Thursday, July 12, 2018

नेपाल राजनीति

संसदीय लोकतन्त्रको पक्षमा

प्रदिप पौडेल र शिवप्रसाद तिवारी

 

नेपालको संविधान,२०७२ प्रारम्भिक मस्यौदामा राय संकलनको क्रममा सर्वसाधारण जनतादेखि विज्ञहरुसम्मबाट शासकीय स्वरुपका सम्बन्धमा  विभिन्न किसिमका रायहरु आए। सञ्चारमाध्यमहरुमा आए अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारीका (राष्ट्रपतीय वा एमालेले संविधानसभाको निर्वाचनको घोषणापत्रमा भनेझैँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री) पक्षमा मत जाहेर गर्नेको संख्या पनि उल्लेख्य छ। 
संविधान जारी गर्ने यो संवेदनशील समयमा अधिनायकवादी सोच राख्ने र त्यही अनुसारको स्कुलिङ भएका  दल, व्यक्ति र समाचारमाध्यमले प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा आवाज उठाएका छन्। यो अस्वाभाविक हैन। अहिलेसम्म बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्ने र संसदीय परिपाटी नै औपचारिक र संस्थागत रुपमा वकालत गर्र्नेहरुले समेत राजनीतिक स्थिरताका लागि भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा वकालत गर्न थालेका छन्। 
नेपालमा राजतन्त्र , राणाशासन र तीसवर्षे पञ्चायती व्यवस्थाका कारण र ती व्यवस्थाले दिएको भनिएको स्थिरताका कारण हाम्रो मानसिकतामा अधिनायकवादी राजनीतिक चरित्रप्रति आकर्षण हुनु अस्वाभाविक होइन।
पुरुषप्रधानता र जातीय कुप्रथाका कारण पनि हाम्रो मानसिकताले  खुल्ला छलफल गर्ने भन्दापनि अधिनायकवादी , सर्वशक्तिशाली र  ‘अर्डर’ कायम गर्न सक्ने पात्र र पद्धति मनपराउनु स्वाभाविकै हो। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मानसिकता र समाजको त्यस्तै पात्रको खोजीको अभिव्यक्ति हो। 
नेपालमा २०४६ सालपछि संसदीय व्यवस्थाको अभ्यासका क्रममा बारम्बार सरकारहरु फेरिइरहँदा संसदीय व्यवस्थाले स्थीर सरकार दिन नसक्ने हो कि भन्ने भान परेको छ। तर हामीले के बुझ्नु जरुरी छ भने २०४६ पछि २०६३ सालसम्म संवैधानिक भनिएको भएपनि संसदीय लोकतन्त्रको अभ्यासमा लोकतन्त्र नरुचाउने राजतन्त्रको  बलियो छायाँ परेको थियो। साथसाथै प्रजातान्त्रिक तवरबाट निर्वाचित सरकार बनेको करिव ३ वर्षमै माओवादीले संसदीय प्रणालीलाई कमजोर बनाउने गरी सशस्त्र संघर्ष ग¥यो। प्रचार यसरी गरियो कि नेपालको राजनीतिक, सामाजिक, आर्थिक लगायतका सबै समस्याको जड भनेकै बहुदलीय व्यवस्था र नेपाली काँग्रेस हुन्। 
यसरी दुई फरक अधिनायकवादी सोच भएका शक्तिहरु राजतन्त्र र माओवादीका कारण संसदीय व्यवस्था अपेक्षित रुपमा सफल हुन सकेन। ती अधिनायकवादी शक्तिको चेपुवामा परेर संसदीय अभ्यास अस्थिर देखिएकाले त्यसलाई संसदीय लोकतन्त्रकै  असफलतासँग जोडेर हेर्ने हतार गर्नुहुँदैन। अहिले आएर एउटा अधिनायकवादी शक्ति (माओवादी) र त्यसकै  सशस्त्र संघर्षको कारणलाई निहुँ बनाएर संसदीय  व्यवस्था विरुद्ध प्रहार गर्न खोज्ने अर्को अधिनायकवादी शक्ति 
