्म धेरै पुस्तक हुनुपर्छ। मुलुकका अन्य विश्वविद्यालय, त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूका लागि उक्त पुस्तकालय ‘रोल मोडल’ हुनुपर्ने हो।
तर त्रिवि केन्द्रीय पुस्तकालयमा नयाँ किताबहरू सितिमिति पाइँदैन। विभिन्न विषयका हजारौं पुराना किताब छन्। नेपालस्थित विभिन्न मुलुकका राजदूतावासहरूले पुराना भएपछि दिएका सयौं किताब पनि छन्। ती उपयोगी छन्, तर त्यतिले नै पुग्दैन। त्रिवि केन्द्रीय पुस्तकालयमा आफ्नो कम्प्युटर लिएर गएर पढ्न पनि गाह्रो छ। त्यहाँ कम्प्युटर चार्ज गर्नलाई सबैतिर प्लग पाइँदैन। कम्प्युटर सेक्सनमा पनि ल्यापटप चार्ज गर्न पाउन मुस्किल छ।
पुस्तकालय बिहान साढे ९ मा खुलेर जाडो महिनामा साढे ४ र गर्मी महिनामा बेलुका साढे ५ मा बन्द हुन्छ। मुलुकको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय पुस्तकालय दिनको जम्मा ७–८ घण्टा खुल्नु स्वाभाविक हुँदै होइन। उक्त पुस्तकालय सकेसम्म दिनको चौबिसै घण्टा र त्यसो गर्न नसके पनि कम्तीमा पनि १५÷१६ घण्टा त खुल्नुपर्ने हो। सकेसम्म चौबीसै घण्टा खुल्ने सुविधासम्पन्न रिडिङ हल÷रुमहरूको व्यवस्था हुनुपर्ने हो।
त्रिविमा कार्यरत प्राध्यापकहरूले किन्न सिफारिस गरेका किताब पनि ‘आर्थिक अभाव’का कारण पुस्तकालयले समयमा किन्दो रहेनछ। नेपालको सबैभन्दा ठूलो भनेर गर्व गर्न लायक पटक्कै छैन त्यो पुस्तकालय। त्रिवि समग्र रूपमा राम्रो अवस्थाबाट गुज्रेको छैन, कुरूप राजनीतीकरणले थिलोथिलो परेको छ।
करिब साढे दुई वर्ष त्रिविमा पढाउँदा मैले त्यसलाई नजिकबाट नियाल्ने मौका पाएको छु। त्रिविलाई सरकारले वार्षिक ठूलो धनराशि दिन्छ। यसका आन्तरिक स्रोत पनि छन्। त्रिविमा नयाँ भवनहरू धेरै बन्छन् तर पुस्तकालयलाई स्तरीय बनाउन धेरैको ध्यान पुगेको देखिँदैन।
त्रिविको तुलनामा बरु धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा नयाँ पुस्तकहरू पाइन्छन्। एकचोटी उक्त विश्वविद्यालयको पुस्तकालय पुग्दा उक्त पुस्तकालय तुलनात्मक रूपमा बढी व्यवस्थित लागेको थियो। उक्त पुस्तकालयको वेबसाइटमा जनाइएअनुसार पुस्तकालय बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने रहेछ। शनिबार पनि दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने रहेछ।
मार्टिन चौतारी र सोसल साइन्स बहाःका पुस्तकालयका पनि विभिन्न सीमितता छन्। यी दुई संस्थाले उनीहरूले अध्ययन अनुसन्धानका लागि छानेको क्षेत्रमा प्रशंसायोग्य योगदान गरेका भए पनि उनीहरूका पुस्तकालय भने स्तरीय छैनन्। दुवै पुस्तकालयको सदस्य नै बने पनि उक्त पुस्तकालयका पुस्तक घरमा ल्याएर पढ्न नपाइने नियम छ। मार्टिन चौतारीको ई–लाइब्रेरीका कम्प्युटर र इन्टरनेट दिक्क लगाउने किसिमका ढिला छन्। मार्टिन चौतारीको पुस्तकालयमा उक्त संस्थाले अनुसन्धान गर्ने क्षेत्रका राम्रा पुस्तक छन्। त्यसका अलावा उक्त संस्थाले विभिन्न विषयमा आकर्षक ‘बिब्लियोग्राफी’ तयार गरेर वेबसाइटमा समेत राखिदिएको छ।
