Thursday, July 12, 2018

भारतको नेपाल नीति :'प्रभाव क्षेत्र' अवधारणाको निरन्तरता

भारतको नेपाल नीति : 'प्रभाव क्षेत्र' अवधारणाको निरन्तरता

-शिवप्रसाद तिवारी

Image result for shiva Prasad tiwari

विसं २०७२ असोज ३ मा (२० सेप्टेम्बर २०१५) नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब पाँच महिना अघोषित नाकाबन्दी लगायो । भारतीय सरकारले अन्तर्राष्ट्रिय समुदायलाई, नेपाललाई र भारतभित्रै पनि नेपालमाथिको नाकाबन्दीको विरोध गर्नेहरूलाई आफूले नाकाबन्दी नलगाएको बरु नेपालभित्रकै मधेसवादी दलहरूले जारी संविधानको विरोध गर्दै गरेको आन्दोलन र नाकाकेन्द्रित धर्नाका कारण नेपालमा इन्धन र अरू सामानहरू पठाउन नसकेको बतायो ।
मधेसवादी दलहरूले संविधान मधेसी, जनजाति र अन्य सीमान्तकृत वर्गविरोधी भएकाले नाकाबन्दी भारतले गरेको नभएर आफूहरूले गरेको आन्दोलन र नाकाकेन्द्रित धर्नाको कारणले नाकाबन्दी भएको भन्दै भारतलाई चोख्याउने प्रयत्न गरे । मधेसवादी दलहरूले संविधानको विरोध गर्नुको कारण बुझ्न सकिए पनि भारतले किन नाकाबन्दी लगायो भन्नेमा धेरै सर्वसाधारण र पढेलेखेका नेपालीमा पनि अस्पष्टता र मनोगत बुझाइ पाइन्छ ।
नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रूपमा रूची लिने तर धेरैजसो पत्रपत्रिकामात्र पढेर विचार निर्माण गर्ने नेपालीमा पनि धेरै किसिमका मत पाइन्छन् । एकथरिले भारत कहिल्यै नेपालको भलो चाहँदैन भन्ने तर्क गर्छन् भने कतिपयले भारत नेपालमा नियन्त्रित अस्थिरता (भारतको नियन्त्रणमा भएको अस्थिरता) चाहन्छ भन्छन् ।
भारतको नेपालप्रतिको दृष्टिकोण व्याख्या गर्न भुटानीकरण, फिजीकरण र सिक्किमीकरण जस्ता शब्द पनि प्रयोग गरिन्छन् । अर्काथरि मानिसहरू भने भारतका परम्परागत र अरू सुरक्षा चासोहरूलाई नेपालले बुझ्न र सम्बोधन गर्न नसकेको, नेपालका हरेक समस्याको दोष भारतलाई देखाउने गरेको र नेपालको प्रभावकारी, अनि ज्ञान र सुक्ष्म रणनीतिहरूमा आधारित व्यवहारिक भारतनीति नभएकाले नेपाल–भारत सम्बन्धमा देखिने समस्यामा नेपाल पनि धेरै हदसम्म दोषी छ भन्छन् ।
यसरी भारत नेपालमा के चाहन्छ र किन ती चाहना राख्छ भन्नेमा सर्वसाधारण जनतादेखि पठित मानिसहरूमा पनि विभिन्न किसिमका बुझाई रहेका पाइन्छन् ।

प्रभाव क्षेत्रमा नेपालः व्याख्या र व्यवहार


भारत दक्षिण एसियाका मुलुकहरू, खासगरी नेपाल र भुटानलाई आफ्नो प्रभावक्षेत्रका मुलुक ठान्छ । नेपाललाई प्रभाव क्षेत्रको मुलुक ठान्ने हुनाले नेपालको विदेशनीति, सुरक्षा लगायत अरू कतिपय घरेलु विषयहरूमा पनि भारतको रूचीअनुसार नेपाल चलोस् भन्ने भारतीय चाहना देखिन्छ ।
यही उपनिवेशकालीन प्रभाव क्षेत्रको अवधारणाका कारण भारत नेपालको आन्तरिक राजनीतिक विकासक्रममा पनि केही स्वामित्व खोज्छ र नेपालले भारतलाई विश्वासमा नलिई गरेका मुख्य निर्णयलाई समर्थन नगर्नुको मुख्य कारण पनि यही हो । संविधान जारी भएपछि भारत नेपालसँग बेखुसी हुनुको मुख्य कारण नेपालको संविधान निर्माणको क्रममा आफूलाई स्थान नदिइएको भन्ने भारतीय बुझाइ नै हो ।
भारतले नेपालप्रतिको आफ्नो दृष्टिकोण व्याख्या गर्न धेरैजसो उपनिवेशकालीन भूराजनीतिक दृष्टिकोण र शब्दावलीहरू प्रयोग गर्दै आइरहेको छ । प्रभावक्षेत्र (स्फियर अफ इन्फ्लुएन्स), बफ्फर स्टेटको रूपमा नेपालको व्याख्या र नेपालका हिमालहरू पनि भारतको सुरक्षा प्रणालीका प्राकृतिक किल्लाहरू हुन् भन्ने भारतीय नीति (हिमालयन फ्रन्टियर पोलिसी)ले त्यस्तै उपनिवेशकालीन दृष्टिकोण बुझाउँछन् ।
जवाहरलाल नेहरूको पालादेखि अहिलेसम्मका भारतीय शासक, नीतिनिर्माता र बुद्धिजीवी पनि नेपाललाई प्रभाव क्षेत्रको मुलुक भन्दै यहाँको आन्तरिक मामलामा पनि भारतले रूची लिनु आवश्यक ठान्छन् । नेपालको राजनीतिक, आर्थिक, सामाजिक विकासलाई पनि भारतले आफ्नै सुरक्षा दृष्टिले हेर्ने र अथ्र्याउने रणनीति अबलम्बन गरेको छ ।
यसकारण भारत नेपालको आन्तरिक राजनीतिक विकासक्रममा पनि आफ्नो महत्त्वपूर्ण भूमिका होस् भन्ने चाहन्छ र नेपालले भारतलाई विश्वासमा नलिई लिने 'स्वतन्त्र' निर्णयहरू वा भारतलाई बेवास्ता गरिएका ठानिएका निर्णयलाई समर्थन गर्न हिच्किचाउँछ । कतिपय अवसरमा विरोध पनि गर्छ । कहिलेकाहीँ आफूसँग भएका स्रोत र साधनहरू प्रयोग गरेर त्यस्ता निर्णयहरूलाई असफल बनाउन लाग्छ ।
यस्तो सोच भारत सन् १९४७ (वि.सं. २००४) मा स्वतन्त्र हुँदादेखिको हो र अहिले पनि यसमा बदलाव आएको छैन । यसमा उनीहरूको तर्क हुने गर्छ–'नेपाल र भारतको सीमा खुला छ र भारतीय सुरक्षा चासोलाई नेपालले सम्बोधन गर्ने स्रोत र क्षमता नेपालसँग छैन ।' प्रभावक्षेत्रको यही बुझाई र अन्य भू–राजनीतिक कारण देखाउँदै भारत नेपालका हरेक गतिविधिलाई सुरक्षाको दृष्टिकोणले हेर्न र नेपालको आन्तरिक राजनीतिक विकासक्रमले भारतको सुरक्षामा असर पार्ने भन्दै यसमा चासो देखाउँछ र परेको खण्डमा हस्तक्षेप गर्न उद्यत हुन्छ ।
सन् १९४७ ताका भारत स्वतन्त्र हुँदा र कम्युनिस्ट चीनबाट वास्तविक सुरक्षा खतरा हुँदा त्यो दृष्टिकोण ठीक थियो होला, तर सन् १९९० को दशकपछि चीनको विदेशनीतिमा विचारभन्दा पनि व्यवहारिकतामा आधारित भएपछि भारतबाट यो पुनर्विचार गरिनुपथ्र्यो र नेपालले भारतलाई यस्तो नीति पुनर्विचार गर्न सक्रिय रूपमा झक्झकाउन सक्नुपथ्र्यो ।
भारतमा बढ्दै गएको पानीको समस्या र नेपालमा पानीको प्रचुरता, खुला सीमाका कारण भारतलाई हुनसक्ने सुरक्षा खतरा, दक्षिण एसियामा क्षेत्रीय नेतृत्व लिँदै विश्वशक्ति बन्ने भारतीय चाहना, नेपालसँगको सम्बन्धलाई बदलिँदो परिवेशमा व्याख्या गर्न र बुझ्नु वैकल्पिक अवधारणाको कमीका कारण पनि भारत नेपाललाई आफ्नो प्रभावबाट बाहिर नजाओस् भन्ने चाहन्छ ।
भारतको सैनिक, आर्थिक र ज्ञानको शक्तिको कारणले भारत नेपाललाई आफ्नो प्रभावक्षेत्रमा पर्ने व्याख्या गर्न र त्यसलाई व्यवहारमा पनि कायम राखिरहन सफल भइरहेको छ । नेपालका नेताहरूको शक्तिमा पुग्न र टिकिरहन जसरी पनि भारतलाई रिझाउनुपर्छ भन्ने मनोविज्ञानले पनि भारतलाई नेपालको आन्तरिक मामलामा चासो लिइरहन प्रेरित र उत्साहित गर्छ ।
प्रभावक्षेत्रको अवधारणामा आधारित भएर भारत नेपालमा व्यवस्था परिवर्तन गर्न र सरकार परिवर्तन गर्न भूमिका खेल्नेदेखि लिएर नीति निर्माणमा प्रभाव पार्ने, नेपालका विकास निर्माणका परियोजनामा भारतीय कम्पनीहरूलाई ठेक्का दिन लबिङ गर्ने र नेपालको राजनीतिमा सूक्ष्म व्यवस्थापन गर्नसमेत उद्यत देखिएको छ । यस्तो व्यवहार ०७ अघिदेखि अहिलेसम्म पनि निरन्तर देखिन्छ र भारतको नेपालनीतिमा तत्कालै परिवर्तन नआएकाले भविष्यमा पनि भारतबाट यस्तै व्यवहारको अपेक्षा गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावक्षेत्र


अन्तर्राष्ट्रिय राजनीतिमा विश्वका तुलनात्मक रूपमा शक्तिशाली राष्ट्रहरूले आफ्नो भू–भाग वरिपरिका राष्ट्रहरूलाई पनि आफ्नो प्रभाव क्षेत्रको रूपमा घोषित वा अघोषित रूपमा व्याख्या गर्छन् र ती राष्ट्रहरूको आन्तरिक राजनीतिक विकासक्रममा पनि रूची राख्छन् ।
ती प्रभाव क्षेत्रमा पर्ने भनेर व्याख्या गरिएका मुलुकहरूमा आफूविरुद्धका गतिविधि नहोउन्, आफ्नो रूचीहरूका विरुद्धमा काम गर्ने शासकहरू नहोउन् र आफ्नाविरुद्ध गतिविधि गर्ने 'बाह्य शक्तिहरू'को उपस्थिति प्रभाव क्षेत्रमा नहोस् भन्नेमा उनीहरूको विदेशनीति केन्द्रित हुन्छ । प्रभावक्षेत्रमा पर्ने भनेर व्याख्या गरिएका मुलुकहरूको विदेशनीति, सुरक्षानीति र आन्तरिक राजनीतिमा पनि प्रभाव पार्ने काम शक्तिशाली राष्ट्रहरूले गर्छन् ।
प्रभाव क्षेत्र भनेर व्याख्या गर्नु र त्यस्तो प्रभाव क्षेत्रलाई कायम राखिरहनु राष्ट्र शक्तिशाली र प्रभावशाली हुनुको परिचायक मानिन्छ । क्षेत्रीय शक्ति र विश्वशक्ति हुन उद्यत राष्ट्रहरूले पनि प्रभावक्षेत्र कायम गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनका केही प्रभावशाली सिद्धान्तहरू पनि छन् ।
पञ्चायतकालमा राजा महेन्द्र र वीरेन्द्रले 'स्वतन्त्र' परराष्ट्र नीति लिएको धेरै देशहरूसँग द्विपक्षीय सम्बन्ध राखेको र भारतलाई विश्वासमा नलिई अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा नेपाल सहभागी भएको भारतले मन पराएको थिएन ।
 उदाहरणका लागि संसारको सबैभन्दा शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकाले विश्वको हरेक कुनामा हुने राजनीतिक विकासक्रमलाई आफ्नो रूचीको विषय ठान्छ । तर अमेरिकाले उत्तर र दक्षिण अमेरिकी महादेशलाई भौगोलिक सामिप्यताको कारणले आफ्नो विषेश प्रभाव क्षेत्रको रूपमा मान्छ । यो अमेरिकाको दोस्रो विश्वयुद्धकालदेखिकै नीति हो । उत्तर र दक्षिण अमेरिकाका देशहरूमा सकेसम्म कम्युनिस्ट शासनहरू स्थापित नहोउन् भन्ने अमेरिकी चाहना थियो ।

बरु कम्युनिस्टहरूलाई दमन गर्ने र अमेरिकाको रूचीलाई सम्बोधन गर्ने सैनिक शासनहरूलाई अमेरिकाले समर्थन गरेको थियो । अमेरिकी विदेशनीतिमा यो प्रभाव क्षेत्रको अवधारणा यति शक्तिशाली थियो कि सन् १९६२ मा तत्कालीन सोभियत संघले क्युबामा अमेरिकालाई लक्षित गरेर आणविक अस्त्रहरू राख्न खोज्दा अमेरिका र सोभियत संघ आणविक युद्धको संघारमा पुगेका थिए ।
अमेरिकाले शीतयुद्धकालमा क्युबामाथि धेरै वर्ष लगाएको नाकाबन्दी, दक्षिण अमेरिकाका देशहरूका आन्तरिक राजनीतिमा खेलेको प्रत्यक्ष सक्रिय भूमिका, शीतयुद्धकालमा र पछि निकारागुवा, पनामा, हाइटीलगायतका देशहरूमा सत्तापलटलगायत आन्तरिक राजनीतिमा खेलेको प्रत्यक्ष भूमिका अमेरिकाको यही प्रभाव क्षेत्रको अवधारणामा आधारित थिए ।
शीतयुद्धकालमा अमेरिका, सोभियत संघ, चीनलगायत शक्तिशाली राष्ट्रहरूका आ–आफ्नै प्रभाव क्षेत्रहरू थिए । शीतयुद्धपछि पनि अमेरिका, रूस, चीन, भारत, साउदी अरेबिया, नाइजेरियालगायत राष्ट्रहरूले घोषित–अघोषित रूपमा आफ्ना प्रभाव क्षेत्र भनेर बुझिएका क्षेत्रमा हुने विकासक्रमप्रति चासो देखाउने र हस्तक्षेप गर्ने गरेका छन् ।
उत्तर आधुनिकवाद, उत्तर संरचनावाद र माक्र्सवादबाट प्रभावित क्रिटिकल थेओरी (आलोचनावादी सिद्धान्त ) ले यस्तो दृष्टिकोणलाई शक्तिशाली राष्ट्रहरूले कम शक्तिशाली राष्ट्रहरूमाथि हैकम र दबदबा कायम राखिरहन जानीजानी रणनीतिक रूपमा प्रयोग गर्ने दृष्टिकोण मान्छन् ।
यस्ता आलोचनावादी सिद्धान्तकारहरूले यस्ता बहसहरूलाई कायम राखेर आफ्नो भूमिका र आम्दानी बढाउन शक्तिशाली राष्ट्रका राजनीतिज्ञ, सेना, प्राज्ञिक क्षेत्र र समाचारमाध्यमहरूको 'अपवित्र' गठबन्धन बनेको हुन्छ भनेका छन् । नेपाल–भारत सम्बन्धको सन्दर्भमा पनि पवित्र÷अपवित्र जे भने पनि जानेर वा नजानेर भारतका राजनीतिज्ञ, नीतिनिर्माता, प्राज्ञिक वर्ग र सञ्चारमाध्यमको ठूलो तप्का नेपाललाई आफ्नो पञ्जाबाट फुत्किन दिनु हुँदैन भन्ने मान्यता राख्छ ।
भारतको शिक्षा र सञ्चारमाध्यमले पनि नेपाल, भुटानलगायतका मुलुकलाई नियन्त्रणबाहिर जान नदिन नहुने जनमत तयार गरिरहेका हुन्छन् ।