(राजतन्त्र) सँगसँगै परास्त भएका छन्। यसरी संसदीय अभ्यासलाई असफल बनाउन मन र कर्मले उद्यत शक्तिहरु अन्ततः एक अर्कासँग ठोकिएर कमजोर भएका छन् र लोकतान्त्रिक प्रक्रियामा आउन बाध्य भएका छन्। तर लोकतन्त्र त छँदै छ। संसदीय लोकतन्त्रको सुन्दर र सबल पक्ष नै यही हो। २०४६ साल पछि संसदीय लोकतन्त्रको वकालत गर्ने पार्टी  नेपाली काँग्रेस आफैपनि कैयौँपटक विचारविहिनता र अर्कमण्यताबाट गुज्रियो। लोकतान्त्रिक संक्रमणको संवेदनशील घडीमा काँग्रेसले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन अध्ययन गरेर लोकतन्त्रलाई जनमुखी , सवल र उन्नत व्यवस्था बनाउँन सक्दो कोशिस गर्नुपथ्र्यो। तर काँग्रेस आफैं पनि आन्तरिक कलहमा फस्यो  र विचार र  दर्शनबाट प्रेरित राजनीति भन्दा सत्ताकेन्द्रित राजनीतिमा अल्झियो। 
शासकीय स्वरुप ः सैद्धान्तिक पक्ष 
कार्यकारीको कार्यक्षमता साँस्कृतिक, सामाजिक, आर्थिक, ऐतिहासिक र राजनैतिक  परिस्थितिहरुले पनि निर्धारण गर्न सक्छन्। फरक फरक शासकीय स्वरुप हुँदा फरक फरक राजनीतिक परिस्थिति निर्माण हुनजान्छ। राजनीतिक र अन्य महत्वपूर्ण  पात्रहरुका आशा, आकांक्षा, भूमिका र व्यवहार पनि फरक फरक हुन जान्छन्। राष्ट्रपतीय या संसदीय  प्रणालीले मतदाताको व्यवहार, व्यवस्थापिका सदस्यको व्यवहार,मन्त्रीमण्डल निर्माण,सरकारका विभिन्न अंगहरुबीचको अन्तरसम्बन्ध, कर्मचारीतन्त्रको सञ्चालन, नीतिनिर्माण प्रक्रिया र लोककल्याणकारी राज्यव्यवस्थामा पार्ने असरहरुका बारेमा अध्ययन भएका छन्। 
अहिलेसम्मका अध्ययनहरुले संसदीय प्रणालीमा राष्ट्रपतीय प्रणालीमा भन्दा लोकतन्त्र  बढी टिक्ने र फस्टाउने देखाएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी (अधिकांश अवस्थामा राष्ट्रपतीय) प्रणाली कतिपय अवस्थामा उल्टै लोकतन्त्रको  लागि खतरा देखिएको छ। पहिलेपहिले प्रत्यक्ष  निर्वाचित कार्यकारी र संसदीय प्रणालीको  अध्ययन अमेरिका र बेलायतको शासकीय स्वरुपको तुलनात्मक अध्ययन गर्न गरिन्थ्यो। तर अहिले दुवै स्वरुपका लोकतान्त्रिक व्यवस्थाहरु संसारका अन्य मुलुकमा पनि फैलिएकाले यी दुई व्यवस्थाबीचको तुलनात्मक अध्ययन विभिन्न परिवेशमा गरिँदै आइएको छ। 
अध्येताहरुका अनुसार आर्थिक अवस्था कमजोर भएका देशमा दुवै शासकीय स्वरुप स्थिर हुँदैनन्। केहि पश्चिमा  अध्येता (उदाहरणको लागि चेबब) ले अमेरिकी डलर १००० भन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकमा संसदीय व्यवस्थाको आयु सरदर ७ वर्ष र राष्ट्रपतीय प्रणालीको आयु १० वर्ष हुन्छ भनेर भनेका छन् तर तेस्रो विश्वका देशमा त्यो पुरै लागु भएको देखिँदैन। तर देशको आर्थिक अवस्थाको त्यो देशको राजनीतिक स्थिरतासँग सम्बन्ध भने अवश्य हुन्छ। त्यसैले जुनसुकै शासकीय स्वरुप भएपनि सफल हुनको लागि  आर्थिक पक्ष भने सबल हुनु जरुरी छ। 
संसदीय लोकतन्त्र 
संसदीय व्यवस्थाको आधारभूत सत्य के हो भने यसमा व्यवस्थापिका र कार्यपालिका जोडिएका हुन्छन्।  व्यवस्थापिकाको सदस्य भएको र त्यस व्यवस्थापिकामा बहुमत प्रमाणित गर्न सक्ने दलको नेतामात्र प्रधानमन्त्री बन्न पाउँछ। यसरी संसदीय व्यवस्थामा सरकारको वैधानिकता संसदबाट प्राप्त हुन्छ। त्यसैले प्रधानमन्त्री सदैव व्यवस्थापिकाप्रति उत्तरदायी रहन्छ। अन्यथा व्यवस्थापिकाले प्रधानमन्त्रीलाई सामान्य बहुमतले अविश्वासको प्रस्तावको माध्यमद्वारा हटाउन सक्छ। यसर्थ ऊ व्यवस्थापिकासँग निहुँ खोजेर गतिरोध निम्त्याउन सक्दैन÷चाहँदैन। प्रधानमन्त्री