काठमाडौं उपत्यकामा नाम चलेकामध्ये मदन पुरस्कार र डिल्लीरमण– कल्याणी रेग्मी स्मारक पुस्तकालय भने म अहिलेसम्म गएको छैन। वेबसाइटबाट पाएको जानकारीअनुसार मदन पुरस्कार पुस्तकालयमा नेपाली साहित्यका बारेमा धेरै उपयोगी संग्रह छन्। तर समग्रमा भन्नुपर्दा यी कुनै पनि पुस्तकालय विद्यार्थी, शिक्षक, अध्ययन, अनुसन्धान गर्नेहरूलाई उनीहरूसँग सम्बन्धित नै विषयमा पनि चाहिने सेवा दिन सक्षम छैनन्। यो लेख लेख्ने क्रममा डिजिटल पत्रिका सेतोपाटीको स्रोतअनुसार काठमाडौंमा मात्रै ६३ वटा पुस्तकालय रहेको समाचार छ। समाचारअनुसार प्रायः पुस्तकालय व्यवस्थित छैनन्, यसको कारण देखाइएको छ, उही स्रोत साधनको अभाव।
मैले अहिलेसम्म मज्जाले पढ्न पाएको पुस्तकालय भने दिल्लीको साउथ एसियन (सार्क) युनिभर्सिटीको पुस्तकालय हो। यद्यपि भारतकै सन्दर्भमा पनि त्यो उत्कृष्ट पुस्तकालय भने होइन। तर त्यहाँ विद्यार्थी र प्राध्यापकहरूलाई चाहिने सुविधा दिन कोसिस गरिएको छ। अहिले उक्त पुस्तकालय सो विश्वविद्यालयका स्थापना कालका प्रेसिडेन्ट स्वर्गीय जीके चढ्ढाको नाममा नामकरण गरिएको छ।
२०११ को अगस्टको पहिलो साता म भर्ना हुन जाँदा विश्वविद्यालय स्थापना भएको धेरै भएको थिएन। नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको विश्वविद्यालयको अल्पकालीन् भवनमा कक्षाकोठा बन्ने क्रममा थिए। त्यहाँ होस्टल तयार नभएकाले विश्वविद्यालयले विद्यार्थीलाई एक वर्ष नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको सरकारी पाँचतारे होटल सेन्टोरमा राखेको थियो। त्यहाँबाट १२ किलोमिटर पर रहेको युनिभर्सिटीको पुस्तकालय राम्रोसँग प्रयोग गर्न पाइन्थेन।
त्रिविमा नयाँ भवनहरू धेरै बन्छन् तर पुस्तकालयलाई स्तरीय बनाउन धेरैको ध्यान पुगेको देखिँदैन। केन्द्रीय पुस्तकालय दिनको जम्मा ७–८ घण्टा खुल्नु स्वाभाविक होइन।
त्यसबेला पुस्तकालय राम्रोसँग व्यवस्थित पनि थिएन। पढाइ सुरु भएको एक वर्ष पछि सन् २०१२ को जुलाईबाट विश्वविद्यालयको होस्टल चाणक्यपुरीमै विश्वविद्यालय रहेको अकबर भवनमा सारियो। त्यसको केही महिनापछि त्यहाँको पुस्तकालय बिहान ९ बजे देखि रातको १२ बजेसम्म खुल्न थाल्यो। त्यहाँ रहेका रिडिङ रुम (विद्यार्थीका लागि पढ्ने छुट्टै कोठाहरू) भने चौबीसै घन्टा खुल्न थाले। छात्रावासको कोठा (डोर्मिटोरी) मा बस्दा पनि ई–लाइब्रेरीका सुविधाहरू पाइन्थे।