नीति र व्यवहारमा निरन्तरता


सन् १९४७ अगाडि भारतमा बेलायती औपनिवेशिक शासनका बेला भारतका अंग्रेज शासकहरूले नेपाललाई आफ्नो प्रभाव क्षेत्रको मुलुकको रूपमै बुझ्थे । नेपालका तत्कालीन राणाशासकहरूले भारतका बेलायती शासकहरूलाई खुसी पार्ने नीति अँगालेका थिए । कहिल्यै पनि सूर्य नअस्ताउने साम्राज्य ओगटेर बसेको बेलायती शासकसँग निहुँ खोजेरभन्दा मिलेरै आफ्नो शासन सत्ताको सुरक्षा गर्न सकिन्छ भन्ने उनीहरूको बुझाइ थियो ।
वास्तवमा तत्कालीन सन्दर्भमा नेपालका लागि त्यो व्यवहारिक र बुद्धिमतापूर्ण विदेश नीति नै थियो होला । अंग्रेजहरूसँग लडाइँमा उत्रिएका भीमसेन थापाले नेपालको ठूलो भू–भाग गुमाउने गरी सन् १८१५÷१८१६ मा (बि.सं. १८७२) सुगौली सन्धि गर्नुपर्‌यो भने जंगबहादुर राणाको शासनकालमा सुगौली सन्धिमा गुमेकामध्ये नयाँ मुलुक (हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) नेपाललाई प्राप्त भयो ।
यो चानेचुने उपलब्धी होइन । राणाकालमा बेलायती शासकलाई खुसी पार्ने, शासन सत्ता लम्ब्याउने, सकेसम्म बाहिरी विश्वबाट अलग राख्ने सचेत प्रयासहरू भए ।
भारत स्वतन्त्र भएपछि पनि विविध भूराजनीतिक कारणहरूले गर्दा भारतले नेपालको आन्तरिक राजनीतिमा चासो लिन र हस्तक्षेप गर्न छोडेन । २००७ कात्तिकमा राजा त्रिभुवन राजगद्दी त्यागेर सपरिवार भारत पलायन हुँदा होस् वा त्यसै वर्ष राजा–राणा–कांग्रेस त्रिपक्षीय सहमति हुँदा होस् भारतले भूमिका खेलेको थियो ।
२००७ सालदेखि २०१७ साल बीचको नेपालको राजनीतिक अस्थिरताको बेला भारतले नेपालको उत्तरमा चीनको तिब्बतसँगको सीमामा भारतीय सैनिक चेकपोस्टहरू राखेको पनि थियो, जुन पछि कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा सन् १९६९ (वि.सं. २०२६)मा हटाइयो । त्यसबेला पनि भारतले नेपालले भारतको सार्वजनिक रूपमा बेइज्जत गरेको भन्दै नाकाबन्दी गरेको थियो ।
भारतमा बढ्दै गएको पानीको समस्या र नेपालमा पानीको प्रचुरता, खुला सीमाका कारण भारतलाई हुनसक्ने सुरक्षा खतरा, दक्षिण एसियामा क्षेत्रीय नेतृत्व लिँदै विश्वशक्ति बन्ने भारतीय चाहना, नेपालसँगको सम्बन्धलाई बदलिँदो परिवेशमा व्याख्या गर्न र बुझ्नु वैकल्पिक अवधारणाको कमीका कारण पनि भारत नेपाललाई आफ्नो प्रभावबाट बाहिर नजाओस् भन्ने चाहन्छ ।
विसं. २०१५ को प्रथम बहुदलीय निर्वाचनपछि बनेको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले 'स्वतन्त्र' परराष्ट्र नीति अँगालेकाले चीन , पाकिस्तानलगायत राष्ट्रहरूसँग सम्बन्ध बढाएकाले र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध व्यापक बनाएकाले भारत खुसी थिएन ।
त्यसैले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले राजा महेन्द्रलाई प्रधानमन्त्री बीपी कोइरालालाई हटाएर सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन 'ग्रिन सिग्नल' दिएका थिए भनेर विभिन्न विद्वानहरूले पनि लेखेका छन् । तर त्यही मौका छोपेर, राजा महेन्द्रले बीपीलाई मात्र हटाएनन् कि प्रजातन्त्रकै गला निमोठे ।
पञ्चायतकालमा राजा महेन्द्र र वीरेन्द्रले 'स्वतन्त्र' परराष्ट्र नीति लिएको धेरै देशहरूसँग द्विपक्षीय सम्बन्ध राखेको र भारतलाई विश्वासमा नलिई अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा नेपाल सहभागी भएको भारतले मन पराएको थिएन । पञ्चायतकालमा पनि भारतले नेपाललाई प्रभावक्षेत्र बाहिर जान नदिन, भारतलाई विश्वास नलिई स्वतन्त्र निर्णयहरू नलिन, सुरक्षा र विदेश नीतिमा भारतसँग समन्वय गर्न निरन्तर दबाब दिएकै हो ।
सन् १९६५ (विसं. २०२२) मा नेपाल–भारतबीच भएको नेपालले आफूलाई चाहिने हतियारहरू सकेसम्म भारतबाटै किन्नुपर्ने सहमति, कालापानीमा भारतीय सेना आएर बसेको थाहा पाउँदा पनि राजा महेन्द्रले विरोध गर्न नसक्नु पनि भारतीय शक्तिको प्रभाव मान्नुपर्छ ।
भारत र चीनबीच सन् १९६२ (विसं. २०१९) मा भएको सीमायुद्धमा भारतको शर्मनाक पराजयपछि भने भारतले केही समय नेपाललाई चिढ्याउन चाहेन । त्यहीमाथि पञ्चायतकालमा राजाको एकतन्त्रीय अधिनायकवादी शासन, अशिक्षा, परम्परागत समाजका कारण गरिबी हुँदाहुँदै पनि नेपालमा एक किसिमको सामाजिक र राजनीतिक स्थिरता रह्यो ।
बढी चिढ्याउँदा नेपाल चीनको नजिक हुन जाने सम्भावनाका कारणले भारतले नेपालमा धेरै सुक्ष्म व्यवस्थापन भने गर्न पाएन । तर भौगोलिक बनावटका कारणले भारतमाथि सिर्जित निर्भरताका कारण नेपालको विदेशनीति, सुरक्षानीति र कतिपय अवस्थामा आन्तरिक राजनीतिक र आर्थिक विकासक्रममा भारतको प्रभाव भने प्रत्यक्ष वा परोक्ष रूपमा रह्यो, पञ्चायतकाल पनि त्यसको अपवाद रहेन ।
भारतको यस्तो व्यवहारबाट सशंकित भएर राजा महेन्द्र र त्यसपछि राजा वीरेन्द्रले नेपालमा भारतविरोधी भावना बढाए । २०२७ सालमा पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउन भारतले सक्रिय भूमिका खेलेपछि र २०३२ सालमा सिक्किम भारतमा गाभेपछि राजा वीरेन्द्रको पालामा नेपालमा भारतविरोधी राष्ट्रवादलाई बढावा दिइयो ।
यस्तो भारतविरोधी भावना बढ्नुमा राजा र त्यसबेलाका शासकको मात्र हात भने थिएन, भारतको हेपाहा नीति पनि उत्तिकै जिम्मेवार थियो । नेपालको भाषा, संस्कृति, धर्म, परम्परा भारतसँग मिल्ने भएकाले र खुला सीमाका कारण भारतीय र नेपाली सीमावारिपारि गएर अस्थायी÷स्थायी रूपमै बसोवास गर्न सक्ने भएकाले एकतन्त्रीय पञ्चायती व्यवस्थाले नेपालको स्वतन्त्रता जोगाइराख्न र नेपालको छुट्टै पहिचानको लागि भारतविरोधी भावना जगाउन कोसिस गर्‌यो ।
पाठ्यपुस्तक र राज्यनियन्त्रित समाचारमाध्यमबाट राज्यका 'इलिट' हरूले सर्वसाधारणमा जगाएको यो धारणा हालसम्म पनि विद्यमान छ । नेपालमा भारतविरोधी भावना यतिसम्म बढ्यो/बढाइयो कि नेपालका हरेक समस्यामा भारतलाई दोषी देखाइनेसम्म हुने गरेको छ । त्यो पञ्चायतकालीन भारतविरोधी राष्ट्रवादको प्रभाव नेपालको पहाडमा अझैसम्म देखिन्छ ।
सिक्किम भारतमा गाभिएपछि राजा वीरेन्द्रले भारतबाटै नेपाललाई सुरक्षा खतरा अनुभव गरी २०३१ सालमा आफ्नो राज्याभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरेका थिए । नेपालको आन्तरिक मामलामा सैनिकलगायत अरू हस्तक्षेप रोक्ने उद्देश्यले अगाडि सारिएको शान्ति क्षेत्र प्रस्ताव राजा वीरेन्द्रको विदेश नीतिको महत्त्वपूर्ण खम्बाको रूपमा अगाडि सारिएको थियो ।
पञ्चायतकालमा शान्ति क्षेत्रको प्रस्तावलाई सफल पार्न प्रशस्त स्रोत, साधन र समय खर्चिएको थियो । तर ११६ राष्ट्रले समर्थन गरे पनि भारतले समर्थन नगरिदिएपछि शान्ति क्षेत्रको प्रस्ताव पञ्चायती व्यवस्थाको अन्त्यपछि असफल भयो । बहुदलीय शासनकालमा दलहरूले त्यो प्रस्तावलाई महत्त्व दिएनन् ।
त्यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनमा पनि भारतको उल्लेखनीय भूमिका रहेको थियो । नेपालमा राजा वीरेन्द्रको नेतृत्वमा रहेको पञ्चायती शासन सत्ताले २०४४ सालमा चीनसँग हतियार किनेका कारण र त्यसभन्दा अगाडि पनि नेपाल र चीनबीच सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्ने सहमति भएको शंकामा नेपाल र चीन धेरै नजिकिएको ठानेकाले भारतले वाणिज्य र पारवहन सन्धि नवीकरण नभएको निहँमा नाकाबन्दी लगाएको थियो ।
त्यसैबेला नेपालमा बहुदलीय प्रजातन्त्रको माग गर्दै सुरु भएको कांग्रेस र संयुक्त वाममोर्चाको आन्दोलनलाई पनि भारतले समर्थन गरेको थियो ।
बहुदलीय व्यवस्था आइसकेपछि पनि २०५१ सालमा माओवादी सशस्त्र युद्ध सुरु भएपछि भारतले त्यहीं सेल्टर बनाएर बसेका माओवादी नेताप्रति आँखा चिम्लिएको जस्तो देखिन्थ्यो । नत्र पन्जाब, लखनउ र भारतको सामरिक महत्त्वले संवेदनशील ठानिएको सिलिगुढीमा माओवादीले महत्त्वपूर्ण भेला र बैठक गर्ने र सेल्टर लिने गर्न सक्दैनथे होलान् । विश्वास गर्नयोग्य विभिन्न पत्रकार र लेखकद्वारा लिखित किताब र लेखमा माओवादीलाई भारतको प्रत्यक्ष र परोक्ष सहयोग रहेको उल्लेख गरिएको छ ।
१८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएर भारतलाई गुमराहमा राख्न खोजेका, चीनसँग नजिकिन र चीनलाई सार्क सदस्य राष्ट्र बनाउन प्रयास गरेको र भारतले प्रस्ताव गरेको अफगानिस्तानलाई सार्कको सदस्य राष्ट्र बनाउन नेपालले आनाकानी गरेको भन्दै भारतले नेपाली सेनालाई दिँदै आएको हातहतियार मात्र रोकेन कि मानवअधिकार हनन् र लोकतन्त्रको अपहरणको कारण देखाउँदै युरोपेली युनियन र अरू पश्चिमा राष्ट्रहरूलाई पनि नेपाली सेनालाई सहयोग नगर्न र राजा ज्ञानेन्द्रको शासनलाई बलियो नबनाउन लबिङ नै गर्‌यो ।
त्यतिमात्र नभएर आन्दोलनरत नेपाली कांग्रेस, एमाले, कांग्रेस प्रजातान्त्रिक र नेपाल सद्भावना पार्टीलगायत सात दल र सशस्त्र युद्ध गर्दै आइरहेको माओवादीका बीच २०६२ साल मंसिरमा प्रख्यात बाह्रबुँदे समझदारी गराउन पनि भूमिका खेल्यो । त्यही बाह्रबुँदे सहमतिका आधारमा २०६२÷६३ मा दोस्रो जनआन्दोलन भयो । राजा सुरुमा शक्तिविहीन बनाइए, संविधानसभाको चुनाव भयो, राजतन्त्र समाप्त भयो ।
नेपालको सेना इतिहासमै पहिलोपटक वैधानिक सरकारको नियन्त्रणमा आयो र नेपाल धर्म निरपेक्ष मुलुक घोषणा भयो । यिनै परिवर्तनको लहरमा उभिएर मधेस आन्दोलन भयो, नेपाल संघीयतामा गयो र जातीय र क्षेत्रीय पहिचानका आधारमा संघीय प्रदेश बनिनुपर्ने माग अहिले पनि उठिरहेका छन् ।
२०६५ साल जेठमा राजतन्त्र गइसकेर गणतन्त्र आएपछि पनि मधेसवादी दललाई भारतले भित्रभित्र र खुलेआम सहयोग गरेको छ । मधेसवादी दलहरूको मधेस प्रदेश वा मधेसमा दुई मात्र प्रदेश, मधेसको क्षेत्रीय पहिचान र मधेसवादी दलले जारी संविधानविरुद्ध गरेको आन्दोलनमा भारतको नैतिक समर्थन मात्र छ भन्न सकिन्न ।
२०६३ साल माघमा अन्तरिम संविधान जारी भएपछि दुइटा संविधानसभा निर्वाचन भए । त्यसपछि भएका सरकार ढाल्ने र बनाउने खेलमा पनि भारतको महत्त्वपूर्ण भूमिका रहेको बाहिर आएका छन् । जस्तो कि पहिलो संविधानसभाकालमा पुष्पकमल दाहाल नेतृत्वको सरकार गिराउन र पछि बाबुराम भट्टराई नेतृत्वको सरकार बनाउन पनि नेपालमा विभिन्न च्यानल प्रयोग गरेर भारतले भूमिका खेलेको विषय आएका छन् ।
कहाँसम्म भने खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद् बन्नुमा र लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त हुनुमा पनि भारतकै हात देख्ने पनि प्रशस्तै छन् र यो आशंका पूरै गलत नहुन सक्छ ।
दोस्रो संविधानसभाले ९० प्रतिशतभन्दा बढी मतले पारित र २०७२ असोज ३ मा जारी गरेको संविधानलाई भारतले अहिलेसम्म स्वागत गरेको छैन । उल्टै यस संविधानका 'कमीकमजोरी' सच्याउन नेपालका राजनीतिक दललाई दबाब दिँदै अन्तर्राष्ट्रिय स्तरमा सहमति जुटाउँदै हिँडेको छ । भारतले संविधान जारी गर्ने समय केही पछाडि धकेल्न चाहेको थियो ।
संविधान जारी हुनु २/३ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर आएका भारतका विदेश मन्त्रालयका सचिव एस. जयशंकरलाई दलका नेताले समय घर्किइसकेकाले केही गर्न नसकिने र संविधान जारी भइछोड्ने बताइदिए । यसरी आफ्नो आग्रहअनुरूप नगरिएकाले आफू अपमानित भएको भन्दै जयशंकर फर्किए । संविधान निर्माण प्रक्रियामा आफूलाई विश्वासमा नलिइएको र बेवास्ता गरिएको भारतीय निष्कर्ष रह्यो ।
यता नेपालमा भने मधेसवादी दल र भारत संविधान जारी हुनै नदिन खोजेको जस्तो ठानेर तर्सिए । नेपालको एउटा चर्चित पत्रिकाका सम्पादकले नेपालका तीनजना पूर्व प्रधानमन्त्रीले उनीसँगको कुराकानीमा बुझ्न नसकिने कारणले भारतले नेपालमा संविधान जारी हुनै नदिन चाहेको लेखेका थिए ।
भारतका अन्य केही व्यवहार पनि नेपाल भारतको प्रभाव क्षेत्रको मुलुक हो भन्ने मान्यताबाट निर्देशित देखिन्छन् । उदाहरणको लागि चीन र अन्य देशको नेपालमा सशक्त उपस्थिति भारतले रुचाउँदैन । शान्तिप्रक्रियाको समयमा सोही प्रक्रियामा सहयोग गर्न आएको संयुक्त राष्ट्रसंघीय निकाय अनमिन पनि नेपालमा धेरै नरहोस् भन्ने भारतले चाह्यो । नेहरूको समयदेखि नै भारतले नेपालका अन्तर्राष्ट्रिय आकांक्षा र सम्बन्ध नियन्त्रित गर्न चाहेको थियो ।
नेपालमा माओवादी सशस्त्र संघर्ष चल्दा भारतको संस्थापनको रुचि व्यक्त गर्ने केही समूहबाट नेपाली सेनालाई देशकै आन्तरिक सुरक्षामा खट्नुपर्ने भन्दै शान्तिसेनामा नपठाउन 'सुझाव' आएको थियो । यसबाहेक नेपालको बाढीपहिरो, भूकम्पलगायत विपत्तिको समयमा सबैभन्दा पहिले सहयोग गर्न अग्रसर हुनु र सबैभन्दा ठूलो भूमिका खेल्न खोज्नु पनि भारतको प्रभाव क्षेत्रको मान्यतामा आधारित निर्णय र व्यवहार हो ।
भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा पर्ने बुझाइ र व्याख्या अनि त्यसमा आधारित नेपाल नीति तत्कालै परिवर्तन गर्ने सम्भावना देखिएको छैन । यस्तो प्रभाव क्षेत्रको अवधारणाका कारण भारतले नेपालमा देखाउने 'ठुल्दाइ' प्रकारको व्यवहारबाट कसरी नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र सार्वभौमसत्ता संरक्षण गर्न सकिन्छ भनी ज्ञानमा आधारित नीति र सूक्ष्म रणनीति बन्नु नेपालको लागि आवश्यक छ ।
विदेशमा राजनीतिक अस्थिरता या प्राकृतिक प्रकोपका बेला भारतले भारतीय नागरिकहरूसँगै अरू दक्षिण एसियाली मुलुक र नेपालका नागरिकको पनि उद्धार गर्ने गरेको छ । यस्तो क्रियाकलाप पनि भारतको प्रभाव क्षेत्रको मान्यताबाट निर्देशित छ ।
यही प्रभाव क्षेत्रको अवधारणामा उभिएर भारत नेपालको आन्तरिक मामलामा कसरी अल्झिएको छ भने कुन हदसम्म नेपालको राजनीतिलाई 'व्यवस्थापन' गर्ने भन्ने सीमा कोर्न उसले नसकेको देखिन्छ । त्यहीमाथि भारतीय राजनीतिज्ञ, परराष्ट्र मन्त्रालयका पदाधिकारी, नेपालका लागि भारतीय राजदूत, खुफिया एजेन्सी, सञ्चारकर्मी र प्राज्ञिक वर्गको लागि पनि नेपाल काम देखाउने थलो बनेको देखिन्छ ।
कतिपय अवस्थामा भारत सरकारका फरक–फरक निकायको नेपालको गतिविधिमा उनीहरूमा सामञ्जस्य नभएको जस्तो देखिन्छ र तिनीहरू आफ्नै ढंगले 'उपलब्धि' देखाउन लागिपरेको देखिन्छ । नेपालले के गर्नुपर्छ ? 

भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा पर्ने बुझाइ र व्याख्या अनि त्यसमा आधारित नेपाल नीति तत्कालै परिवर्तन गर्ने सम्भावना देखिएको छैन । यस्तो प्रभाव क्षेत्रका अवधारणाका कारण भारतले नेपालमा देखाउने 'ठुल्दाइ' प्रकारको व्यवहारबाट कसरी नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र सार्वभौमसत्ता संरक्षण गर्न सकिन्छ भनी ज्ञानमा आधारित नीति र सूक्ष्म रणनीति बन्नु नेपालको लागि आवश्यक छ र यसो गर्नु सम्भव पनि छ ।
भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण र प्रभावशाली छिमेकी भएकाले नेपालले भारतको विदेश नीति र नेपाल नीति अध्ययनको लागि एउटा भारत अध्ययन केन्द्र या यस्तै केही नामको थिंक ट्यांक पनि खोल्न सक्छ । यस्ता थिंक ट्यांकहरूले भारतीय रुचि र चासो सकेसम्म सम्बोधन हुने गरी तर नेपालको राष्ट्रिय हितमाथि पर्ने गरेर कसरी भारतसँग व्यवहार गर्न सकिन्छ भनी सूक्ष्म र गहन अध्ययन गरी तदनुरूप नीतिनिर्माण गर्न सहयोग पुग्ने ज्ञान उत्पादन गर्नु आवश्यक छ ।
नेपालजस्तो ठूला, शक्तिशाली मुलुकका बीचमा अवस्थित र आर्थिक रूपमा कमजोर मुलुकको लागि ज्ञान नै सबैभन्दा ठूलो र उपयोगी हतियार हुन सक्छ । ज्ञानमा आधारित, व्यावहारिक, चतुर र राष्ट्रिय हित संरक्षण गर्ने नीति बनाउन नसक्ने तर भारतले वा अन्य मुलुकले नेपालमाथि हस्तक्षेप गरे भनेर छाती पिट्ने र अरण्यरोदन गर्ने 'विदेश नीति' ले राष्ट्रि«य हित पहिचान गर्न र संरक्षण गर्न सक्तैन । समाप्त ।
-तिवारी नेपाली जर्नल अफ कन्टेम्पोरेरी स्टडिजमा आबद्ध छन् ।
बिहीबार र शुक्रबार १६ र १७ भदौ २०७३ ( १ र २ सेप्टेम्बर २०१६) मा अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा प्रकाशित । एउटै लेखलाई २ भाग गरेर प्रकाशित हुँदा दोस्रो लेखको शिर्षक सार्वभौमसत्ता जोगाउन सकिन्छ राखिएको थियो । 
प्रकाशित लेखका लिंक 
पहिलो लिंक ःhttp://annapurnapost.com/news/54722
दोस्रो लिंक ःhttp://annapurnapost.com/news/54790


एमालेको राष्ट्रवाद : प्रयोजन, अर्थ र अनर्थ

एमालेको राष्ट्रवाद : प्रयोजन, अर्थ र अनर्थ


– शिवप्रसाद तिवारी

Shiva Pd Tiwari

नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली नेतृत्वको ‘भारतसँग टक्कर लिन सक्ने राष्ट्रवादी’ सरकारको पक्षमा सामाजिक सञ्जालमा र सडकमा पनि ‘राष्ट्रवादी’हरू उर्लिएका देखिए । पञ्चायतकालीन, कुलीनहरूको स्वार्थ पूर्ति गर्ने र साँघुरो राष्ट्रवादलाई भजाएर ओलीको समर्थन नगर्ने जति सबैलाई दक्षिण र विदेशबाट सञ्चालितको आरोप लगाएर पञ्चायतकालीन ‘अराष्ट्रिय तत्त्व’ जसरी व्याख्या गर्न खोजिएको अनुभूति गरियो । यस क्रममा ओलीलाई ‘राजा महेन्द्र’पछिको राष्ट्रवादी नेता भन्दै खाँट्टी राष्ट्रवादी प्रमाणित गर्न खोजिएको छ । ओली र एमालेभित्रको ओली समूहले आफूलाई राष्ट्रवादी र अरूलाई बाहिरबाट सञ्चालित देखाउन भने केही पहिलेदेखि नै थालेको हो । वास्तवमा केपी ओलीको राष्ट्रवादी छवि निर्माणको एउटा शृङ्खला नै छ जुन संविधान जारी गर्नुअगाडि सुरु गरिएको थियो र त्यो अहिले पनि जारी छ । यस्तो पञ्चायतकालीन मानकहरूमा उभिएर उरालिएको राष्ट्रवादले ओली र उनको दललाई नेपालको पहाडी क्षेत्रमा अल्पकालीन रूपमा केही लोकप्रिय त बनाउला, तर यसले मुलुकलाई थप ध्रुवीकृत गर्ने देखिन्छ । हरेक कुरामा र आफू र आफ्नो दलबाहेक अरूलाई विदेश (खासगरी भारत)बाट निर्देशित भनेर देखाउन खोज्दा जनमानसमा यो मुलुक साँच्चै नै अन्तैबाट सञ्चालित रहेछ भन्ने मनोविज्ञान स्थापित गरिदिन सक्छ । यसै सन्दर्भमा यस लेखमा नेपालको सन्दर्भमा राष्ट्रवाद, अहिले उछालिएको राष्ट्रवादको प्रयोजन र यसका सम्भावित परिणामहरूबारे सङ्क्षेपमा छलफल गरिनेछ ।

ओलीको व्यक्तित्वका सकारात्मक पक्ष 

केपी ओलीले नेपालमा पञ्चायतविरुद्धको सङ्घर्षमा ठूलो योगदान गरेका छन् । १४–१५ वर्ष जेल बसेका छन्, जेल बस्ने क्रममै भोगेको यातना र अप्ठयारोको कारण उनमा स्वास्थ्य समस्या छन् । जेल बस्दाखेरि नै यिनी बिरामी परेर बाँच्छन् कि बाँच्दैनन् भन्ने साथीहरू ठान्थे रे । देशको सुन्दर भविष्य बनाउन राजनीतिक व्यवस्थाका विरुद्ध लड्दाको शारीरिक समस्याले उनी अहिले पनि ग्रसित छन् । उनको त्यो बेलाको योगदानलाई अपमान गर्ने र कम पढेको भनेर गरिने आलोचनालाई समर्थन गर्न सकिँदैन । कम पढेकै भए पनि नेता असल नियतको छ भने धेरै पढेको, तर नियत ठीक नभएको नेताभन्दा राम्रो हुनसक्छ ।
कुनै बेलाका तीक्ष्ण बालक र विद्यार्थी खड्ग ओलीले निम्नमध्यमवर्गीय आर्थिक अवस्था र राजनीतिक सङ्घर्षका कारण पढ्न पाएनन्, तर तिनको तीक्ष्णता उनका उखानटुक्का मिलाएर परिस्थितिअनुसार बोल्न सक्ने उनको क्षमतामा अहिले पनि झल्किन्छ । जे कुरामा पनि हल्का आलोचना गर्ने नेपाली समाजले सायद उनको यो गुणको कदर गर्न सकेन । नेपाली समाजका हरेक तहका मानिसले सजिलै बुझ्ने भाषा र सरल शैलीमा बोल्ने उनको कदरयोग्य गुण छ । वास्तविक लोकतन्त्रमा नेताले समाजका हरेक तह र तप्काका व्यक्तिले बुझ्न सक्ने भाषा र शैलीमा बोल्न सक्नुलाई लरोतरो गुण मानिनुहुँदैन । ओलीले कतिपय अवस्थामा धरातलीय यथार्थमा आधारित नभए पनि नेपाली जनतालाई आशा जगाउने किसिमले सरल र स्पष्ट भाषामा बोलेको नेपाली समाजको एउटा तप्काले बेसरी रुचायो । यसले के देखाउँछ भने नेपाली सर्वसाधारण जनता आफूलाई उज्ज्वल भविष्यको आशा देखाउन सक्ने र त्यसलाई उनीहरूले नै बुझ्न सक्ने भाषामा बुझाउन सक्ने एउटा नेताको खोजीमा रहेछ । नेपालको पहाडमा ओलीको ख्यातिलाई त्यसरी बुझ्नुपर्छ । लोकतन्त्रलाई ओली जसरी बोल्न सक्ने, तर असल नियतका नेताहरू चाहिन्छन् ।
ओली एमालेको अध्यक्ष र संसदीय दलको नेता हुँदा र आफूले चाहेको कुरा सटिक भाषामा भन्न सक्ने हुँदा ओलीलाई कुनै बेला मैले चामत्कारिक नेतृत्वको केही गुण भएका नेता ठानेको थिएँ । पार्टीभित्रका उनका सदाबहार विपक्षी वामदेव गौतमसँग समझदारी गरेर पार्टी अध्यक्ष र संसदीय दलको नेता भएपछि र उनलाई अत्यन्त नरुचाउने र मानसिक रोगको उपचार गर्न सिफारिस गर्ने माओवादीसँग मिलेर सरकार बनाउन सफल भएपछि उनीलाई सम्झौता गर्न सक्ने र व्यावहारिक नेता पनि ठानेको थिएँ । आन्दोलन गरिरहेका मधेसवादी दललाई पनि उनले वार्तामा बोलाएर समस्या समाधान गर्न सक्लान् भन्ने आशा पनि लागेको थियो । यसो गर्नु सरल कुरा थिएन, तर ओली त्यसका लागि सक्षम छन् भन्ने मलाई लागेको थियो ।

ओलीको ‘राष्ट्रवादी’ रूपान्तरण 

संविधान जारी हुनुअघि मधेसवादी दलहरूले झापादेखि कञ्चनपुरसम्मको सम्पूर्ण तराईको भूभागमा एक मधेस प्रदेश नभए दुईवटा मात्र प्रदेश हुनुपर्ने माग गरेपछि उनको ‘सम्म भूभागजति सबै मधेशमा मिलाउने हो भने मेरो आँगन पनि सम्मै छ, त्यसलाई पनि मधेसमै मिलाउने कि ?’ ‘बिहार र उत्तर प्रदेश पनि मधेसमै मिलाउने कि ?’ भन्ने आशयका भनाइहरू नेपालको पहाडी क्षेत्रका अर्धशिक्षितले खुवै रुचाएका थिए र उनका ती भनाइ सामाजिक सञ्जालमा खुवै चर्चित भएका थिए । त्यसैबेलादेखि ओली नेपालको पहाडी क्षेत्रमा कडा ‘राष्ट्रवादी’ भइसकेका थिए र सामाजिक सञ्जालहरूमा उनी चर्चाको शिखरमा पुगिसकेका थिए । विपक्षीहरूलाई भित्तैमा पुर्‍याउने गरेर बोल्ने ओलीको शैलीमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा पुग्दा पनि खासै परिवर्तन आएन ।

संविधान जारी गर्ने क्रममा आफ्नो बेवास्ता र अपमान गरिएको भारतीय आरोप, संविधान मधेसविरोधी भएको मधेसवादी दलहरूको आरोप, त्यसपछिको मधेस आन्दोलन र नाकाबन्दीको दौरानमा ओलीले मधेसवादी दल र मधेसीको आन्दोलनको आगो निभाउने प्रयत्न गर्नेभन्दा पनि आन्दोलनको आगोमा घ्यू थप्ने काम गरे । उनले कहिले मधेस आन्दोलनका क्रममा मारिएकालाई आँपको बोटबाट एक– दुईवटा आँप झर्दा केही नहुने भन्दै र कहिले मानवसाङ्लो बनाउनेजस्तो शान्तिपूर्ण विधिलाई माखेसाङ्लो भन्दै अपमान गरे । यसले गर्दा मधेसीलाई ‘नेपाली’ नठान्ने, मधेस आन्दोलनलाई सम्पूर्ण रूपमा भारतबाट सञ्चालित ठान्ने पञ्चायतकालीन राष्ट्रवादको धङधङी बोकेका पहाडे नेपालीमाझ ओली लोकप्रिय ‘राष्ट्रवादी’ नेता भए, तर मधेसमा भने ओली अलोकप्रिय र खलनायकको रूपमा चित्रित भए । यसरी देशको सम्पूर्ण कार्यकारी अधिकारसहितको प्रधानमन्त्री दुर्भाग्यपूर्ण रूपमा पहाडीया र मधेसीबीच ध्रुवीकरण बढाउने पात्र बन्न पुगे । मधेसमा जसरी ओलीलाई मधेस र मधेसविरोधीको रूपमा चित्रित गरियो, ओली वास्तवमा त्यस्ता पात्र होइनन् होला, तर प्रधानमन्त्री हँुदा, मधेसको असन्तुष्टिलाई सम्बोधन गर्ने गम्भीर प्रयासहरू ओलीबाट नभएकै हो । बरु मधेसवादी दलहरूलाई थकाउने र उनीहरूबीचको अन्तरविरोधमा खेल्ने प्रयास ओलीले गरे । मधेसवादी दलहरू पनि मधेसका जनजीविकाका सवालहरूमा भन्दा भूराजनीतिक खेलका हिस्सा भए । मधेसवादी दलहरूसँग वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न पनि गाह्रो थियो होला, तर प्रधानमन्त्रीबाट त्यसका लागि बारम्बार र इमानदार प्रयास नहुनु दु:खद् कुरा हो ।