संसदको सामान्य बहुमतबाट हट्नुपर्ने हुनाले संसदीय प्रणालीमा सत्ता हस्तान्तरण सरल हुन्छ र यसले  लोकतन्त्रको सबलीकरण पनि गर्छ। प्रधानमन्त्रीले व्यवस्थापिकासँग मित्रतापूर्वक सम्बन्ध राख्नुपर्ने हुन्छ। संसदीय व्यवस्थामा सैद्धान्तिक रुपमा जहिले पनि सरकारका पक्षमा बहुमत हुन्छ, त्यसैले नीति निर्माण प्रक्रिया सहज हुन्छ। संसदीय व्यवस्थाले संरचनागत कारणले व्यवस्थापिका र कार्यकारीलाई आपसी सहयोगमा रहिरहन प्रोत्साहित गर्छ। 
संसदीय प्रणालीमा प्रतिस्पर्धा दलगत रुपमा हुने हुँदा यस प्रणालीले राजनीतिक दलहरुलाई बलियो राख्छ र यसले दल सम्बन्धित सरोकार समुहहरुलाई पनि बलियो राख्छ। संसदीय व्यवस्थामा दलभित्रको अनुशासन तुलनात्मक रुपमा बढी राम्रो हुन्छ। संसदीय प्रणाली व्यक्तिकेन्द्रित भन्दा पनि नियमकेन्द्रित प्रणाली भएकाले  संसदीय प्रणालीले राजनीति र नीतिनिर्माणलाई अनुमान गर्न सकिने, नियमवद्ध र  संस्थागत बनाउन सहयोग गर्छ भने राष्ट्रपतीय प्रणालीमा व्यक्तिकेन्द्रित राजनीतिले बढी प्रश्रय पाउँदा यस्तो पद्धतिमा राष्ट्रपतिमात्रै होइन कि सांसदहरु (जनप्रतिनिधिहरु), कर्मचारीहरुमा पनि आफू आवद्ध संस्थाहरुको सदस्य भए पनि बढी स्वतन्त्र हुन्छन्। संसदीय व्यवस्थाले नीतिनिर्माण प्रक्रियालाई पनि  संस्थागत गराउँछ भने राष्ट्रपतीय प्रणालीमा निर्णय प्रक्रिया व्यक्तिकेन्द्रीत भई प्रजातान्त्रिक संरचनाहरु संस्थागत हुने कम संभावना हुन्छ। संसदीय प्रणालीमा द्वन्द संस्थागत हुन पुग्छ जुन राम्रो पक्ष हो। यो संस्थागत भएको द्वन्दको रचनात्मक रुपान्तरण समाज र राष्ट्रलाई सुधार्न सहयोगी हुन्छ। नेपालको सन्दर्भमा पनि संसदीय प्रणालीले द्वन्दको रचनात्मक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको छ। 
अध्ययनहरुले के देखाएका छन् भने अमेरिका बाहेकका युरोप र अन्यत्रका धेरैजसो स्थीर लोकतान्त्रिक मुलुकहरुमा संसदीय प्रणाली नै छ। राजनीतिक विकास, आर्थिक विकास र मानवीय विकास मध्ये पछिल्ला दुईमा संसदीय लोकतन्त्र बढी योगदान दिन सफल भएको अध्ययनहरुले  देखाएका छन्। आर्थिक संकटका बेला पनि संसदीय प्रणाली बढी बाँचेका देखिन्छन्। एउटा अध्ययनका अनुसार सन् १९४६ देखि १९९९ सम्ममा २३ मध्ये १ राष्ट्रपतीय प्रणाली अधिनायकवादी शासनप्रणालीमा परिणत भए भने त्यही अवधीमा जम्मा ५८ मध्ये १ संसदीय प्रणाली असफल भयो। 
प्रत्यक्ष  निर्वाचित कार्यकारी 
प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रणालीमा कार्यपालिकाको प्रमुख  र व्यवस्थापिका दुवै जनताको मतबाट निर्वाचित हुन्छन्। यसमा शक्तिको पृथकीकरण भएको हुन्छ। तर दुबै शक्तिहरु जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले दुबैले आफुलाई वैधानिक ठान्छन्। कार्यकारी प्रायः आफ्नो शासनको निरन्तरताको लागि व्यवस्थापिकाको विश्वासको मतमा भर पर्नु नपर्ने भएकाले ऊ व्यवस्थापिका प्रति पूर्ण रुपमा उत्तरदायी नहुन सक्छ। कार्यकारी र व्यवस्थापिकाको  निर्वाचन फरक फरक समयमा हुँदा र अन्य विविध कारणहरुले पनि कार्यकारीको सँधै व्यवस्थापिकामा बहुमत नहुन सक्छ। यस्तो अवस्थामा कार्यकारी र व्यवस्थापिकाको बीच नीतिनिर्माणको सवाल र अन्य राजनीतिक मुद्दाहरुमा पनि फरक