पुस्तकालय दैनिक १५ घण्टा र एअर कन्डिसनका सुविधा भएका रिडिङ रुमहरू २४ घण्टा खुल्ने व्यवस्था मिलाउन साउथ एसियन युनिभर्सिटीलाई डेढ वर्ष लाग्यो। सन् २०१३ जुलाईमा मैले विश्वविद्यालय छोड्ने बेलासम्म त्यहाँ आफूलाई चाहिने विषयका प्रायः पुस्तक पाइन्थे। आफूलाई चाहिने किताब शिक्षकले मात्र होइन, विद्यार्थीहरूले पनि सिफारिस गर्न पाउँथे। त्यसरी सिफारिस गरिएका अधिकांश पुस्तक केही समयमा पुस्तकालयले उपलब्ध गराउँथ्यो। अहिले उक्त विश्वविद्यालयले क्याम्पस परिसर बाहिर बस्ने शिक्षक र विद्यार्थीका लागि पनि ई–लाइब्रेरीमा पहुँच (एक्सेस) पाइने व्यवस्था मिलाइदिएको रहेछ।
विश्वका केही उदाहरण
नेपालमा अज्ञानताकै कारण भारतको गौरवशाली शैक्षिक संस्था जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) लाई होच्याइने गरिन्छ। जेएनयूबाट शिक्षा पाएका हजारौं व्यक्तिहरूले भारत र दक्षिण एसियाको राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।
जेएनयूको केन्द्रीय पुस्तकालयलाई भारतका संविधान निर्माता चर्चित दलित नेता बाबासाहेब भीमराव रामजी अम्बेडकरको नाममा डा. बीआर अम्बेडकर सेन्ट्रल लाइब्रेरी भनिन्छ। नौ तले अग्लो भवनमा रहेको जेएनयूको पुस्तकालयको ई–लाइब्रेरीमा धेरै स्रोत पाइन्छन्। हुन त त्यो पुस्तकालय बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म मात्र खुल्ने रहेछ। उक्त पुस्तकालय बेलुका ८ बजे बन्द हुने भए पनि भुइँतलाको रिडिङ हल भने आइतबार र सार्वजनिक बिदाका दिन बेलुकाको ९ बजेसम्म र अरू दिन रातको १२ बजेसम्म खुल्दा रहेछन्। स्पेसल रिडिङ हल भएको ढोलपुर हाउस भने वर्षैंभरि चौबीसै घण्टा खुल्नेरहेछ। विभिन्न किसिमका शारीरिक अपांगतामैत्री संरचना भएको पुस्तकालयमा त्यस्ता व्यक्तिलाई पढ्न सहज बनाउने विभिन्न उपाय अपनाइएका रहेछन्।
यो लेख लेख्ने क्रममा मैले विश्वका चर्चित विश्वविद्यालयका पुस्तकालयका वेबसाइट पनि हेरेँ। सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरमा केन्द्रीय पुस्तकालयसहित चिनियाँ भाषा, कानुन, स्वास्थ्य, संगीत, विज्ञानसहित विभिन्न विषयगत आठवटा पुस्तकालय रहेछन्। विश्वकै प्रख्यात हावर्ड विश्वविद्यालयमा विश्वविद्यालयको हाता भित्र र बाहिर गरेर कम्तीमा पनि २५ वटा पुस्तकालय रहेछन्।
डेनमार्कको कोपनहेगन विश्वविद्यालयमा पनि विभिन्न फ्याकल्टीअनुसारका फरकफरक पुस्तकालय रहेछन्। नयाँ दिल्लीको दिल्ली विश्वविद्यालयको ‘लाइबे्ररी सिस्टम’ भित्र सेन्ट्रल लाइब्रेरी (केन्द्रीय पुस्तकालय), आर्टस् लाइब्रेरी (मानविकी पुस्तकालय), सेन्ट्रल साइन्स लाइब्रेरी (केन्द्रीय विज्ञान पुस्तकालय), इस्ट एसिया स्टडिज लाइब्रेरी (पूर्वी एसिया अध्ययन पुस्तकालय), साउथ क्याम्पस लाइब्रेरी, रतन टाटा लाइब्रेरी, व्यवस्थापन संकायको पुस्तकालय, कानुन संकायको पुस्तकालय आदि रहेछन्। विश्वविख्यात लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका पुस्तकालयहरू पनि अत्यन्त सुविधासम्पन्न भएको जानकारी पाउन सकिन्छ। यी केही प्रतिनिधि उदाहरण मात्र हुन्।