तराईमा कम्युनिस्टहरूलाई खुट्टा हाल्नै नदिने भूराजनीतिक खेलमा मधेसवादी दलहरूको संलग्नता र नेपालको संविधानलाई असफल बनाउने मधेसवादी दलहरू र भारतको चाहको कारण र ओली सरकारले अँगालेको मधेस र मधेसीविरोधी सोचका कारणले पनि ओलीले मधेसवादी दलहरूलाई वार्तामा ल्याउन र समस्या समाधान गर्न सकेनन् । उल्टै मधेसवादी दलहरू र कहिलेकाहीँ मधेसीहरूकै विरुद्धमा प्रधानमन्त्री ओलीले अन्टसन्ट बोल्न थाले । माथि नै उल्लेख गरिएको छ कि यस्तो उनले प्रधानमन्त्री हुनुअघि नै बोल्न थालेका थिए र उनी यसका कारण पहाडमा बढी रुचाइन थालेका पनि थिए । सायद यही प्रतिक्रियाबाट उत्साहित भएर होला ओली र उनको दल एमालेको बहुमत पक्षले मधेसवादी दल, काङ्ग्रेस र अरूलाई भारतबाट निर्देशित देखाउने र राष्ट्रवादको नारा उराल्ने काम समानान्तर रूपमा गरिरहे ।
एमालेभित्रको ओली समूह संविधान जारी भइसकेपछि पनि सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार हुँदा उनलाई पनि भारतको उक्साहटमा उठेका उम्मेदवार भनेर प्रचार गर्न तल्लीन रह्यो र त्यसमा केही सफल पनि भयो । त्यसपछि पनि ओली स्वयम् र उनका मन्त्रिमण्डलका सदस्यहरू बारम्बार भारतले वर्तमान सरकार गिराउन कोसिस गरिरहेको अभिव्यक्ति दिइरहे र भारतको उक्त खेलमा मधेसवादी दलहरू र काङ्ग्रेस सामेल भएको प्रचार गरिरहे । एमाले र राजावादी, सङ्घीयता र गणतन्त्रविरोधीहरूले पञ्चायतकालमा झैँ काङ्ग्रेसलाई ‘अराष्ट्रिय तत्त्व’ प्रमाणित गर्न योजनाबद्ध तरिकाले लागेको देखिन्छ । भारतले काङ्ग्रेस र अरू दलहरूमार्फत एमाले नेतृत्वको सरकार ढाल्न लागेको आरोप लगाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भारत भ्रमण अन्तिम समयमा स्थगित गरेर र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपालको सरकार ढाल्न भारतलाई सघाएको सार्वजनिक आरोप लगाएर फिर्ता बोलाउँदा काङ्ग्रेस र अरू दलहरूलाई भारतपरस्त भन्ने प्रचार गर्न सकियो होला र आफूलाई राष्ट्रवादी देखाउन पनि सहयोग पुग्यो होला, तर यस्तो कथनले भारतको नेपाली आन्तरिक राजनीतिमा ठूलो हात छ भन्ने सर्वसाधारणमा विद्यमान मनोविज्ञानलाई थप बलियो बनाइदिएको छ ।
नेपालको पहाडमा बनेको राष्ट्रवादी छविका कारण पहाडतिर चर्चित भएपछि र भारतलाई केही गरे पनि खुसी बनाउन सकिँदैन भन्ने भएपछि देशमा सम्प्रदायहरूबीच ध्रुवीकरण हुने भए पनि ओली यो राष्ट्रवादी छविलाई मलजल गर्न नियतवश लागिरहे । उनको दल एमाले पनि यसबीचमा राम्रोसँग व्याख्या नगरिएको राष्ट्रवादको वकालत गर्ने नम्बर एक शक्ति बनेर छवि परिवर्तन गर्न उद्यत् रह्यो । नेपालको सन्दर्भमा राष्ट्रवाद के हो र वास्तविक राष्ट्रवादी कसरी भइन्छ ? परिवर्तित आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भमा नेपालको राष्ट्रियता, राष्ट्रिय हित, राष्ट्रिय पहिचान र राष्ट्रवाद के हो भनी गम्भीर अध्ययन, अनुसन्धान, सहमति र सर्वसाधारणसम्मले पनि बुझ्ने गरेर प्रचारप्रसार भएको छैन । यस्ता गहन विषयमा राजनीतिज्ञ र सर्वसाधारण जनता मात्र होइन कि प्राज्ञिक वर्गमा पनि मतैक्यता छैन । राष्ट्रियतालाई कसरी सकेसम्म बढी समावेशी बनाउने, बुझ्ने, अथ्र्याउने भन्ने कुरामा प्राज्ञिक वर्ग र विज्ञहरू गहन अध्ययन–अनुसन्धानको अभावमा कथित विचारधाराका आधारमा विभाजित भइरहेका बेला, राष्ट्रवादी भनेर हल्ला गरिदिएपछि साँच्चैको राष्ट्रवादी बन्ने अवस्था छ । कवि भूपि शेरचनले यो हल्लैहल्लाको देश हो भनेर त्यसै भनेका होइन रहेछन् । ज्ञानमा आधारित समाज, राजनीति र नीति नभएको अवस्थामा जसले बढी हल्ला गर्‍यो त्यही हल्ला स्थापित हुने खतरा हुँदोरहेछ । राजनीतिशास्त्रमा ‘सर्वसाधारण जनताको स्मृति छोटो हुन्छ’ भन्ने एउटा भनाइ छ । अत्यन्त धेरै राजनीतीकरण भएको र अर्धशिक्षित नेपाली समाजमा झन् त्यो भनाइ बढी लागू हुने रहेछ । महाकाली सन्धिको सबैभन्दा बढी वकालत गर्नेमध्येका एक र एमालेका नेताहरूमध्ये भारतसँग सबैभन्दा नजिकको सम्बन्ध भएको भनिएका नेता ओली हेर्दाहेर्दै खुँखार ‘राष्ट्रवादी’ कहलाइन पुगेका छन् । तर, आफूलाई र आफ्नो दल एमालेलाई राष्ट्रवादी प्रमाणित गर्ने क्रममा अहिले एमालेको ओली खेमाबाहेक अरू सबैलाई विदेशबाट र खासगरी भारतबाट सञ्चालित भनेर आरोप लगाउने अत्यन्त खतरनाक खेल सुरु भएको छ र त्यो पनि प्रधानमन्त्रीकै तहबाट केही निहित उद्देश्यहरूको साथ । यस्तो गैरजिम्मेवार प्रवृत्तिले देशलाई गम्भीर क्षति पुर्‍याउन पनि सक्नेछ ।
उदाहरणका लागि माओवादी केन्द्र र काङ्ग्रेसले सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावलाई भारत निर्देशित भनेर प्रधानमन्त्रीले इङ्गित गरेका छन् । आफ्नो नेतृत्वको सरकार अल्पमतमा पर्दा भारतीय राजदूतावासले काठमाडौंको कुनै होटेलमा भोज खाएको भनेर ओलीले आफ्नाविरुद्ध भारतको निर्देशनमा, काङ्ग्रेस, माओवादी, मधेसवादी र एमालेकै पनि माधव नेपाल समूह लागेको बताउन थालेका छन् । यसरी आफूबाहेक सबैलाई ‘अराष्ट्रिय तत्त्व’ प्रमाणित गर्न उनी र उनीनिकट समूह लागिपरेका छन् । यसो गर्दा प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा यति खस्काएका छन् कि भारतीय राजदूतावासले वक्तव्य नै जारी गरेर भोज नखुवाएको जनाएको छ । यसरी हाम्रा सर्वशक्तिमान कार्यकारी प्रधानमन्त्री र एउटा छिमेकी राष्ट्रको राजदूतावासबीचमा नमीठो दोहोरी चलेको छ । यो सुखद कुरा पक्कै होइन ।
कुनै समय भारतका लागि एमालेभित्रका अत्यन्त भरपर्दा व्यक्ति भएकाले भारतको नेपालमा रहेको भूमिकाबारे ओली अनभिज्ञ छैनन् । नेपालको आन्तरिक राजनीतिक घटनाक्रम प्रभावित पार्न भारतले वि.सं. २००७ देखि नै खेल्दै आएको भूमिका, त्यसप्रति निरन्तरताको भारतीय चाहना र भारतको अस्पष्ट नेपाल नीतिका कारणले भारतले तुरुन्तै नेपालका आन्तरिक घटनाक्रममा रुचि लिन छाड्ने छैन भन्ने कुरा पनि ओलीलाई राम्रोसँग थाहा छ होला । नेपालको सन्दर्भमा उपनिवेशकालीन नीति अवलम्बन गर्दै आइरहेको भारत सजिलै थाक्नेछैन भन्ने पनि ओलीलाई थाहा छ र नेपालमा भारतको प्रभाव यति चाँडै र यति सजिलै हट्दैन भन्ने पनि ओलीलाई थाहा नभएको पक्कै होइन होला । अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिशाली राष्ट्रहरूले शक्ति सम्प्रेषण अनेक तरिकाले गर्छन् । संविधान जारी भएपछि भारतले सुशील कोइराला र केपी ओली नेतृत्वको सरकार हुँदा नाकाबन्दी लगाएर नेपालमा आफ्नो प्रभावलाई अवमूल्यन नगर्न सम्झाएको हो । नेपालको राष्ट्रिय हितको मूल्यमा भारतले भनेको सबै कुरा मान्नुपर्दैन, तर नेपालको आन्तरिक राजनीतिमा खेल्न धेरै कार्ड भएको भारतसँग ज्ञान, बुद्धि र विवेकले व्यवहार गर्नुपर्छ । नेपालको आन्तरिक राजनीतिमा भारतको प्रभाव बढ्नुमा मधेसवादी दल मात्रै होइन, काङ्ग्रेस, माओवादी र ओलीको दल एमाले र त्यसको प्रभावशाली नेताको नाताले स्वयम् ओली पनि जिम्मेवार छन् ।

सस्तो लोकप्रियता
एउटा राजनेताले सधँै सस्तो लोकप्रियता मात्र खोज्नुहुँदैन । लोकप्रियताका लागि ध्रुवीकरण बढाउँदै जाँदा कतै त्यसले देशलाई दीर्घकालीन नकारात्मक असर त पार्ने होइन, सचेत हुनुपर्छ । एमालेभित्रको ओली समूहले राष्ट्रवादको नारा उरालेर आफ्ना गल्ती–कमजोरीहरू छोप्ने र पार्टीभित्र र बाहिरका आफ्ना विपक्षीलाई सिध्याउने निरङ्कुश र सर्वसत्तावादी चरित्र देखाएका हुन् भने त्यो झन् हानिकारक हुनेछ । ओलीको शासनकालमा नाकाबन्दीका बेला कालोबजारी नराम्रोसँग मौलायो, भूकम्पपीडितले हिउँदको चिसो र वर्षाको झरी त्रिपाल र अस्थायी टहरामा बसेर बिताए । कालोबजारी नियन्त्रण गर्न सरकार असफल रह्यो र पूर्ववर्ती सरकारजस्तै भूकम्पपीडितलाई पनि उल्लेख्य सहयोग पुग्न सकेन । यस्ता गल्ती–कमजोरी छोप्न राष्ट्रवादका नारा प्रयोग गरिए । प्रधानमन्त्रीले महिनामा १५ लाखजति (सरदर दिनको ५० हजार) भोजहरूमा खर्च गर्ने गरेको समाचार आए । यी सबै कुरालाई राष्ट्रवादले छोप्न खोजियो ।
प्रधानमन्त्री ओलीको सरकार गैरसरकारी संस्थाहरूझैँ र व्यक्तिहरूझैँ सस्तो लोकप्रियता कमाउन लागेको पनि देखियो । २०७२ वैशाख १२ को महाभूकम्पले व्यापक धनजनको क्षति भयो, कैयौँ सांस्कृतिक र ऐतिहासिक धरोहरहरू पनि लडे । तर, त्यस भूकम्पमा लडेको धरहरा सबैको मनमा बसेको र भूकम्पले लडाएको सबैभन्दा प्रख्यात चिज थियो । अरू धेरै सम्पदा पनि भूकम्पले लडाएका थिए । तर, प्रम ओलीले आफ्नै अग्रसरतामा ‘मै बनाउँछु मेरो धरहरा’ भन्ने अभियान नै चलाए । अरू सम्पदाहरू बनाउन जर्मनीलगायत अरू देशहरूलाई पनि दिइयो । धरहरा बनाउने अभियानलाई सस्तो लोकप्रियता कमाउने माध्यम बनाइयो । धरहरा बनाउन मात्रै किन सार्वजनिक रूपमा अर्थ सङ्कलन अभियान चलाइयो ? त्यस्तै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पनि लागू नै गर्न नसकिने कार्यक्रम प्रस्तुत भएका विज्ञहरूले जनाएका छन् । विज्ञहरूले कार्यान्वयन गर्न गाह्रो महत्त्वाकाङ्क्षी र देशलाई आर्थिक दुर्घटनामा पार्न सक्ने बजेट भनिरहँदा प्रधानमन्त्रीले विज्ञहरूले नरुचाए पनि गाउँका जनताले रुचाएका छन् भन्ने हल्का प्रतिक्रिया दिए ।
यसबीचमा ओलीले धरातलीय यथार्थमा आधारित नभएका कतिपय कुराहरू गरेर जनतामाझ भ्रम सञ्चार गरेका छन् । घरघरमा पाइपबाट ग्यास पुर्‍याउने, दुई वर्षभित्र नेपाललाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउने, एक वर्षभित्र नेपाललाई लोडसेडिङमुक्त बनाउने, हावाबाट केही हजार मेगावाट बिजुली निकाल्ने, नेपाललाई रेलमय बनाउने, नेपालको आफ्नै पानीजहाज किन्नेलगायतका कुरा नेपालको हकमा धरातलीय यथार्थमा आधारित थिएनन् । तर पनि आशा सञ्चार गर्न सक्ने नेतृत्वको अभाव महसुस गरिरहेका कतिपय सर्वसाधारणले र कतिपय अवस्थामा ‘विद्वान्हरूले पनि उनलाई विश्वास गरे । सायद यसैकारण हौसिएर होला ओलीले नेपाली जनतालाई कैयौँ असम्भव सपना देखाए । सपना देख्नुपर्छ, कल्पना गर्नुपर्छ, तर स्वैरकल्पनामा रमाउनुहुँदैन ।

प्रधानमन्त्री ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको, तिब्बतको सिगात्सेसम्म आएको चिनियाँ रेललाई केरुङ, रसुवागढी हुँदै काठमाडौं, पोखरा र लुम्बिनी अनि भारतीय सीमासम्म पुर्‍याउन सम्भाव्यता अध्ययन गरेको, चिनियाँले नेपाल आएर तेल र विभिन्न किसिमका खानीको अध्ययन गरेको कुरालाई पनि भयङ्कर राष्ट्रवादी, भारतसँग नझुकेको भनेर चर्चा गरियो । चीनसँग गरिएका यी सम्झौता दीर्घकालीन महत्त्वका होलान्, तर अहिले नै भारतसँगको नेपालको निर्भरता र अन्तरनिर्भरता कम गर्न यी सम्झौताले सक्दैनन् र अहिल्यै नै भारतको विकल्पमा चीनलाई प्रयोग गर्न सकिने अवस्था छैन । यो कुरा भारत र चीनलाई मात्रै होइन कि ओलीलाई पनि राम्रैसँग थाहा छ ।
माओवादीको समर्थन र सहभागितामा सरकार सञ्चालन हुँदा पनि माओवादीलाई बेवास्ता गर्ने मात्र होइन कि उनीहरूलाई सिध्याउने र बद्नाम गर्न ओली लागिपरेको माओवादी नेताहरूले बताएका छन् । यसरी सशस्त्र युद्धताका माओवादीले प्रयोग गर्ने ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ भन्ने शब्दावली माओवादीविरुद्ध नै ओलीले प्रयोग गरे । अहिले आएर माओवादीले प्रचण्डलाई भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण नगरेर उल्टै उक्त पार्टीको खेदो खन्न लागिपरेका मात्र छैनन् कि काङ्ग्रेसका नेताहरूलाई प्रधानमन्त्री पदको लोभ देखाएर काङ्ग्रेस–माओवादी समीकरणमा फाटो ल्याउने असफल प्रयास गरेका छन् । जाँदाजाँदै र उनको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएपछि पनि ओली नेतृत्वको सरकारले महत्त्वपूर्ण नियुक्तिहरू गर्ने, बालक आदित्य दाहालको नामको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सरकारी कोषबाट दान दिने निर्णय गरेको छ र संवैधानिक जटिलता देखाउँदै सत्ता नसुम्पने र सडकमा राष्ट्रवादको नाममा मानिस उतार्ने प्रपञ्चमा एमालेको ओली समूह लागेको छ ।
राष्ट्रवादी छविको प्रयोजन 