सोचाइ भइ गतिरोध उत्पन्न हुन सक्छ। यो नै प्रत्यक्ष निर्वाचित कार्यकारी रहने प्रणालीमा  (प्रायः राष्ट्रपतीय पद्धतिमा) उत्पन्न हुन सक्ने समस्या हो। जसरी संसदीय प्रणालीमा व्यवस्थापिका र कार्यपालिका जोडिएर एउटै शक्तिकेन्द्र निर्माण हुन्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रणालीमा दुइटा शक्तिकेन्द्रहरु रहिरहन्छन्। संसदीय शासनप्रणालीमा कार्यकारी प्रमुख व्यवस्थापिकाको समर्थनमा भर पर्नु पर्ने र उत्तरदायी हुनुपर्ने हुनाले शासन सत्ताको शक्ति सन्तुलन (चेक एन्ड ब्यालेन्स) भएको हुन्छ।  
राष्ट्रपतीय प्रणालीमा शक्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा एकत्रित हुन्छ र समग्र राजनीति व्यक्तिकेन्द्रित बन्न पुग्छ। राष्ट्रपतीय प्रणालीले राजनीतिक शक्ति र खेललाई  नियमपरक भन्दा पनि व्यक्तिकेन्द्रित बनाउँछन् यसर्थ यस्तो  प्रणालीले राजनीतिक दलहरुलाई दीर्घकालमा कमजोर बनाउँछ। बलिया  राजनीतिक दलहरु लोकतन्त्रका खम्बा हुन्। राजनीतिक दलहरु कमजोर हुने बित्तिकै लोकतन्त्र कमजोर बन्न सक्छ। राष्ट्रपतीय प्रणालीमा प्रजातान्त्रिक संस्थाहरु वा राष्ट्रका अरु अंगहरु भन्दा राष्ट्रपति शक्तिशाली हुने हुँदा जनचाहना अनुसारको परिवर्तन सजिलो हुँदैन। संसदीय परिपाटीमा कार्यकारी व्यवस्थापिकामा भर पर्नु पर्ने हुनाले समायानुकुल र छिटोछिटो परिवर्तन सम्भव हुन्छ। 
प्रत्यक्ष निर्वाचित कार्यकारी (राष्ट्रपति) ले प्रत्यक्ष निर्वाचित भएकै कारण पूर्ण वैधानिकता दाबी गर्छ। यही संरचनागत कारणले उसको आफूप्रतिको बुझाइ नै  अलिक बढी आत्मविश्वासी हुन्छ। राष्ट्रपतीय प्रणाली अलिक बढी जड (रिजिड) हुन्छ किन कि महाअभियोग लाग्ने अवस्थामा बाहेक ऊ शक्ति वा सत्तामा रहिरहन सम्भव हुन्छ।  तर यो समग्रमा लोकतान्त्रिक स्थीरताको लागि घातक हुनसक्छ। राष्ट्रपतीय प्रणालीले अल्पकालीन रुपमा स्थिरता दिनसक्ला तर त्यो स्थिरता तवसम्म मात्र ठीक हुन्छ जबसम्म राष्ट्रपति सहि नीतिनिर्माण  गर्दै सहि दिशामा हिँड्छ। यदि राष्ट्रपतिले गलत नीतिनिर्माण गर्न थाल्छ र वैधानिकता गुमाउँछ भने,त्यही स्थिरता अभिसाप बन्न सक्छ। राष्ट्रपतीय प्रणाली पछि गएर अधिनायकवादी प्रणालीमा बद्लिने खतरा बढी रहन्छ। कैयौं अध्येताहरुले पनि अध्ययनहरुबाट यसको पुष्टि गरेका छन्। 
प्रत्यक्ष निर्वाचित कार्यकारी रहने प्रणालीका केही फाइदा पनि छन्। यसमा कार्यकारी सिधै जनताबाट निर्वाचित हुने हुँदा ऊ जनताप्रति बढी उत्तरदायी हुनसक्छ। राजनीतिक र सामाजिक स्थायित्वको खोजी हँुदा प्रत्यक्ष निर्वाचित कार्यकारीको चाहना हुनु स्वाभाविकै पनि हो। तर राष्ट्रपतीय प्रणाली संसदीय प्रणालीभन्दा कम लचकदार र बढी जड हुन्छ। धेरै कुरा निर्वाचित कार्यकारीको व्यक्तित्वमा भर पर्न जान्छ। राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिहरु बदलिँदा सामञ्जस्यता मिलाउने क्षमता राष्ट्रपतीय प्रणालीमा कम हुन्छ। व्यक्तिकेन्द्रित राजनीतिले प्रश्रय पाउने हुँदा नेतृत्व विकास र सत्ता हस्तान्तरणमा पनि व्यक्तित्वको असर पर्छ। राष्ट्रपतीय प्रणालीमा सत्ता हस्तान्तरण गाह्रो परिस्थिति बनेर आउन सक्छ। राजनीतिमा जित्नेले सबै लैजाने खेल शुरु हुन्छ र निश्चित अवधिसम्म जितुवा र हरुवा कायम रहन्छन्। यसकारण चुनाव जित्नु र हार्नु ठुलो मुद्दा बन्छ र   त्यसको कारणले चुनावको बेलामा द्वन्द झन् बढी हुने सम्भावना  हुन्छ। राजनीतिक ध्रुवीकरण झन् बलियो हुन सक्छ। 