चौबिसै घण्टा खुल्ने पुस्तकालय
इन्टरनेटमा खोज्दा दिनको चौबिसै घण्टा खुल्ने पुस्तकालय पनि पाइन्छन्। तीमध्ये प्रायः कलेज र विश्वविद्यालयका पुस्तकालय छन्। ती पुस्तकालय चौबिसै घण्टा खोल्नुका केही कारणहरू दिइएका छन्। जस्तै विद्यार्थीले आफूलाई सजिलो पर्ने र लाग्ने समयमा पढ्न पाउने र रातको शान्त वातावरणमा पढ्न रुचाउने विद्यार्थीलाई सजिलो हुने तर्क गरिएका छन्। चौबिसै घण्टा खुल्ने पुस्तकालय हुँदा कलेज र विश्वविद्यालयको प्रचार हुने र विद्यार्थी आकर्षित गर्न सकिने पनि ती शैक्षिक संस्थाहरूको अनुभव छ। रातको २÷३ बजे पछि भने त्यस्ता पुस्तकालयमा पढ्ने विद्यार्थी असाध्यै कम हुँदा रहेछन्।
यस्ता पुस्तकालयका आलोचना भने भएका छन्। यी पुस्तकालयले काम र अध्ययन गर्ने स्वस्थ शैलीलाई चुनौती दिएका भनेर विरोध हुने गरेका छन्। यस्ता पुस्तकालयका बारेमा थाहा पाएका बालबालिका अस्वस्थ कार्यशैलीप्रति प्रेरित हुन सक्ने डर व्यक्त गरिएका छन्। उदाहरणका लागि, सन् २०१३ को मार्च १३ मा ‘दि गार्डियन’मा प्रकाशित एउटा लेखमा विल कोल्डवेलले यस्ता पुस्तकालयले मनोरञ्जन र आरामविहीन जीवनलाई प्र श्रय दिने बताएका थिए। त्यस्तै २०१७ मे मा हफिङटन पोस्ट्मा प्रकाशित आलेखमा जो नुननले यस्ता पुस्तकालयले अस्वस्थ जीवनशैलीलाई प्रश्रय दिने तर्क गरेका छन्।
नेपाली अध्येताका अनुभव
यसै लेखका लागि मैले पहिला नेपाल र त्यसपछि विकसित मुलुकका विश्वविद्यालयमा समेत अध्ययन गरेका केही नेपाली अध्येता र विद्यार्थीसँग उनीहरूको पुस्तकालय अनुभव तुलना गर्न अनुरोध गरेको थिएँ। इमेल र फेसबुकमार्फत अस्ट्रेलिया, अमेरिका, जापान, डेनमार्क, चीन र भारतमा अध्ययन गरेका केहीलाई यस्तो अनुरोध गरिएकोमा आधा जतिले मात्रै उत्तर पठाए।
तीमध्ये अमेरिकाको जर्जटाउन युनिभर्सिटीबाट समाजशास्त्रमा पीएचडी सकेका र हाल नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीका उपप्राध्यापक चूडामणि बस्नेत र डेनमार्कको आह्रुस युनिभर्सिटीबाट ह्युमन सेक्युरिटीमा एमए गरेका पोखराका दामोदर त्रिपाठी हुन्। अस्ट्रेलियाको एउटा विश्वविद्यालयमा समाजशास्त्रमा र अमेरिकामा कुनै विश्वविद्यालयमा मेडिकल न्युरोसाइन्समा पीएचडी गर्दै गरेका दुई अध्येताले भने आफ्नो नाम गोप्य राख्न चाहे।