अहिले आएर एमालेभित्रको ओली समूह यसरी बनेको राष्ट्रवादी छवि आफ्ना सबै कमी–कमजोरी छोप्ने साधनको रूपमा पनि प्रयोग गर्न उद्यत् भएको छ । यसरी आफूबाहेक अरू सबैलाई भारतबाट सञ्चालित देखाउन खोज्दा नेपालमा पञ्चायतकालको उग्रराष्ट्रवाद फेरि बौरिन थालेकोजस्तो देखिएको छ । ओली र उनका समूहका यस्ता अभिव्यक्तिले अप्रत्यक्ष रूपमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै प्रश्नचिह्न खडा गरेका छन् र ओलीले आफूलाई पनि निरीह प्रधानमन्त्रीको रूपमा देखाएका छन् । नेपालमा सरकार परिवर्तन गर्नेदेखि हरेक गतिविधि भारतको इसारामा भयो भन्दा सर्वसाधारणमा भारतीय शक्तिको ठूलो मनोवैज्ञानिक छाया पर्छ । अरूलाई यस्तो आरोप लगाउँदा ओली केही समय ‘राष्ट्रवादी’ रूपमा चर्चित त होलान्, तर यसले पहाड र मधेसबीचको दूरीलाई थप बढाइदिनेछ र नेपालका हरेक राजनीतिक घटनाक्रममा भारतको भूमिका छ भन्ने मनोविज्ञान निर्माण गरिदिनेछ ।

यति हुँदाहुँदै किन चर्काइयो त एमाले राष्ट्रवादी भएको नारा ? सायद अब आउने निर्वाचनमा पहाडमा यो नारा बिक्छ भन्ने जानेर यो नारा चर्काइएको हुनसक्छ । मधेसमा पकड गुम्दै गएको अवस्थामा पहाडमा आफ्नो अवस्था मजबुत पार्न यो नारा चर्काइएको हुनसक्छ । जनताबीच ध्रुवीकरण गराउने राष्ट्रवादले देशलाई भने सधैँ राम्रो गर्दैन । बेलायतमा इङ्ग्लिसहरूको उग्रराष्ट्रवादको कारणले स्कटल्यान्ड बेलायतबाट झन्डै टुक्रिएको थियो । बेलायतको युरोपियन युनियनबाट छुट्टिने निर्णयमा इङ्ग्लिस राष्ट्रवादीले चाहेकोझैँ भएपछि स्कटल्यान्डमा फेरि स्वतन्त्रताको माग उठेको छ । नेपालले यसबाट पाठ सिक्नुपर्छ ।
सम्भावित दुस्परिणाम 

मधेसमा अहिले पनि असन्तुष्टिको आगो भित्रभित्र सल्किइरहेको छ । मधेस समस्यामा विशुद्ध मधेसीको सशक्तीकरणको माग मात्रै छैन, भूराजनीतिक खेल छ र त्यसमा भारत, युरोप र अन्य शक्तिराष्ट्रहरू पनि छन्– फरक–फरक उद्देश्यका साथ । मधेसी राष्ट्रियताको परिभाषा खोजिन थालेका र मधेसको छुट्टै इतिहास निर्माण गर्ने प्रयासमा सीके राउत र अन्य विखण्डनकारी समुह लागिपरेका छन् । यस्तो बेलामा पहाड र मधेसको बीचमा ध्रुवीकरण बढाएर भोटब्याङ्क राजनीति गर्न सकिन्छ, तर यसको परिणाम भयावह हुनसक्छ । मधेसी र भारतविरोधी राष्ट्रवाद नेपालमा धेरै बिक्नेवाला पनि छैन । राष्ट्र कमजोर हुँदै जाने हो भने अहिले मधेसमा उठेकाजस्ता माग भोलि पहाड र हिमालमा पनि नउठ्लान् भन्न सकिन्न । नेपालमा कुनै सम्प्रदाय वा राष्ट्रविरुद्ध निर्देशित गर्नेभन्दा पनि सबैलाई साँचो अर्थमा सम्मानपूर्वक जीवनयापन गर्न सहज हुने र समृद्धि दिन सक्ने राष्ट्रवादको खाँचो छ । नेपालका एकीकरणकर्ता बडामहाराज पृथ्वीनारायण शाहले भनेझैँ नेपाललाई साँचो अर्थमा चार जात छत्तीस वर्णको साझा फूलबारी बनाउनुपर्छ, यसका लागि हाम्रो राष्ट्रियताको परिभाषा, व्याख्या र बुझाइ फराकिलो, सबैलाई समेट्न सक्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र मान्यताअनुरूप र समय–सान्दर्भिक हुनुपर्छ ।

तर, राष्ट्रवादका नाममा जनता उराल्ने, तर त्यसको परिणाम जेसुकै होस् मतलब नगर्ने गैरजिम्मेवार निर्णयमा प्रधानमन्त्री पुगेका त होइनन् ? यदि त्यसो हो भने ओली राष्ट्रवादी रूपान्तरणपछि लोकप्रिय त होलान्, तर त्यसको मूल्य मुलुकले चुकाउनुपर्ने हुन सक्छ ।
shiva.irs5@gmail.com
-बुधबार १२ साउन २०७३ (२७ जुलाई २०१६) को घटना र विचार राष्ट्रिय साप्ताहिकमा प्रकाशित र त्यही दिन बेवसाइटमा प्रकाशित । 