राष्ट्रपतीय प्रणालीमा शक्ति पृथकीकरण हुन्छ। त्यसले गर्दा राष्ट्रपतीय प्रणालीमा राष्ट्रपतिको दलले विधायिकामा बहुमत नहुँदा शक्ति सघर्ष चरम हुन्छ र मुलुक अन्तहीन गतिरोधमा फस्न सक्छ। राष्ट्रपतीय प्रणालीमा गठबन्धन सरकारहरु एकदम कम र भइहाले पनि अस्थिर हुन्छन् भने संसदीय प्रणालीमा बारम्बार गठबन्धनहरु बन्ने र भत्किने भए पनि विश्वसनीय हुन्छन्। राष्ट्रपतीय प्रणालीले संरचनागत कारणले राजनीतिक खेलाडीहरुबीच सहयोग प्रोत्साहित गर्दैन। अधिनायकवादको खतरा, नेतृत्व विकास र हस्तान्तरणमा समस्या द्वन्दको शान्तिपूर्ण रुपान्तरणको थोरै सम्भावना, राजनीतिक दलहरुको सीमित शक्ति, गतिरोधको सम्भावना, प्रतिपक्षको न्युन भूमिका प्रत्यक्ष निर्वाचित कार्यकारीका मुख्य समस्या हुन्। 
नेपालको सन्दर्भ 
लामो अधिनायकवादी परम्पराबाट गुज्रेको समाज र राष्ट्र«मा लोकतान्त्रिक रुपान्तरण सरल हुँदैन, संक्रमण अवश्य कष्टकर नै हुन्छ। सदियौँदेखि गुम्सिएर बसेका आवाजहरु लोकतान्त्रिक संक्रमणकै बेला मुखरित हुन थाल्छन्। मानिसहरु जागरुक र सचेत हँुदा द्वन्दहरु देखिन्छन्। संसदीय लोकतन्त्रले द्वन्दहरुलाई संस्थागत गर्दै प्रभावकारी र रचनात्मक ढंगले रुपान्तरण  गर्दै जान्छ। कहिलेकाँही राजनीतिक व्यवस्थाले थेग्न सक्ने भन्दा बढी द्वन्द उत्पन्न हुनु संसदीय लोकतन्त्रको कमजोरी हो। तर त्यस्ता द्वन्दलाई पनि संवोधन र समायोजन गर्दै संसदीय लोकतन्त्र अगाडि बढ्दो रहेछ।   यो प्रक्रिया लामो र पीडादायी हुनसक्ने हाम्रै लोकतान्त्रिक अभ्यासले पनि देखाएको छ। संसदीय लोकतान्त्रिक व्यवस्थामा अन्तरनिहित संरचागत  गुणहरुका कारण नेपालमा पनि एमाले , माओवादी र राजावादी सबै लोकतान्त्रिक मुलधारमा आइपुगेका छन्। 
संसदीय लोकतन्त्रलाई समाजवाद (साम्यवाद) मा पुग्ने भ¥याङको रुपमा प्रयोग गरेको भन्ने एमाले अहिले करिब पूर्णरुपमा लोकतान्त्रिक शक्ति बनेको छ। एमाओवादी पनि समयक्रममा यही मुलधारमा समाहित हुन वाध्य हुने छ।  त्यसैगरी जनजाति , दलित, मधेशी र भविश्यमा उठ्नसक्ने अरु पनि मागलाई लचकताका साथ संवोधन गर्दै र समेट्दै संसदीय लोकतन्त्र अगाडि बढ्न सक्छ। सायद प्रत्यक्ष निर्वाचित कार्यकारी भएको भए यी मागहरु यसरी सजिलै समेटिन्थेनन् कि? नेपालमा संसदीय लोकतन्त्रको अभ्यासको क्रममा देखिएका समस्या भनेको बारम्बार सरकार परिवर्तन हो, तर यो मुल्यमा सबै राजनीतिक दलहरु माओवादी, मधेशवादी र अरु पहिचानवादीलाई पनि संसदीय लोकतन्त्रको मुलधारमा ल्याउन सक्नु संसदीय लोकतन्त्रको सानो उपलब्धि मानिनु हुँदैन।