उनीहरूका अनुसार नेपाल र उनीहरूले पछि अध्ययन गरेका विदेशी विश्वविद्यालयका पुस्तकालयमा धेरै नै फरक छन्। त्यहाँका पुस्तकालयहरू तुलनात्मक रूपमा लामो समय खुल्छन्। पुस्तकालयको ई–लाइब्रेरीबाट पाइने सुविधा धेरै नै राम्रो भएको चारैजनाको अनुभव छ। डा.बस्नेतका अनुसार यदि पुस्तकालयमा अध्येता÷ विद्यार्थीले खोजेको पुस्तक छैन भने पनि पुस्तकालयमा अरु पुस्तकालयहरूबाट ल्याइदिने (इन्टरलाइब्रेरी लोन)को सुविधा हुन्छ र पुस्तकालय वास्तवमै विद्यार्थीको सेवामा प्रतिबद्ध हुन्छन्।
अस्ट्रेलियामा पनि इन्टरलाइब्रेरी लोन र विद्यार्थीको सेवामा पुस्तकालय प्रतिबद्ध रहेको नेपाली अध्येताको अनुभव छ। डा. बस्नेतका अनुसार अमेरिकामा विश्वविद्यालय बाहिरका सार्वजनिक पुस्तकालयहरू पनि राम्रा हुने हुनाले त्यहाँबाट समेत आफूलाई चाहिने सामग्री ल्याएर पढ्न सकिन्छ।
अस्ट्रेलियामा अध्ययनरत अध्येताका अनुसार उच्च शिक्षा अध्ययन गरेकाहरूका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ। पुस्तकालयमा कुनै विषयसँग सम्बन्धित छुट्टै लाइब्रेरियनहरू पनि हुन्छन्। तिनीहरूसँग सम्बन्धित विषयका सामाग्रीका बारेमा छलफल गर्न सकिन्छ। पुस्तकालयमा प्राज्ञिक लेख लेख्न सिकाउने सल्लाहकारहरू हुन्छन्। पुस्तकालयहरूले अनुसन्धानात्मक लेखहरू लेख्दा रिफरेन्स र इन्ड नोट राख्नदेखि लिएर समग्रमा अनुसन्धान व्यवस्थापन गर्न सिकाउने सेमिनार र कन्फेरेन्स गर्ने गर्छन्।
अमेरिकामा मेडिकल न्युरोसाइन्समा पीएचडी गर्दै गरेका अध्येताका अनुसार ई–लाइब्रेरीबाट पाइने स्रोत यति धेरै हुन्छन् कि सधैं पुस्तकालयको भवनमा गइरहनु पर्दैन। पुस्तकालयमा टेबलपिच्छे कम्प्युटर हुने र एकान्तमा पढ्न चाहने विद्यार्थीलाई ससाना कोठा (क्युबिकल) उपलब्ध हुन्छन्। पुस्तकालयमा हल्ला हुँदैन। विद्यार्थीले पुस्तकालयबाट जति पनि किताब लैजान पाउँछन्।
पुस्तकालय फरक क्षमता (अपागंता) भएका विद्यार्थी मैत्री हुन्छन्। विभागैपिच्छे फरकफरक पुस्तकालय हुने र विभागअनुसारका यस्ता पुस्तकालय सम्बन्धित विभाग नजिकै हुने हुनाले पुस्तकालय जान धेरै समय खेर फाल्नु पर्दैन। त्यहाँका पुस्तकालय विद्यार्थी र अध्येतालाई सकेसम्म धेरै सेवा दिन कोशिस गर्छन्। यसरी शिक्षण, सिकाइ, अध्ययन र अनुसन्धानमा पुस्तकालय अभिन्न अंग बनेका छन्।
प्रतिविम्ब : राष्ट्रिय पुस्तकालय
विश्वका ठूला पुस्तकालयहरूको सूचीमा विभिन्न मुलुकका राष्ट्रिय र संघीय संसदका पुस्तकालय पर्छन्। अमेरिकाको लाइब्रेरी अफ कंगे्रस, बेलायतको ब्रिटिस लाइब्रेरी, क्यानडा, स्पेन, रुस, चीन, फ्रान्स, डेनमार्क आदिका राष्ट्रिय पुस्तकालय र जापानी संसद् डायटको पुस्तकालय विश्वकै ठूला पुस्तकालयमा पर्छन्। यी राष्ट्रिय वा संघीय विधायिकाका पुस्तकालयका अलावा अमेरिकाका विभिन्न प्रान्तीय र विश्वका चर्चित विश्वविद्यालयका पुस्तकालय विश्वका ठूला पुस्तकालयमा पर्छन्।