कांग्रेसका चुनौती र नेतृत्वको सवाल

कांग्रेसका चुनौती र नेतृत्वको सवाल



-शिवप्रसाद तिवारी

Shiva Tiwari

नेपाली कांग्रेस राणा शासनकालदेखि नै अनवरत रुपमा बहुदलीय लोकतन्त्रका पक्षमा लड्दै आइरहेको पार्टी हो । राष्ट्रियता, बहुदलीय प्रतिष्पर्धामा आधारित लोकतान्त्रिक व्यवस्था, लोकतान्त्रिक समाजवादी अर्थराजनीति, व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आधारभूत मानवाधिकारको सम्मान नेपाली कांग्रेसका आधारभूत र अपरिवर्तनीय मुल्यमान्यताहरु हुन् । यी उद्देष्यहरु प्राप्तिका निम्ति नेपाली कांग्रेसले पहिले निरंकुश जहानीयाँ राणा शासन र त्यसपछि वि.स. २०१७ पछि २०४६ सम्म अधिनायकवादी राजतन्त्र विरुद्व समय र परिस्थिति अनुसार धेरैजसो शान्तिपूर्ण र विशेष परिस्थितिहरुमा सशस्त्र संघर्ष पनि ग¥यो । कतिपय अवस्थामा कांग्रेस दलको रुपमा मात्र सीमित थिएन, सामाजिक रुपान्तरणको अभियान नै थियो ।
०७ सालमा नेपाली कांग्रेसले नेतृत्व गरेको आन्दोलनको बलमा प्रजातन्त्र स्थापित भएपछि र २०४६ सालमा कांग्रेसकै नेतृत्वमा भएको जनआन्दोलनपछि पुर्नस्थापित भएको प्रजातान्त्रिक प्रणाली अन्तर्गत बहुदलीय व्यवस्थामा कांग्रेसकै नेतृत्वमा सरकार बनेपनि सेनाको राजतन्त्रप्रतिको वफादारिताका कारण र अधिनायकवादी राजनीतिक र सामाजिक परम्पराका कारण राजतन्त्र शक्तिशाली नै रह्यो । त्यसमाथि नेपालका राजाहरु, त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मै बहुदलीय प्रजातन्त्र र त्यसको नेतृत्व र वकालत गर्ने दल नेपाली कांग्रेसप्रति सँधैजसो नकारात्मक नै रहे । ०७ साल देखि २०१५ मा निर्वाचन नभइन्जेल संक्रमणकाललाई लम्ब्याइराख्न, कांग्रेसलाई सत्ताबाहिर राखिरहन र राजनैतिक दलहरुबीचको अन्तरविरोधका बीच खेलेर आफ्नो निहित स्वार्थ पुरा गर्न राजतन्त्र सँधैजसो लागिरह्यो । २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत प्राप्त गरेर बी.पी. कोइरालाको नेतृत्वमा सरकार बनेपछि राजा महेन्द्रले उक्त सरकारलाई खुला हृदयले सहयोग र समर्थन गरेनन् । बी.पी. को बौद्विक क्षमता, नेतृत्व र उनको नेतृत्वको सरकारको जनमुखी र लोकप्रिय कार्यक्रमबाट हतास भएका राजाले शीतयुद्धकालीन् विश्वराजनीतिको फाइदा उठाउँदै सरकार भंग गरे र अन्ततः बहुदलीय शासनव्यवस्थामाथि नै प्रतिबन्ध लगाए । तीसबर्षे पञ्चायती कालरात्रीका दौरान राजालाई सर्वशक्तिमान बनाइयो, विकल्पहीन नेताको रुपमा प्रस्तुत गरियो र देवत्वकरण गरियो ।
nepali-congress-flag
पञ्चायती व्यवस्थाले केही राजनीतिक स्थिरता दिएको तर्क भने अवश्य गर्न सकिएला तर त्यो अधिनायकवादी व्यवस्थाले मुलुकलाई गरीबै राख्यो र सीमान्तकृत जनताको जीवनस्तर उकास्न खासै उपलब्धीमुलक काम गर्न सकेन । २०४६ सालको जनआन्दोलन पश्चात् नेपाली कांग्रेसले धेरैपटक सरकारको नेतृत्व गरिसकेको छ । तर बहुदलीय व्यवस्था पुर्नस्थापनापश्चात पनि सेनामाथिको राजाको नियन्त्रणका कारण राजतन्त्र शक्तिशाली नै रहिरहन सफल भयो । नरम भनिएका राजा वीरेन्द्र समेत बहुदलीय व्यवस्थाप्रति उदार देखिएनन् । प्रजातन्त्रको संक्रमणमा देखिने स्वाभाविक समस्या र अन्तरविरोधहरुलाई दरबारले बहुदलीय व्यवस्था र त्यसको हिमायती नेपाली कांग्रेस विरुद्ध निरन्तर प्रयोग गरिरहे ।
यसैवीचमा बहुदलीय प्रजातन्त्रको करिब ६ वर्ष पुग्दा नपुग्दै नेकपा (माओवादी) ले शताब्दीऔं देखिका विकृति र विभेदहरुसँग लड्ने भन्दै सशस्त्र विद्रोह शुरु गरे । यसरी कांग्रेसले सर्वश्रेष्ठ र विकल्पहीन मानेको बहुदलीय प्रजातन्त्रलाई माथिबाट राजा र राजावादीहरुले र तलबाट माओवादीहरुले एकैसाथ प्रहार गरे । यो प्रहार सुनियोजित र सामञ्जस्य मिलाएर गरिएको थियो कि थिएन त्यो छुट्टै बहसको विषय हुनसक्छ । तर ती दुबैथरि अधिनायकवादी चिन्तन बोकेका तत्वहरुबाट बहुदलीय व्यवस्था र नेपाली कांग्रेसमाथि निरन्तर प्रहार भइरह्यो । कतिपय अवस्थामा कांग्रेस आफै पनि प्रजातान्त्रिक पद्धति र सोचबाट सञ्चालित हुन सकेन । तसर्थ बहुदलीय प्रतिष्पर्धाको मर्म अनुरुप राज्यव्यवस्था सञ्चालन हुन सकेन ।
२०६३ मा राजतन्त्रको अन्त्यपछि सम्पूर्ण राजनैतिक शक्ति जनताको हातमा आएको छ । यसकारण राजनीतिक दलहरु शक्तिशाली बनेका छन् । दलहरु निरंकुश र अधिनायकवादी सोचबाट ग्रसित राजतन्त्रबाट अब डराउनु नपर्ने स्थितिमा छन् । तर राजनीतिक दलहरु र त्यसमा पनि विशेषगरी कांग्रेसका अगाडि चुनौतिका अजंग पहाडहरु उभिएका छन् । राजनीतिक दलहरु सर्वशक्तिमान बनेकाले राष्ट्रका अगाडि रहेका सम्पूर्ण राजनीतिक, आर्थिक र सामाजिक चुनौतिहरु कांग्रेसका पनि चुनौतिहरु बनेका छन् । त्यसबाहेक लोकतान्त्रिक बहुदलीय व्यवस्था कायमै राख्नुपर्ने, पार्टीलाई बलियो, गतिशील, गेयात्मक, विचारनिर्देशित, पारदर्शी र आन्तरिक प्रजातन्त्रसहितको दलको रुपमा स्थापित गर्नुपर्ने चुनौतिहरु पनि अहिले नेपाली कांग्रेसका अगाडि टड्कारो रुपमा रहेका छन् ।
आन्तरिक चुनौतिहरु 
राष्ट्रमा प्रतिष्प्रधामा आधारित बहुदलीय व्यवस्थाप्रति आकर्षण कायम राख्न कांग्रेसभित्र आन्तरिक प्रजातान्त्रिक संस्कार, आचरण र अभ्यास हुनु जरुरी छ । सिद्धान्त र घोषणापत्रहरुमा जे लेखिएको भएपनि नेपाली कांग्रेस भित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास पारदर्शी र वैचारिक रुपले बलियो नभएसम्म कांग्रेस आफै लोकतान्त्रिक परम्पराको राम्रो उदाहरण बन्न सक्दैन । बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने हुनाले कांग्रेस अधिनायकवादी चिन्तन बोकेका शक्तिहरु जस्तो निरन्तरको प्रोपागान्डा मार्फत जनताहरुलाई भ्रम बाँडिरहन र ठुलाठुला आश्वासनहरु दिइरहन सक्तैन । त्यसैले कांग्रेस निरन्तर वैचारिक रुपमा माझिइरहनु पनि आवश्यक छ । कांग्रेस भित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास नेपालको लोकतान्त्रिक अभ्यासको लागि राम्रो उदाहरण बन्नुपर्दछ ।
नेपाली समाजमा व्याप्त अधिनायकवादी संस्कारका कारण (यसको विस्तृत छलफल यही लेखमा केही पछि हुने छ ) नेपाली कांग्रेसको आन्तरिक पार्टी जीवनमा पनि त्यस्ता प्रशस्त अभ्यासहरु हुन्छन् । नेताको चाकडी, चाप्लुसी गर्नुपर्ने, जी–हजुरी गर्नुपर्ने, मुद्दाहरुका आधारमा भन्दा पनि व्यक्तिगत निकटताका आधारमा समुहहरु बन्ने, योगदान र क्षमताका आधारमा भन्दा ठुला नेताहरुसँगका निकटताका आधारमा अवसरहरु प्राप्त हुने जस्ता सामन्ती र अधिनायकवादी अभ्यासहरुका अनगिन्ति उदाहरणहरु कांग्रेस भित्रै पाइन्छन् । कांग्रेसको पार्टी जीवन पारदर्शी र प्रजातान्त्रिक तरिकाले सञ्चालन हुनु नितान्त आवश्यक छ ।
लोकतन्त्रको स्थायित्व 
नेपाली समाज र राजनीतिको प्रजातान्त्रिकरणमा पनि नेपाली कांग्रेसको अगाडिको अर्को चुनौति हो । नेपाली राजनीति र समाज लोकतान्त्रिकरण हुन सकेन भने नेपालको राजनीतिक जमीनमा कांग्रेस र यसले बोकेका मुलभूत विचार र मान्यताहरु फुल्न र फल्न सक्दैनन् । पश्चिमा अनुसन्धानकर्ताहरुका अनुसार राम्रो आर्थिक स्थिति भएका (प्रतिव्यक्ति आय सरदर १००० अमेरिकी डलरभन्दा माथि ), शिक्षित जनसंख्या धेरै भएको,रोजगारी र सम्मानपूर्वक जीवनयापन सुनिश्चिचता भएको ठाउँमा लोकतन्त्र बढी स्थीर हुनसक्छ । पश्चिमा सिद्धान्तकारहरुले त लोकतन्त्रको स्थिरताको लागि मध्यमवर्ग (मिडल क्लास) को बाहुल्यता भएको समाज हुनुपर्छ भनेका छन् । यो मध्यम वर्गको परिभाषा र मापन देशैपिच्छे फरक हुने हुनाले यो मान्यता सर्वस्वीकार्य त बनिसकेको छैन, तर आर्थिक रुपमा सक्षम र सुरक्षित अनि शिक्षित जनसंख्या बढी भएको ठाउँमा लोकतान्त्रिक पद्धति स्थीर रहन्छ भन्ने कुरा सामान्य तरिकाले सोच्दा पनि बुझ्न सकिन्छ । त्यसैले शिक्षित र आर्थिक रुपमा सक्षम मानिसहरु बढाउने नीति कांग्रेसले पार्टीगत रुपमा र सरकारमा हुँदा राज्यसंयन्त्रहरुमार्फत पनि लिनुपर्दछ । यसो गर्न सकेमा लोकतन्त्र र कांग्रेस दुबैको भविष्य राम्रो हुने संभावना बढी हुन्छ ।
अधिनायकवादी राजनीतिक अभ्यासको लामो इतिहास, मानिसको स्तर जन्मका आधारमा छुट्टयाउने जातीय प्रथा, पुरुषप्रधानता र स्तरीय र प्रभावकारी शैक्षिक संरचनाहरुका कमीका कारण नेपालको समाज र राजनीतिमा प्रजातान्त्रिक संस्कार स्थापना र संस्थागत हुन गाह्रो छ । सामान्य होटलदेखि, सार्वजनिक यातायात, चौर र चौताराहरुमा हुने बहसहरुमा मानिसहरु एउटा जंगबहादुर वा ली क्वान युको खोजी गरिरहेका देखिन्छन् । यसले हाम्रो मनमस्तिष्क र समाजमा व्याप्त अधिनायकवादप्रतिको आकर्षण देखाउँछ । लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने अधिनायकवाद वकालत गर्ने विभिन्न रङ र स्वरुपका राजनीतिक दलहरु र समुहहरुले खेल्ने ठाउँ पाउँछन् ।
नेकपा (एमाले)मा पनि कुनैबेला त्यस्तै कम्युनिष्ट अधिनायकवादको धङधङी थियो । त्यसका नेताहरु “संसद भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो” भनेर खुलेआम भन्थे । राष्ट्रि«यताको नाममा सन् १९९५मा अरुण तेस्रो रोक्न एमालेका नेताहरु र एमाले समर्थित गैह्रसरकारी संस्थाहरु लागे । अहिले अरुण तेस्रो जलविद्युत परियोजना पुनः शुरु हुने पक्कापक्की जस्तो हुँदा एमाले अहिले यस्ता विदेशी लगानी भित्राउने परियोजनाहरुको सक्रीयरुपमा वकालत गर्ने स्थितिमा आइपुगेको छ । यसरी अरुण तेस्रो देखि अरुण तेस्रोसम्म आइपुग्दा अरुण नदीमा धेरै पानी बगिसकेको छ । जे भए पनि यो परिवर्तन नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिकरणको लागि एउटा सुखद पक्ष हो ।
हो, एमालेको लोकतान्त्रिकरणमा कांग्रेसको उल्लेख्य योगदान होला तर कांग्रेसवृत्तमा केहीले दाबी गरे झैं एमालेको लोकतान्त्रिकरण कांग्रेस एक्लैले गरेको भने होइन ।
सन् १९९० (बि.सं. २०४६ ) मा सोभियत संघको विघटन अघि र पछि ‘थर्ड वेभ अफ डेमोक्रेसी’ सँगै संसारभर कम्युनिष्ट र अरु अधिनायकवादी शासकहरु ढल्दै गए र ती देशहरुमा प्रजातान्त्रिक प्रणाली स्थापित हुन पुगे । नेपाल सानो र कमजोर राष्ट्र भएकोले र नेपालका कम्युनिष्टहरु (एमाले लगायत) प्रजातान्त्रिक प्रक्रियामा होमिन बाध्य भए । नेकपा (एमाले)का प्रभावशाली र दुरदर्शी नेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद (जबज)’ विश्वव्यापीरुपमा संकटमा परेका कम्युनिष्टहरुलाई बहुदलीय व्यवस्थामैत्री बनाएर अस्तित्व रक्षा गर्न अगाडि सारिएको जीवनबुटी थियो । हुन त जबजलाई पनि त्यतिबेला एमालेका नेताहरुले साम्यवादमा पुग्ने माध्यमका रुपमा व्याख्या गरेका थिए तर शीतयुद्धपछि विश्वराजनीतिमा आएको प्रजातन्त्रको लहर, खुला बजार अर्थव्यवस्था, एकल महाशक्तिराष्ट्रका रुपमा अमेरिकाको उदय र अमेरिका लगायत पश्चिमा राष्ट्रहरुद्वारा आक्रामकरुपमा फैलाइएको लोकतन्त्र, अमेरिका–भारत जस्ता ठुला प्रजातान्त्रिक राष्ट्रहरुबीचको बढ्दो रणनीतिक साझेदारीले सृजना गरेको राजनीतिक, आर्थिक र सामाजिक प्रभावहरुका कारण एमाले पूर्ण प्रजातान्त्रिक दलमा रुपान्तर हुन वाध्य भएको हो । सो दल प्रजातान्त्रिक रुपान्तरणको सवालमा अव पछाडि फर्कन नसक्ने परिस्थितिमा पुग्नुमा बदलिँदो विश्वराजनीतिक संरचना कारक मान्न सकिन्छ । कांग्रेसले पनि एमालेको लोकतान्त्रिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ तर कांग्रेसले त्यो जस एक्लै लिन मिल्दैन ।
सशस्त्र संघर्ष गरेर कम्युनिष्ट अधिनायकवाद स्थापना गर्न कोशिष गरेको नेकपा (माओवादी) पनि अन्ततः बहुदलीय प्रतिष्पर्धामा आउन बाध्य भयो, अनिच्छापूर्वक भए पनि । एनेकपा (माओवादी)का नेताहरुले एमालेलाई वैचारिक हिसावले लिङ्ग नछुट्टिएको भने पनि एमाओवादीले अब भने सशस्त्र संघर्ष मार्फत नेपालजस्तो जटिल भू–राजनीतिक परिवेश भएको मुलुकमा कम्युनिष्ट अधिनायकवाद स्थापना गर्न असंभवप्राय छ भन्ने बुझेको हुनुपर्छ । एमाओवादी अहिले जटिल मोडमा उभिएको छ । प्रचण्डको आफुलाई ‘न उठी सुख न बसी सुख’ भन्ने भनाइले उनको व्यक्तिगत परिस्थिति मात्र होइन समग्र एमाओवादी पार्टीकै अहिलेको रुपान्तरणको गाह्रो परिस्थितिलाई प्रतिबिम्बित गर्छ । सायद एमाओवादी नेकपा (एमाले) जस्तो ‘लिङ्ग नछुट्टिएको’ हुन चाहन्थेन होला तर परिस्थितिरुपी राजनीतिक घडीको सुइले उसको वर्तमान र भविश्यको यात्रा त्यसैतर्फ इङ्गित गर्दैछ । विश्वराजनीतिमा हालीमुहाली जमाइरहेका अमेरिका र दक्षिण एसियाको शक्तिराष्ट्र भारतको चाहना विपरित नेपालमा कम्युनिष्ट अधिनायकवाद स्थापना गर्न करिबकरिब असंभव छ । एमालेलाई जस्तै एमाओवादीलाई लोकतान्त्रिकरण गर्न कांग्रेसलाई यही अनुकुल अन्तर्राष्ट्रिय परिवेश सहयोगी हुने छ ।
वि.स. २०४६ को जनआन्दोलनमा गणेशमान सिंहको नेतृत्वको काँगेसको वाममोर्चासँगको सहकार्य र दोस्रो जनआन्दोलनका अगाडि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीसँगको १२ बुँदे समझदारीलाई काँग्रेसले नेपालमा कम्युनिष्टहरुको लोकतान्त्रिकरणको लागि खेलेको महत्वपूर्ण भूमिकाको रुपमा बुझ्नुपर्छ । यसर्थ कांग्रेस एक्लैले एमाले र एमाओवादीलाई प्रजातान्त्रिक मुलधारमा ल्यायो भन्नु पुरै जायज नहोला तर कांग्रेसको भूमिकालाई नजरअन्दाज गरिनु पनि हुँदैन । कांग्रेसले एमाओवादी, मधेशवादी र अरु ‘पहिचानवादी’ भनिएकाहरुलाई पनि लोकतान्त्रिकरण गर्न आक्रामक र निरन्तर भूमिका निर्वाह गर्नुपर्छ । यसका लागि कांग्रेससँग विचार, बुद्धि, विवेक, बल र गति सबै हुनुपर्दछ । कांग्रेसबाहेक सैद्धान्तिक हिसाबले पूर्णरुपमा बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने अर्को दल नेपालमा छैन त्यसैले यो कांग्रेसकै चुनौति र जिम्मेवारी हुन आउँछ ।