२०४६ सालपछि संसदीय लोकतन्त्रको निशर्त वकालत गर्ने नेपाली काँग्रेसमात्रै थियो तर अहिले अरु धेरै दलहरु प्नि यसको पक्षमा आइपुगेका छन्। संसदीय अभ्यासका क्रममा धेरैजसो दक्षिणपन्थी र वामपन्थीको प्रहारका कारण र संसदीय लोकतन्त्रको पक्षपातीमा भएको वैचारिक अस्पष्टता र अर्कमण्यताका कारण राजनीति अस्थीर देखियो, संक्रमणकाल धेरै लम्बियो। तर यही झोकमा सरकारका स्थिरताका लागि भनेर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानु हतारको निर्णय हुन सक्छ । हतारमा निर्णय गरेर फुर्सतमा पछुताउनुपर्ने स्थितिमा पुग्नु नपरोस् भन्ने कुरामा सचेत हुनु जरुरी छ।  त्यसमाथि , अहिले  मुलुक एकात्मक राज्यप्रणालीबाट संघात्मक प्रणालीमा जाँदै छ । यो शक्ति विकेन्द्रीकरणको अभ्यासका क्रममा थप केही संक्रमणकालीन जटिलताहरु अवश्य आउने छन् । त्यसलाई सामना गर्न पनि प्रत्यक्ष निर्वाचित कार्यकारी भन्दा संसदीय व्यवस्थाको लचकताका कारण त्यहाँबाट निर्वाचित कार्यकारी नै उपयुक्त व्यवस्था र पात्रहरु हुनेछन् भन्ने आशा गर्न सकिन्छ । 
केन्द्रीय व्यवस्थापिका प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्वका कारण र भविश्यमा वृद्धि हुनसक्ने क्षेत्रीय राजनीति र दलहरुका कारण सँधै कुनै दलको बहुमत प्राप्त नभएर ‘हङ पार्लियामेन्ट’ बन्न सक्छ । तर यसले गठबन्धन संस्कृतिको विकास गरेर सबै तह  तप्काका जनताको मागको सुनुवाई हुने वातावरण बन्न सक्छ । यसले लोकतन्त्रलाई कमजोर होइन थप, मजबुत र सबल बनाउँछ । बरु संसदीय लोकतन्त्रकै परिधिभित्र रहेर यसमा दीगो सरकार बनाउनतिर लाग्नुपर्छ । त्यसका लागि प्रावधानहरु संविधानको मस्यौदामा आइसकेका छन् । संसदीय लोकतन्त्रको सुन्दर र सबल पक्ष नै यही नै हो कि यसले यसको प्रयोगका क्रममा भएका कमजोरी सुधार गर्दै अघि बढ्न सक्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी भएको व्यवस्थामा व्यक्तिकेन्द्रित राजनीतिका कारण त्यो अवसर प्राप्त नहुन सक्छ । 
बारम्बार सरकार परिवर्तन हुनु र राजनीति यसैमा केन्द्रित हुनु नेपालको संसदीय अभ्यासका क्रममा देखिएका विकृतिहरु हुन् । यसका लागि संसदीय व्यवस्थामा स्थिर सरकारका लागि केही सुधारहरु गर्न सकिन्छ ।संसदीय लोकतन्त्रमा दीगो सरकार निर्माणका लागि केही  संवैधानिक प्रावधानहरु संविधानका मस्यौदामा राखिएका छन् । नेपालको सम्बिधानको मस्यौदा २०७२ मा एकपटक विश्वासको मत हासिल गरेको प्रधानमन्त्रीको विरुद्धमा २ बर्षभित्र अर्को अविश्वासको प्रस्ताव दर्ता गराउन नपाइने प्रावधान राखिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि वैकल्पिक प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने प्रावधान छ । एकपटक अविश्वासको प्रस्ताव पास नभएको खण्डमा उक्त प्रधानमन्त्रीको विरद्धमा एक बर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने प्रावधान छ । यसले संसदीय व्यवस्थामा हुने बारम्बारको सरकार परिवर्तनको खेललाई केही हदसम्म रोक्छ र संसदीय प्रणालीभित्रै कार्यपालिकालाई केही स्थिरता दिन्छ । यसरी विगतका गल्तिहरुबाट सिक्दै संस्थागत रुपमै स्थिर सरकारको खोजि पनि संसदीय लोकतन्त्रमा संभव छ । 