अमेरिकाको लाइब्रेरी अफ कंग्रेस मूलतः अमेरिकाको दुई सदनात्मक व्यवस्थापिका सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभलाई चाहिएको सूचना र ज्ञान उपलब्ध गराउने हेतुले स्थापना गरिएको हो। अमेरिकामा यी दुई सदनको संयुक्त स्वरूपलाई कंग्रेस भनिन्छ। उक्त पुस्तकालयले कंग्रेसले मागेका महत्वपूर्ण विषयमा सुझाव दिन्छ। त्यसका अलावा सर्वसाधारण अमेरिकी र अरू मुलुकका पाठक, अध्येता, शिक्षक र विद्यार्थीका लागि महत्वपूर्ण सूचना दिने उद्देश्य राखेको छ उक्त पुस्तकालयले।
सो पुस्तकालयको वेबसाइटमा बताइएअनुसार त्यहाँ विश्वमा प्रचलनमा रहेकामध्ये चार सय ७० भाषाका पुस्तक, जर्नल र अन्य सामग्री छन्। वेबसाइटमा भनिएको छ, ‘यसको लक्ष्य अहिलेको समयको सबैभन्दा महत्वपूर्ण वस्तु–सूचना कंग्रेस र समग्रमा अमेरिकी सरकारलाई उपलब्ध गराउनु हो।’ विधायिकालाई सहयोग गर्न यस्तो ठूलो पुस्तकालय भएपछि त्यो व्यवस्थापिकाले सूचना र ज्ञानलाई कति प्राथमिकता दिँदो रहेछ स्पष्ट हुन्छ।
विश्वका सैनिक, आर्थिक र ज्ञानका हिसाबले शक्तिशाली राष्ट्रहरूले राष्ट्रिय पुस्तकालयहरूलाई यसरी महत्व दिइरहँदा, नेपालको राष्ट्रिय पुस्तकालयको अवस्था भने बिजोग छ। २०१८ मा स्थापना भएर २०१९ देखि हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय २०७२ को महाभूकम्पपछि राम्रोसँग सञ्चालनमा आउन सकेको छैन। भूकम्पले पुस्तकालयको भवन काम नलाग्ने भएपछि पहिला राष्ट्रिय पुस्तकालयको बालशाखा भएको सानो भवनमा पढ्ने व्यवस्था गरिएको छ। उक्त पुस्तकालयका धेरै पुस्तकहरू अहिले महेन्द्र भवन माध्यमिक विद्यालय सानो गौचरन र शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरमा लगेर राखिएका छन्।
नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख लाइब्रेरियन उपेन्द्रप्रसाद मैनालीका अनुसार जमलमा करिब आठ रोपनी क्षेत्रफलमा उक्त पुस्तकालयको सुविधासम्पन्न भवन बन्नेवाला छ। त्यसका लागि सरकारले राष्ट्रिय पुस्तकालयलाई जग्गा उपलब्ध गराइसकेको छ। विश्वका चर्चित राष्ट्रिय पुस्तकालयको मोडालिटीमा सोे पुस्तकालय बनाइने मैनालीले बताए।
उक्त भवन नबनिन्जेल २०७६ असारसम्म हरिहर भवनमा प्रिफ्याबको भवन बनाएर असोजबाट राष्ट्रिय पुस्तकालय राम्रोसँग सञ्चालनमा ल्याइने मैनालीले दाबी गरे। तर भूकम्पपछि तीन वर्ष बितिसक्दा पनि राष्ट्रिय पुस्तकालय राम्रोसँग सञ्चालनमा नआउनुले राज्यले पुस्तकालयलाई महत्व नदिएको र प्राथमिकतामा नराखेको स्पष्ट हुन्छ। यसको कारण आर्थिक अभाव मात्रै हो भन्न सकिँदैन।
किन चाहिन्छन् राम्रा पुस्तकालय ?      