नेपालमा गणतन्त्रसहितको पूर्ण लोकतन्त्र स्थापना भएकोले अहिले सम्पूर्ण राज्यशक्ति जनता (खासगरी राजनीतिक दलहरुमा) आएको छ । नेपालमा संरचनागत कारणहरुले सैनिक कु हुने सम्भावना पनि छैन ।रुक्माङ्गद कटवालले भनेझैं सेनाको प्रजातन्त्र र निर्वाचित सरकारप्रतिको अविचलित विश्वास भन्दा पनि अन्तर्राष्ट्रिय राजनैतिक संरचनाका कारण त्यो धेरै संभव देखिदैन । तर अधिनायकवादी चिन्तन मान्ने समुहहरुले सत्ताकब्जा गर्न सक्तैनन् र गर्दैनन् भन्नुको मतलब नेपालमा लोकतन्त्र स्वतः मौलाएर जान्छ भन्ने होइन । आर्थिक प्रगति नहुने, राजनीतिक, सामाजिक स्थिरिता नहुने र सर्वसाधारणले सम्मानपूर्वक जीवन यापन गर्न नपाउने , अशिक्षा, गरीबी, अज्ञानता, विभेद, भ्रष्टचार, नातावाद, क्रिपावाद कायम रहिरहने हो भने यी मुद्दाहरु समातेर उग्रपन्थी, अधिनायकवादी र अवसरवादी शक्तिहरु जन्मिरहने खतरा हुन्छ र यस्तो भएको खण्डमा लोकतन्त्र स्थीर रहन समस्या पर्न जान्छ । यसर्थ जनताका जनजीविका र जीवनयापनका सवालहरु, सामाजिक र राजनीतिक जीवन र व्यवस्थापनका सवालहरु स्वतः नेपालको लोकतन्त्रको स्थिरता र नेपाली कांग्रेसको चासो र चुनौतिका विषय बन्न पुग्छन् ।
राज्य सञ्चालनका सवालहरु 
एउटा प्रजातान्त्रिक दलसँग खँदिलो वैचारिक आधार (केन्द्र) हुनैपर्दछ जसले राज्यसञ्चालनका विविध पाटाहरु, सामाजिक जीवनका विभिन्न पक्षहरु र सर्वसाधारण जनताका रुची र चासोका विषयहरुको दार्शनिक र व्यवहारिक व्याख्या गर्न र समाधान दिन सकोस् । यो विचार निर्माण प्रक्रिया सजिलो पक्कै छैन । छिमेकी भारतमा भारतीय जनता पार्टी र कांग्रेस आई मात्र होइन कि भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) जस्ता तुलनात्मक रुपले कम प्रभाव भएका दलहरुले पनि सम्वन्धित क्षेत्रका विज्ञ, विद्वान र विशेषज्ञहरुसँग गहन छलफल गरेर राजनीतिक, आर्थिक र सामाजिक नीतिहरु निर्माण गर्छन् । नेपाली काग्रेसभित्र र यो दलप्रति शुभेच्छा राख्ने धेरै क्षेत्रका विज्ञहरु पनि छन् । कांग्रेसले गम्भीर भएरै चाहने हो भने त्यस्ता व्यक्तिहरुले खुशीसाथ कांग्रेसको विचार निर्माण प्रक्रियामा योगदान दिन उत्सुक हुनेछन् । यस्तो विचारनिर्माण प्रक्रियामा जनताका आवश्यकताहरु, समस्याहरु, स्वार्थहरु, रुचिहरु पहिचान गर्ने र ती कुराहरुको कांग्रेसद्वारा अँगालिएको लोकतान्त्रिक समाजवादी अर्थराजनीतिबाट कसरी समाधान दिने भन्ने उपायहरु पत्ता लगाउन सकिन्छ । नेपाली कांग्रेस लोकतान्त्रिक दल भएकोले सघन विचार मन्थनको विधि अपनाउनु जरुरी देखिन्छ ।
सुरक्षित र सम्मानित जीवनयापन, शिक्षा, स्वास्थ्य जस्ता सेवाहरुलाई राज्यका सबैभन्दा सीमान्तकृत वस्ती र समुदायमा कसरी लोकतान्त्रिक समाजवादी अर्थराजनीतिका माध्यमबाट पु¥याउन सकिन्छ भन्ने विषयमा पार्टीभित्र घनीभूत छलफल हुनु जरुरी देखिन्छ । नीतिनिर्माण गर्ने मात्र होइन ती कुराहरु कसरी प्रभावकारी रुपमा सर्वसाधारणको घरदैलो र समाजमा पु¥याउन सकिन्छ भन्ने स्पष्ट मार्गचित्र बनाएर त्यसलाई इमान्दारितापूर्वक लागु गर्न प्रयास गर्नुपर्छ ।
जनजीविकाका सवालमा भन्नुपर्दा अहिले पनि नेपालमा गरीबीको रेखा मुनि रहेका जनसंख्या ४४% छ । गाँस, वास र कपासलाई आधारभूत आवश्यकता भनिएको भए पनि सरकारले यी कुराहरुको सुनिश्चितता गर्न सकेको छैन । विद्यालय नजाने बालबालिका २०% छन् भने जम्मा ५१% वालवालिकाले प्राथमिक शिक्षा पुरा गर्छन् । कुपोषणबाट ग्रसित बालबालिका ४८% छन् । हजार बालबालिका मध्ये करिब ५० जनाको ५ वर्ष नपुग्दै मृत्यु हुन्छ । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा नेपालमा बेरोजगारी ३% जति भनिएपनि बेरोजगारी ४०% को हाराहारी हुनसक्ने अनौपचारिक अनुमानहरु लगाइएका छन् । पैंतीस लाखजति नेपालीहरु विदेशमा काम गर्छन् । यी मध्ये धेरैजसो १५ देखि ४४ वर्षसम्मका क्रियाशील उमेर समुहका मानिसहरु हुन् ।
देशमा रोजगारी सिर्जना नहुँदा, दैनिक करिब १७०० युवाहरु (यु.एन. डी.पी.को रिर्पोटअनुसार) वैदेशिक रोजगारीका लागि नेपालबाट बाहिरिन्छन् । यी त नेपालको गरीबी झल्काउने केही आँकडा हुन् । हिमाल, पहाड, तराइ जहाँको भए पनि गाउँवस्तीहरुमा जाने हो भने गरीबीको पीडा आफ्नै आँखाले देख्न सकिन्छ । गरीबी निवारण र आर्थिक उन्नतीका लागि ठोस् र कार्यान्वयन गर्न सकिने व्यवहारिक नीतिहरु बन्नुपर्छ । ती नीतिहरुको कार्यान्वयन र प्रतिफल पनि निरन्तर मुल्याङ्कन हुनुपर्दछ । राज्यका श्रोत र साधनहरुको न्यायोचित र योजनावद्घ वितरण मार्फत सीमान्तकृत र आर्थिकरुपमा पिछडिएकाहरुको जीवनको गुणस्तर उकास्ने इमान्दार प्रयास हुनुपर्छ । त्यसमा पनि कांग्रेसले ‘हामीले नगरे कसले गर्छ त ?’ भन्ने मनस्थिति लिएर अगाडि बढ्नुपर्दछ । लोकतान्त्रिक समाजवादमा सम्पत्तिमाथि मौलिक अधिकार कायम गरिएको हुन्छ । व्यापारी र उद्यमी वर्गलाई नाफामुलक उद्योग व्यवसाय सञ्चालन गर्न उचित वातावरण बनाइदिनुपर्छ । तर समाजका विपन्न वर्गको जीवनमा सरकार सहयोगी टेको बनेर पुग्नैपर्छ । शिक्षा र स्वास्थ्य जस्ता सुविधाहरु सबैको पहुँचमा पुग्नुपर्छ ।
विडम्वनाको कुरो शीतयुद्ध पछि विश्वस्तरमा नै पश्चिमा पुँजीवादी शक्तिहरुले खुला बजार अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्वबैंक, विश्व व्यापार संगठनजस्ता संस्थामार्फत आक्रामकरुपमा विस्तार गरे । जसले गर्दा राष्ट्रको श्रोतको वितरणहरुमा पनि ‘बजार’मा भर पर्नु पर्ने परिस्थिति बन्यो । सरकार जनतालाई कृषि, स्वास्थ्य र शिक्षा लगायत अरु क्षेत्रमा दिँदैआएको अनुदान घटाउन÷हटाउन बाध्य भयो । नेपालमा त झन् खुलाबजार र त्यसलाई पृष्ठपोषण गर्ने नवउदारवाद नाङ्गो र अत्यन्त भद्दारुपमा प्रयोग गरियो । जसले गर्दा कृषिमा मल लगायतमा दिईंदैआएको अनुदानहरु घटाइयो÷हटाइयो । यसरी किसानका मर्काहरु समेट्ने गरी नीति नबन्दा कृषि उत्पादकत्व बढ्न सकेन । फलस्वरुप नेपाल कृषिजन्य उत्पादनहरु भारीमात्रामा आयात गर्नुपर्ने परिस्थितिमा पुगेको छ ।
स्तरीय शिक्षा र स्वास्थ्यमा धेरैजसो हुनेखाने वर्गको मात्र पहुँच छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता र महत्वपूर्ण विषयहरुमा नीजिकरण अनियन्त्रित रुपमै भएको छ । त्यसले गर्दा पहुँचवाला नीतिनिर्माताहरु निम्नवर्गीय जनताले प्रयोग गर्ने सरकारी शिक्षा र स्वास्थ्य संस्थाहरुप्रति संवेदनशील नहुनसक्ने संभावना बढेको छ । शिक्षा र स्वास्थ्यमा सेवामा नीजि क्षेत्रलाई बेरोकतोक प्रवेश दिँदा र सर्वसाधारणलाई बीमा लगायतका सुविधा नहुँदा ‘रङ्ग न ढङ्गको’ कुरुप पुँजीवादले धनी र गरीब बीचको खाडल बढाउँदै लग्ने देखिन्छ । कांग्रेसमा एकथरि व्यक्तिहरु बी.पी. कोइरालाले भने अनुरुप जनताको आधारभूत आवश्यकताको सुनिश्चित गर्ने लोकतान्त्रिक समाजवाद बद्लिँदो विश्वपरिवेशमा नेपालमा संभव छैन भन्ने तर्क गर्छन् । तर लोकतान्त्रिक समाजवादले परिकल्पना गरेको लोककल्याणकारी राज्य युरोपियन युनियनका स्वीडेन, नर्वे,फिनल्यान्ड, डेनमार्क लगायत अरु देशमा रहेको उनीहरुले बुझ्नुपर्छ ।
एक अरब जनसंख्या नाघिसकेको छिमेकी मुलुक भारतमा पनि सन् १९९० पछि उदारवादका केही मान्यताहरुलाई आत्मसाथ गरिएको भएपनि लोककल्याणकारी राज्यको उपस्थिति यातायात, कृषि, स्वास्थ्य,शिक्षा जस्ता क्षेत्रमा पर्याप्त देख्न पाइन्छ । भारतको दिल्ली विधानसभाको निर्वाचनमा आम आद्मी पार्टीको अभूतपूर्व विजयलाई पनि लोककल्याणकारी राज्यको पक्षमा उर्लेको जनमतका रुपमा बुझ्नुपर्छ । नेपालमा पनि लोककल्याणकारी राज्य संभव छ र यो नै कांग्रेसले अंगीकार गरेको लोकतान्त्रिक समाजवादको सबैभन्दा उच्चतम र सृजनशील प्रयोग हुनसक्छ । वचनले लोकतान्त्रिक समाजवाद भन्ने तर व्यवहारमा राज्यको यथेष्ट नियन्त्रण हुन नसकेको उदारवाद लागु हुँदा राज्य र सर्वसाधारण जनता बीचको दुरी बढ्ने देखिन्छ र सर्वसाधारणमा राज्य, राजनीति, राजनीतिक दल र नेताप्रति उदासिनता र अविश्वास बढ्न जान्छ ।
राज्यपुर्नसंरचना, पहिचान र संघीयता 
नेपालमा अहिले संघीयता र पहिचानको मुद्दा पनि जोडतोडका साथ उठेको छ । पहिचानलाई खासगरी जातीय पहिचानका रुपमा अथ्र्याइएको छ । जातीयतालाई राष्ट्रियता, वर्गीयता र पहिचानको मुख्य आधारको रुपमा अपुरो र भ्रमपूर्ण व्याख्या गरेर प्रचार पनि गरिएको छ । जातीयताकै कारण केही समुह ऐतिहासिक रुपमा सीमान्तकृत भएका तर्क अगाडि सार्दै (जुन आंशिक सत्य पनि हो) त्यो ऐतिहासिक विभेदको क्षतिपुर्ति स्वरुप जातीय पहिचानमा आधारित प्रान्तहरु बनाइनुपर्ने तर्कहरु अगाडि सारिएका छन् । यी तर्कहरु ज्ञान र नेपालको भू–धरातलीय यथार्थमा पूर्णरुपमा आधारित देखिंदैनन् । नेपाली कांग्रेस बहुदलीय प्रजातन्त्र र विविधतामा विश्वास गर्ने पार्टी हुनाले सम्पूर्ण जातजाती र भाषा सँस्कृतिलाई उत्तिकै सम्मान गर्छ र विविधतालाई शक्ति मान्छ तर जातीय अग्राधिकार सहितको प्रान्त निर्माणले नेपाललाई झन् विभाजित बनाउँछ भन्ने ठान्छ ।
कांग्रेसले गएको संविधानसभाको घोषणापत्रमा ‘पहिचान पनि भेटिने, जातीय द्वन्द पनि मेटिने’ गरी राज्यपुर्नसंरचना गर्ने घोषणा गरेको छ । तर पहिचानको साँस्कृतिक, जातीय र अरु आधारहरुका बारेमा र भविश्यको नेपालको संघीय एकाइहरुको साँस्कृतिक आधारहरुका बारेमा कांग्रेसमा प्रशस्त छलफल भएको छैन । यसका लागि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादप्रति प्रतिवद्ध विषयगत विशेषज्ञहरु र राजनीतिज्ञहरुको समुह बनाएर, अध्ययन, अनुसन्धान र संवाद गर्नुपर्छ । कांग्रेसले यस्तो संवेदनशील विषयमा ज्ञानमा आधारित समाधान खोज्न पहलकदमी लिनु आवश्यक छ ।
मधेश मुद्दा 
मधेश पनि अहिले नेपालको राजनीतिमा ज्वलन्त मुद्दा बनेर देखापरेको छ । नेपाली कांग्रेसको स्थापना, संगठन विस्तार र प्रजातन्त्रको लागि लडाईंमा मधेश र मधेशी समुदायको ठुलो हात छ । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनको तुलनात्मक अध्ययन गर्दा के प्रष्ट हुन्छ भने मधेशमा पकड गुम्ने बित्तिकै नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा पनि तुलनात्मक रुपमा कमजोर हुनपुग्छ । मधेशमा अहिले जागरण आएको छ र मधेशी समुदायले पहाडीया नेपाली जस्तै सम्मानजनक सामाजिक र राजनीतिक उपस्थिति खोजेका छन् । मधेशी जनता अब विकल्पहीन पनि छैनन् । मधेशवादी दलहरु अब मधेशीहरुलाई संगठीत गर्ने प्रयासमा छन् । मधेशवादी दलहरुले राजनीतिक फाइदाका लागि राज्य र मधेशी जनताका बीचको दुरीलाई झन् बढाइदिन्छन् भन्ने कुरा भर्खरको मधेश आन्दोलनले पनि पुष्टि गरेको छ । यसर्थ नेपाली कांग्रेसले मधेशमा गुम्सिएर रहेका यी मुद्दाहरुलाई सतहमा ल्याइदिनेहरुलाई धन्यवाद दिँदै मधेशी जनताका इच्छा, आकांक्षा, गुनासाहरु सुन्न र तीनको ठोस समाधान पत्ता लगाउन अत्यन्त गम्भीर भएर लाग्नुपर्छ । मधेशी समुदायलाई आत्मसम्मान दिलाउन नेपाली राष्ट्रियताको फराकिलो बुझाइ सृर्जना गरी त्यसभित्र मधेशी पहिचानलाई सौहाद्रतापूर्वक र खुला हृदयले समेट्न कांग्रेस गम्भीर भएर लाग्नुपर्छ ।
राष्ट्रको मुख्य,जिम्मेवार र लोकतन्त्रवादी शक्तिको रुपमा नेपाली कांग्रेसका चुनौतिहरु मध्ये मुख्य यिनै हुन् । यी विद्यमान चुनौतिहरु र भविश्यमा पनि निस्कनसक्ने चुनौतिहरुको यथार्थपरक मुल्याङ्कन र आँकलन गरी व्यवहारिक समाधान दिन सकेमा नै जिम्मेवार लोकतान्त्रिक दलको रुपमा नेपाली कांग्रेस सफल हुन सक्छ । चुनौतिको सफलतापूर्वक सामना गर्नु नै कांग्रेसका लागि संभावनाहरु हुनेछन् । यसका लागि अहिलेलाई नेपाली कांग्रेसजस्तो राम्रो राजनीतिक शक्ति अर्को हुन सक्तैन । त्यसको लागि कांग्रेसमा निष्ठावान् नेतृत्व हुन जरुरी छ ।
रामचन्द्र पौडेल र शेरबहादुर देउवा 2
कांग्रेसको नेतृत्वको प्रश्न 
राजनीतिशास्त्रको विद्यार्थी-अध्येता हुनुको नाताले कुनै पनि दल र व्यक्तिविशेषलाई समर्थन गरेर लेख्न निकै गाह्रो हुन्छ । सामाजिक, आर्थिक र राजनीतिक विषयमा लेख्दा सन्तुष्टि मिल्छ । त्यहीमाथि हाम्रो जस्तो दर्शन, विचार र मुल्यमान्यताबाट विमुख हँुदै गैरहेको र नितान्त व्यक्तिवादी र अवसरवादी चिन्तनबाट निर्देशित देखिएको राजनीतिमा कुनै पनि व्यक्तिका पक्षमा लेख्नु पनि लेखकीय विश्वसनीयता दृष्टिकोणबाट हेर्दा एक किसिमले खतरा मोल्नु नै हो । अमेरिकामा राष्ट्रपति निर्वाचनका बेला सञ्चारमाध्यमहरुले पनि कुनै दल वा उमेदवारलाई उनीहरुका घोषणापत्र र उनीहरुले उठाएका मुद्दाहरुका आधारमा समर्थन गर्ने प्रचलन पनि छ। भारतमा पनि गएको राष्ट्रिय निर्वाचनमा केही स्थापित सञ्चारमाध्यमले त्यसको सिको गर्ने प्रयास गरे । तर कुरा र काममा तादाम्यता नहुने हाम्रो जस्तो राजनैतिक संस्कृति भएको परिवेशमा त्यसरी समर्थन गर्नु पनि कठीन काम हुन्छ ।