पाकिस्तान , श्रीलंका जस्ता देशहरुमा प्रत्यक्ष निर्वाचित शक्तिशाली कार्यकारी हँुदा द्वन्दहरु बढेको र लोकतन्त्र स्थीर रहन नसकेका उदाहरणहरु छन् । त्यस्तो बेलामा प्रत्यक्ष निर्वाचित कार्यकारीलाई हटाउन सेना गुहारिने  वा सेना अगाडि बढ्ने परिस्थिति पनि निर्माण हुन सक्छ । यसको कारण पाकिस्तानमा लोकतन्त्र अझै स्थीर हुन सकेको छैन । लामो अधिनायकवादी राजनीतिक संस्कार भएको ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी खतरनाक हुन सक्ने रसियाको उदाहरणले पनि पुष्टि गरेको छ । भ्लादिमीर पुटीन निर्वाचित नै भए पनि उनको शासनशैली धेरै हदसम्म अधिनायकवादी चरित्रको छ । श्रीलंकामा महिन्दा राजपाक्षे र त्यसअघिका प्रत्यक्ष निर्वाचित राष्ट्रपतिहरुमा पनि त्यस्तै अधिनायकवादी शैली देखियो । दक्षिण अमेरिकाका कतिपय मुलुकहरुमा राष्ट्रपतीय प्रणाली कतिपय अवस्थामा अधिनायकवादी चरित्र देखाएकाले अहिले राष्ट्रपति एक कार्यकालभन्दा बढी रहन नपाउने संवैधानिक प्रावधानहरु राखिएका छन् । 
नेपाल एकात्मकबाट संघीयतामा जाने र संसदीय लोकतन्त्रबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने दुवै  प्रयोग एकैचोटि गर्दा मुलुकमा थप जटिलताहरु उत्पन्न हुन सक्छन् । अव संघीय एकाइहरुले केन्द्रसँग थप माग उठाउने र मोलमोलाइ गर्ने परिस्थिति उत्पन्न हुनसक्छ । त्यसका लागि संसदीय  लोकतन्त्रको संसदबाट छानिएको लचकदार र जिम्मेवार सरकार प्रत्यक्ष निर्वाचित कार्यकारीको तुलनामा बढी जिम्मेवार र उत्तरदायी हुनसक्छ । हाम्रो विशिष्ट भू–राजनीतिक परिवेश , तरल र संक्रमणकालीन राजनीति ,विभिन्न घरेलु सामाजिक , राजनीतिक समुहहरुका  मागहरुलाई  समेट्दै लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन संसदीय प्रणालीनै  प्रभावकारी हुन्छ । यस क्रममा बहुदलीय लोकतान्त्रिक अभ्यास पनि परिपक्व हुँदै जान्छ । 
संसदीय लोकतन्त्रमा बारम्बार परिवर्तन भइरहने अस्थिर सरकारबाट मुक्ति पाउन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा जापान, इटाली र इजरायलमा बहसहरु भए । नेदरल्यान्ड र बेलायतमा समेत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका बहसहरु चले । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री केही समय इजरायलमा अभ्यासमा आयो तर त्यहाँ असफल भयो । प्रधानमन्त्री संसदप्रति मनैदेखि पूर्णरुपमा उत्तरदायी हुन नसक्ने र त्यस्तो प्रधानमन्त्रीलाई महाअभियोगमात्र लगाएर हटाउन सकिने हुँदा व्यवस्थापिकामा प्रधानमन्त्रीको दलको बहुमत नभएको खण्डमा कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोध झन् गहिरो बन्न सक्छ । इजरायलमा यो प्रणाली असफल भएकोले संसारको अरु कुनै मुलुकमा यो प्रचलन नरहेकोले नेपालले यस्तो संवेदनशील घडीमा यो प्रयोग झेल्न सक्दैन। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग यसकारण अहिलेलाई  नेपालमा प्रयोगमा ल्याउन कठीन छ । 
फ्रान्स लगायत अन्य केही मुलुकहरुमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट चुनिएको प्रधानमन्त्री बीच कार्यकारी अधिकार संवैधानिक प्रावधान अनुसार विभाजन गरिएको हुन्छ। यसलाई अर्धराष्ट्रपतीय पद्धति भनिन्छ।  यस्तो व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्तिसन्तुलन कायम भएर शासनव्यवस्था पारदर्शी र लोकतन्त्र जनमुखी हुने विश्वास छ। तर यो विकल्पको बारेमा अहिले नेपालमा बहस नचलेकोले यसको बारेमा यहाँ छलफल गर्न आवश्यकता अहिलेलाई महशुस भएन। 