अहिले नेपाल विभिन्न किसिमका आर्थिक, राजनीतिक, सामाजिक, वातावरणीय समस्यामा छ। ज्ञानमा आधारित संरचना हुने हो भने हाम्रा यी समस्याको समाधान खोज्न धेरै ठूलो सहयोग मिल्नेछ। त्यसका लागि मुलुकलाई गहिरो अध्ययन र अनुसन्धान हुने जीवन्त र गतिशील विश्वविद्यालय र थिंक ट्यांक चाहिन्छन्। वर्तमान सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा थिंक ट्यांकहरूलाई प्राथमिकतामा राखेको छ।
विश्वविद्यालयलाई मुलुक र समाजलाई चाहिने विशिष्ट ज्ञान उत्पादन गर्ने थलोको रूपमा लिने बताएको छ। यस्ता योजना साँचो अर्थ र असल विश्वासमा सुरु गरिएका हुन् भने स्वागतयोग्य छन्। तर यसका लागि पनि विश्वविद्यालय र थिंक ट्यांकहरूमा अत्यन्त उत्कृष्ट पुस्तकालयहरू हुनु जरुरी छ।
मुलुक शक्तिशाली स्थानीय तहसहितको संघीय संरचनामा गइसकेको अवस्थामा प्रादेशिक र स्थानीय तहमा पनि त्यहाँको समाजलाई सान्दर्भिक हुने सामग्री भएका पुस्तकालय हुनुपर्छ। प्रदेश र स्थानीय तहलाई पनि आफ्नो क्षेत्रभित्र आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विकासका लागि विश्वविद्यालय, उच्च शिक्षा अध्ययन गराउने केन्द्रहरू र अनुसन्धान केन्द्रहरू चाहिन्छन्। ती सबैका लागि सुविधासम्पन्न पुस्तकालय अत्यावश्यक पूर्वशर्त हुन्।
अन्तमा
‘खराब पुस्तकालयमा स्रोत (पठनसामग्री) हरूको संकलनमात्रै हुन्छ, राम्रा पुस्तकालयले पाठकलाई राम्रा सेवा दिन्छन्, उत्कृष्ट पुस्तकालयले समुदायलाई नै राम्रो बनाउन सहयोग गर्छन्।’ आर डेभिड ल्यांकेसको यी भनाइअनुसार पुस्तकालय राम्रो हुन उसले विभिन्न तहका पाठकलाई सन्तुष्ट हुने सेवा दिन सक्नुपर्छ।
र, समुदायलाई ज्ञानमा आधारित बनाउन सक्ने सकारात्मक भूमिका खेल्न सक्नुपर्छ। हाम्रो जस्तो कमजोर पठन र प्राज्ञिक संस्कृति भएको मुलुकको सन्दर्भमा पुस्तकलगायतका स्रोतहरूको संकलन भएका पुस्तकालयलाई आलोचना गर्नुभन्दा धन्यवाद नै दिनु उचित होला।
पुस्तकालयहरूले हाम्रो ज्ञानको धरातल र हाम्रो पठन र प्राज्ञिक संस्कृति कमजोर रहेको देखाउँछन्। ज्ञानमा आधारित संस्था र समाज बनाउने हाम्रो लक्ष्य धेरै टाढा रहेको पनि संकेत पनि गर्छन्। शिक्षा (हालः शिक्षा, विज्ञान र प्रविधि) मन्त्रालयले पुस्तकालयको विकास र व्यवस्थापनका लागि विभिन्न समयमा कम्तीमा पनि तीनवटा कार्यदलमार्फत गुरुयोजना बनाएको थियो। ती कुनै पनि गुरुयोजना कार्यान्वयन भएका छैनन्। पुस्तकालयका बारेमा अहिलेसम्म एउटा पनि ऐन नबनेको तथ्यले पनि पुस्तकालयलाई कति हदसम्म अवमूल्यन गरिएको रहेछ प्रष्ट हुन्छ।
पुस्तकालयमा लगानीलाई अनुत्पादक ठानिनु हुँदैन। पुस्तकालयहरू समाज र राज्यका प्राथमिकतामा पर्नुपर्छ। नेपालमा स्तरीय पुस्तकालय नभएका आर्थिक अभावले मात्रै भने सायद होइन। नीति निर्माण गर्ने तहमा ज्ञानमा विश्वास नगर्ने सोच र समाजमा विद्यमान कमजोर पठन र प्राज्ञिक संस्कृति कारण हुन सक्छन्।
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको फुर्सदमा २०७५ पुस ७ मा प्रकाशित लेख । अन्नपूर्ण पोस्ट्को अनलाइन संस्करणमा यसको लिंक :http://annapurnapost.com/news/115797