गणतन्त्रको स्थापना पश्चात् राजनीतिक दलहरु अत्यन्त महत्वपूर्ण शक्ति बनेका छन् । राजनीतिक दलहरु र त्यसको नेतृत्वले लिने विचार र अगिंकार गर्ने बाटोले देश र हामी सबैको भविश्यमा असर पार्ने हुँदा त्यस प्रक्रियामा निरपेक्ष रहन पनि त सकिँदैन । त्यहीमाथि नेपालको सबैभन्दा पुरानो र ठुलो राजनीतिक दल कांग्रेसले लिने विचार र दृष्टिकोण र त्यसले चयन गर्ने नेतृत्वले समग्र नेपालको राजनीतिको लोकतान्त्रिकरण र आर्थिक र सामाजिक विकासमा असर पार्ने हुँदा त्यसको विचारपद्धति र नेतृत्वको बारेमा सबैलाई चासो हुनु स्वाभाविकै हो । यस लेखमा नेपाली कांग्रेसको आगामी महाधिवेशनको सन्दर्भमा सभापतिका लागि त्याग, मध्यमार्गी विचार, लोकतान्त्रिक समाजवादको राम्रो ज्ञान र त्यसप्रतिको निरन्तर प्रतिवद्धताका कारण रामचन्द्र पौडेल तुलनात्मक रुपले राम्रा उमेदवार हुन भन्ने तर्क गरिने छ । पौडेल कमजोर नेतृत्व क्षमताका नेता हुन भन्ने भ्रम चिर्ने प्रयास पनि यस लेखमा हुने छ ।
नेपाली कांग्रेसको महाधिवेशन नजिकँदै गर्दा उक्त पार्टीको गाउँ, क्षेत्र, जिल्ला र केन्द्रीय तहमा को, कुन पक्षको व्यक्ति कहाँबाट कुन तहमा विजयी÷पराजयी भयो भन्ने कुराहरु हुन थालेका छन् । महाधिवेशन र त्यस भन्दा पहिले हुने गाउँ, क्षेत्र र जिल्ला तहका अधिवेशनहरुमा कांग्रेसले आगामी दिनहरुमा अँगाल्ने सामाजिक, आर्थिक, राजनीतिक बाटोहरुका बारेमा भन्दा पनि को, कसको पक्षमा कसलाई चुनाव हराउने-जिताउने भन्ने बारेमा बहसहरु बढी हुने गरेको देखिन्छ । यसर्थ एकजना चर्चित पत्रकार÷विश्लेषकले भने झैं कांग्रेसको महाधिवेशन एक महाचुनावमा मात्रै सीमित हुने संभावना छ ।
राष्ट्र गम्भीर चुनौतिहरुको माझमा छ । माथि नै भनिए झैं सामान्य जनताका गास, वास र कपासका सवालहरुको सम्बोधन, संविधान कार्यान्वयन, मधेश लगायत अरु क्षेत्रहरुका मागहरुको उचित सुनुवाइ, पहिचानको राजनीति, शान्तिप्रक्रिया र राजनीतिक संक्रमणको व्यवस्थापन, राजनीति र राजनीतिक दलहरुको लोकतान्त्रिकरण,मुलुक संघियतामा जाँदा देखिने संक्रमणकालीन चुनौतिहरुको व्यवस्थापन र समाधान, विभिन्न सीमात्कृत वर्गका मानिसहरुको सशक्तिकरण आदि सवालहरु हुन सक्छन् । विश्वव्यापीकरणसँगै आक्रामक रुपमा अगाडि बढाइएको नवउदारवादी र पूँजीवादी अर्थ व्यवस्थाको प्रभावका कारणले स्तरीय शिक्षा र स्वास्थ्यजस्ता सेवाहरुमात्र नभई आधारभूत आवश्यकताका (गास, वास र कपास) कुराहरु पनि सर्वसाधारण जनताका पहूँचबाट टाढा पुगेका छन् । राजनीति यही तरिकाले बढ्ने हो भने यो दूरी थप बढ्ने देखिएको छ ।
तर राष्ट्रका अगाडिका बाटाहरु सजिला छैनन् । संविधानमा संघीय राष्ट्र भनिए पनि नेपालको संघीयतातर्फको रुपान्तरण व्यवहारिक रुपमा हुन बाँकी नै छ । दक्षीणपन्थीहरु र वामपन्थीहरु वाध्यतापूर्वक लोकतान्त्रिक मूलधारमा आएका भए पनि नयाँ शक्ति, मधेशवादी दल र अरु ‘पहिचानवादी’ दलहरुका कारण पहिचानको मुद्दा थप जटिल बन्न सक्ने छ । प्रादेशिक संरचनामा गएसँगै विभिन्न रुप र रंगका क्षेत्रीय दलहरु पनि खुल्न सक्नेछन् । यी र यस्ता चुनौतिहरुका बीच नेपाललाई समाजवादी लोकतान्त्रिक अर्थ राजनीतिक व्यवस्थाका माध्यमबाट देशका समस्याहरु पहिचान गर्ने, व्यवस्थापन गर्ने, देशलाई आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक विकासको मार्गतर्फ डो¥याउने मध्यमार्गी राजनीतिक शक्तिको जरुरत पर्ने छ । त्यसका लागि नेपाली कांग्रेस नै उचित राजनीतिक शक्ति हुनेछ ।
अब नेपाललाई जनताको जनजीविका, सम्मानित जीवनयापन गराउने सक्ने सामाजिक, आर्थिक व्यवस्थापन गर्न सक्ने लोकतन्त्रको आवश्यकता छ । अन्यथा, सामाजिक स्थिरता, लोकतन्त्र र राष्ट्रकै अस्तित्व खतरामा पर्नसक्ने गम्भीर अवस्था छ । त्यसका लागि लोकतान्त्रिक समाजवादका विश्वास गर्ने दल, नेपाली कांग्रेस ज्ञान÷ विचार दृष्टिकोणसहितको गेयात्मक र गतिशील दल हुनु आवश्यक छ । नेपाली कांग्रेसले सामाजिक, आर्थिक र राजनीतिक मुद्दाहरुमा अरुले अगाडि सारेको एजेन्डा र वहसमा प्रतिक्रियामात्र जनाएर र थोरै फेरबदल गरेर मात्रै पुग्दैन । नेपाली कांग्रेस नयाँ र सृजनशील विचार दिनसक्ने ‘प्रो–एक्टिभ’ पार्टी हुन आवश्यक छ । तर बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात् कांग्रेसमा धेरै हदसम्म विचारको खडेरी परेको देखिन्छ । देशका समस्याहरुको समाधानको लागि सृजनशील उत्तर खोज्ने भन्दा पनि अरु शक्तिहरुको एजेन्डामा प्रतिक्रिया जनाउने काममा मात्रै अधिकांश अवसरहरुमा कांग्रेस सीमित भएको देखिन्छ ।
खास व्यक्ति, परिवार र समुहलाई स्थापित गर्ने नाममा देशको सबैभन्दा ठुलो प्रजातान्त्रिक दलमा आन्तरिक प्रजातन्त्रको अभ्यास हुन पाएको छैन । सामाजिक, आर्थिक र राजनीतिक विषयहरु, जनताका जीवनका विविध पक्षहरुको सवालमा घनीभूत छलफल हुन पाएको छैन । विचारको आधारमा नेतृत्व गर्नुपर्ने ठाउँमा गुट÷पक्ष सृजना गरेर झुण्डको राजनीतिबाट नेपाली कांग्रेसको मात्र नभएर समग्र देशको राजनीति नै ग्रसित हुनु दुर्भाग्यपूर्ण कुरा हो ।
यसै सन्दर्भमा नेपाली कांग्रेस पटकपटक सारिएपछिको महाधिवेशनमा जाँदै छ । महाधिवेशन प्रतिनिधिहरुले आगामी नेतृत्व छान्न अवसर पाउनेछन् । सभापतिका लागि संस्थापन भनिएको पक्षबाट रामचन्द्र पौडेल र पार्टीभित्रका सदाबहार प्रतिपक्ष, देउवा पक्ष भनिएकोबाट शेरबहादुर देउवा सभापतिको लागि भिड्ने छाँटकाँट देखिएको छ ।
वास्तवमा मलाई त कांग्रेसको नेतृत्व ४० वर्षतिरका गगन थापा र प्रदीप पौडेल जस्ता विचारवान र क्षमतावान् युवाहरुको हातमा हुनुपर्दछ भन्ने लाग्छ । तर कांग्रेसभित्र अहिलेसम्म पनि पार्टी र अवसर आउँदा सरकारका नेतृत्व र प्रतिनिधित्व गर्न पनि पञ्चायतकालका दौरान र त्यसका अघिपछि पनि पार्टी र प्रजातन्त्रका खातिर लडेका, त्याग गरेका र जेलनेल भोगेकाहरुलाई दिनुपर्छ भन्ने मानसिकता छ । प्रजातन्त्र स्थापनको लामो लडाइँमा होमिएको र जेलनेल भोगेका, यातना भोगेका, निर्वासनमा बसेका हजारौं व्यक्तिहरु अझै जीवित भएको दलमा त्यस्तो भावना हुनु स्वाभाविकै हो । कांग्रेसमा ‘राजनीतिक उचाइ’ त्यस्ता त्यागहरुका आधारमा पनि मापन गरिन्छ, जुन अस्वाभाविक पनि होइन । तिनै राजनीतिक उचाइ पुगेकाहरु मध्येबाट पनि पार्टीलाई स्पष्ट विचार र दृष्टिकोण दिनसक्ने, पार्टीलाई निरन्तरको विचार मन्थनबाट गतिशील र गेयात्मक बनाउन सक्ने नेतृत्व छान्नु जरुरी छ ।
दलको विचारलाई जनताको जीवनस्तर उकास्ने व्यवहारमा अनुवाद गर्न सक्नु अहिले कांग्रेसको चुनौति हो र कांग्रेसलाई त्यस्तै नेतृत्वको जरुरत छ ।
रामचन्द्र पौडेल देउवा भन्दा वैचारिक हिसावले र मध्यमार्गी भएकाले तुलनात्मक रुपमा राम्रा नेता हुन सक्छन् । मध्यमार्गी सोच र कांग्रेसले अंगिकार गरेको लोकतान्त्रिक समाजवादी अर्थ–राजनीतिक व्यवस्थाको बारेमा पौडेलसँग दार्शनिक ज्ञान र त्यसको व्यवहारिक पक्षको बारेमा पनि स्पष्ट दृष्टिकोण छ । सरल व्यक्तित्व, तुलनात्मक रुपमा स्वच्छ छवि, प्रजातन्त्रको लडाइँको क्रममा १४ बर्ष जेल बसेको जस्ता कारणले पौडेलले कांग्रेस नेतृत्वको दाबी गर्नु अस्वाभाविक ठहर्दैन ।
गुटगत राजनीतिले कांग्रेसभित्रको विचारको राजनीति गर्नेलाई कोपभाजनमा पारेको छ । कथित संस्थापन र देउवा पक्षको ६०-४० को राजनीतिले कांग्रेसमा नेतृत्व वैचारिक र अन्य क्षमताभन्दा पनि आफ्नो गुटको सुरक्षा गर्नेले हत्याउन सक्ने परिस्थिति बनेको छ । यस्तो परिवेशमा पौडेलको मध्यमार्गी बाटोलाई कतिपयले कमजोरीको रुपमा र कमजोर नेतृत्व क्षमताको रुपमा लिएका छन् । तर लोकतन्त्रमा (राष्ट्रिय राजनीति होस् या दलभित्रको राजनीति होस्) को सबलीकरणको लागि त यस्तै मध्यमार्गीहरुको बहुमत हुनु आवश्यक छ । आफ्ना गुटहरुको संरक्षण गर्दै राजनीतिक बार्गेनिङ गर्ने बानी परेका परेकाहरुले रामचन्द्रलाई गुट नबनाएकोमा उनलाई कमजोर देख्नु स्वाभाविकै हो । नेपाली कांग्रेसका केन्द्रीय विभागहरुमध्ये पौडेलले नेतृत्व गरेको नीति तथा प्रशिक्षण विभाग तुलनात्मक रुपमा बढी अर्थपूर्ण कार्यक्रमहरु (प्रशिक्षण लगायत) गरिरहने विभागमा पर्छ ।
त्यसो त रामचन्द्र पनि व्यवहारिक राजनीतिका कुशल खेलाडी नै होलान् । नत्र सायद अहिले सम्म टिकिरहन सक्थेनन् होला । उनी कमजोरीरहित व्यक्ति पनि होइनन् । उनले पनि समयसमयमा आफ्ना छोरा, ज्वाईं र सम्धीलाई पदहरुमा नियुक्तिका लागि बल लगाएर लागेको आरोप उनीमाथि लागेको छ ।
देउवा पनि बलियो नेतृत्व क्षमता भएका र त्याग गरेका नेता हुन् । उनले कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको विरुद्धमा विद्रोह गर्ने हिम्मत पनि गरेका हुन् । कांग्रेस भित्रको गुटबन्दीको राजनीतिमा पनि उनको असाध्यै बलियो पकड छ । तर प्रधानमन्त्री भएका बेला सरकार निर्माण गर्दा होस् या पार्टीभित्र गुट संरक्षण गर्दा होस् उनी विचारभन्दा पनि गणितलाई प्रश्रय दिने खालका छन् । पार्टी र सत्ताको महत्वपूर्ण पदहरुमा हुँदा पनि दृष्टिकोणमा आधारित राजनीति गर्ने भन्दा पनि कसरी पदमा टिकिरहने भन्नेमा उनको ध्यान केन्द्रीत भएको देखिन्छ । उनी पार्टी सभापति भएको खण्डमा उनले कांग्रेसलाई गुटबन्दीबाट थप ग्रसित बनाउन सक्नेछन् । उनीबाट ज्ञान र विचारमा आधारित राजनीति अहिलेको अवस्थामा अपेक्षा गर्न नसकिने परिस्थिति बनेको छ । कांग्रेसमा एकताको नयाँ आधार तयार पार्न र राजनीतिक स्वार्थको आधारमा हुने गुटबन्दीलाई निस्तेज पार्नु जरुरी छ ।
पौडेल उनलाई भेट्न, कुरा गर्न जानेहरुसँग नम्र भावले कुरा गर्छन् । उनले आफ्नै जड समुह (गुट) बनाएका छैनन् । यो उनको कमजोर पक्ष नभएर सबल पक्ष हो । एउटा उदाहरण दिन चाहान्छु । ०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनको बेला नेपालभरि एनेकपा (माओवादी) को आतंकको जगजगी थियो । रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार थिए र उनी निर्वाचनकै दिन मेरो गाउँ केशवटार गा.वि.स.को मतदान केन्द्रमा पुगेका थिए । तर एनेकपा (माओवादी)का कार्यकर्ताले उनलाई निर्वाचनलाई प्रभावित पार्न आएको आरोप लगाउँदै तुरुन्तै जिल्ला सदरमुकाम दमौली फर्कन चेतावनी दिए । तत्पश्चात त्यहाँ कांग्रेस समर्थक युवाहरु पनि ताते र पौडेलको निर्देशन प्राप्त भएमा माओवादीहरुलाई ‘तह लगाइदिने’ मनसाय व्यक्त गरे । तर पौडेलले माओवादीहरुलाई आफू तुरुन्तै फर्कने आश्वासन दिएर थुम्थुम्याए र नभन्दै फर्किए पनि । केहि काँग्रसी युवाहरु पौडेल ‘डराएर’ फर्किएकोमा निराश भए । पौडेलको त्यो नरम व्यवहारलाई केहीले कमजोरी पनि ठाने होलान् । पौडेल फर्र्र्किए, चुनाव शान्तिपूर्ण रुपमा सफल भयो । पौडेलले ७,००० जति मत अन्तरले माओवादी उमेदवारलाई पछाडि पारे, देशभरि कांग्रेसले नराम्रो परिणाम भोगिरहँदा ।
कतिपयले कमजोरी ठाने पनि पौडेलले त्यो नरमपन्थ त्यागेका छैनन्, वास्तवमा लोकतान्त्रिक व्यवस्थामा यसलाई सबल पक्ष मानिनुपर्छ । त्यो चुनावमा देउवाले समेत डडेलधुरामा थोरै मत अन्तर (सायद एक हजार जति) ले विजयी भएका थिए ।
कतिपयले उनले पहिलो संविधानसभाकालमा सत्र चोटी चुनाव लडेर हारेको भनेर अवमुल्यन गरेको पाइन्छ । तर पौडेल सत्र चोटी चुनाव लडेकै कारण उग्रवामपन्थी धङधङी बोकेको एमाओवादीका संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचन्ड) को सत्तारोहण रोकिन मद्दत पुगेको त हो नि । अधिनायकवादी उग्रवामपन्थी रुझान राख्ने माओवादीलाई लोकतान्त्रिक मूलधारमा आउन बाध्य पार्ने धेरै कदमहरुमध्ये त्यो पनि एक महत्वपूर्ण कदम थियो ।
मूल्य, मान्यता, विचार र निष्ठाको राजनीतिको कदर गर्ने परिपाटी हट्दै गैरहेको र यस्तो राजनीतिलाई उल्टै कमजोरीको रुपमा बुझ्ने र अथ्र्याउने गरिएको सन्दर्भमा पौडेललाई कम आँकिनु स्वाभाविकै हो ।
तर यस लेखकले भेटेका अधिकांश कांग्रेसका शुभेच्छुकहरु र दलबाहिरका पनि सचेत मानिसहरुले पनि अहिले पौडेल सरल र वैचारिक रुपमा उत्कृष्ट नेतृत्व दिन सक्ने व्यक्ति भएकोमा सहमत छन् । पौडेलले पार्टीको शीर्ष तहमा बसेर गुटबन्दीको राजनीति नगरेकाले र उनको छुट्टै जड समुह नभएकाले उनको नेतृत्व क्षमता कम छ भनेर कांग्रेसमा चलेको हल्लामा भने अधिकांशले विश्वास गरेको पाइयो। पौडेलले यसका लागि कांग्रेसको विचार र नीतिलाई समय सापेक्ष रुपमा माझ्न सक्ने, मानिसहरुको पहिचान गरी पार्टीलाई नयाँ दिशा दिन जरुरी छ । ‘व्यवहारिक राजनीति’ गर्नुपर्ने कठिनाइका कारण पौडेल सभापति नै भएका खण्डमा पनि कांग्रेसले गिरेको साख फेरि आर्जन गर्ला भन्न कठिन छ । तर अहिलेको धरातलीय यथार्थमा कांग्रेसभित्र सभापति हुन राजनीीतक उचाइ पुगेका हरुमध्येबाट पौडेल नै यसका लागि उपयुक्त पात्र हुन् ।
पौडेलले अहिलेसम्म पार्टीको नेतृत्व गर्न पाएका छैनन् । त्यसैले उनले पार्टी सञ्चालन कसरी गर्छन् भनेर देखिएको छैन । तर उनी सांसद खरिदबिक्री गर्ने, कुर्ची जोगाउन प्रजातान्त्रिक व्यवस्थालाई नै खतरामा पार्ने खेलमा सहभागी पनि भएका छैनन् । ‘मनी र मसल्स’, गुट र हठको राजनीतिलाई राम्रो ठान्नेहरुले पौडेलको नेतृत्व क्षमतामाथि प्रश्न उठाउलान् । अलिअलि भएपनि विचार, आदर्श र मुल्यमान्यताको राजनीति राखिरहने हो भने पौडेललाई पालो दिनुको विकल्प छैन ।
shiva.irs5@gmail.com
(लेखक नेपाल समसामयिक अध्ययन केन्द्रबाट प्रकाशित हुने नेपाली जर्नल अफ कन्टेम्पोरेरी स्टडिजका उपसम्पादक हुन् । यहाँ अभिव्यक्त विचार लेखकका व्यक्तिगत हुन् ।– सं.)
-आइतबार १६ फाल्गुन २०७२ (२८ फेब्रुअरी २०१६)मा घटना र विचार साप्ताहिकको अनलाइन  र त्यसपछि १९ फाल्गुन  बुधबार पत्रिकामा प्रकाशित ।