बहुदलीय प्रतिष्पर्धामा विश्वास गर्ने दल भएकाले पनि दल र लोकतान्त्रिक संरचनाहरुलाई कमजोर पार्ने र व्यक्तिकेन्द्रीत राजनीतिलाई  बढावा दिने प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा काँग्रेसले वकालत गर्न सक्दैन। क्षणिक रुपमा स्थीर सरकार दिएपनि दीर्घकालमा काँग्रेसका लागि र बहुदलीय प्रतिष्पर्धामा आधारित लोकतन्त्रमा विश्वास गर्ने अरु पनि राजनीतिक दलहरुका लागि यो आत्मघाती कदम प्रमाणित हुनसक्छ। समाचारमाध्यमहरुमा आए अनुसार एमाले र एमाओवादीले अहिलेलाई प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा अडान नलिने भनेपछि अहिलेलाई नेपाल यो खतराबाट जोगिएको छ। 
हुन त लोकतान्त्रिक संस्कार र अनुशासन नहुने हो भने कुनै पनि राजनीतिक प्रणालीले राम्रोसँग काम गर्न सक्तैन र जनजीविकाका सवालहरुलाई सम्वोधन पनि गर्न सक्तैन। तर अधिकांश अध्येताहरुले (अमेरिकाकै पनि) के स्वीकार गरेका छन् भने संयुक्त राज्य अमेरिका राष्ट्र«पतीय प्रणालीको थोरै मध्ये पर्ने सफल लोकतान्त्रिक अभ्यास भएको मुलुक हो। लामो लोकतान्त्रिक अभ्यास , लोकतान्त्रिक जीवनशैली र आचरण ,शिक्षित र कर्मशील जनता , विकासका कारण राष्ट्रपतीय प्रणाली अमेरिकामा सफल भएको हो। अन्यत्र र लोकतान्त्रिक संक्रमणकालमा रहेका मुलुकहरुमा भने संसदीय लोकतन्त्र नै प्रभावकारी हुनेमा प्रायः अध्येताहरु (अमेरिकीहरु पनि) सहमत देखिन्छन्। अहिले नेपालको लागि पनि उत्तम विकल्प यही हो। 

-नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलसँग सहलेखन । सोमबार १८ साउन २०७२ (३ अगस्ट २०१५) मा सेतोपाटीमा प्रकाशित । 

Sunday, July 8, 2018

मधेस, मुद्दा र मर्का

मधेस, मुद्दा र मर्का

शिवप्रसाद तिवारी 

Image result for शिवप्रसाद तिवारी

म पहाडीया जैसी बाहुन पुरूष हुँ। सामान्य किसानको परिवारबाट आएको र जीवनमा संघर्षबाट स्थापित हुन धेरै समय र मेहनत लगानी गरेको ठान्ने साधारण मानिस हुँ। म मधेस, मधेसी समाज र राजनीतिको विशेषज्ञ पनि  होइन तर राजनीतिशास्त्रको विद्यार्थीका हैसियतले अहिले मधेसमा देखिएका समस्या र त्यहाँ उठाइएका विविध आवाजबारे सोचिरहेको र अध्ययन गरिरहेको हुन्छु।  
स–साना लाग्ने सामाजिक मुद्दाले कसरी राजनीतिक असन्तोष र विद्रोहलाई जन्म दिन्छन् र कायम राखिरहन्छन् भन्ने विषय मधेसको सन्दर्भमा यहाँ छलफल गर्न खोजेको छु। सामाजिक व्यवहार र अनुभवले मानिसको मनोविज्ञान र सामाजिक चेतलाई कसरी प्रभावित गर्छ र राजनीतिक मुद्दा निर्माणमा कसरी भूमिका खेल्छ भन्ने विषयमा यस लेखमा छलफल गर्नेछु। त्यसका लागि व्यक्तिगत अनुभव र लेखकलाई थाहा भएका राजनीतिक र सामाजिक सिद्धान्तहरूको सरल तरिकाले उपयोग गरेको छु। 
अहिले मधेसमा नेपाली राष्ट्र र राष्ट्रियता विरूद्ध आवाज उठ्न थालेका छन्। यसैले मधेसको बारेमा छलफल गर्नु अहिलेको सन्दर्भमा बाञ्छनीय देखिन्छ।  
नेपाली राज्यले मधेसीहरूप्रति गर्ने विभेदपूर्ण व्यवहारले  सम्भवत: राजाहरूको एकतन्त्रीय  शासनकालमा खासगरी पञ्चायतकालभरि बढी व्यापकता पायो। राजनीति हुँदै यो विभेदले सामाजिक रूप पनि ग्रहण गर्यो। त्यसैको फलस्वरूप मधेसीहरू नेपाली राज्य र समाजबाटै पनि क्षणक्षणमा  प्रताडित हुन पुगे। अहिले मधेसमा छिटपुट उठेको विखण्डनको मागलाई यसै सन्दर्भमा बुझ्नुपर्ने हुन्छ। यस्ता मागलाई बेलैमा बुझ्न र सम्बोधन गर्न (मधेसीहरूकै शब्दमा भन्नुपर्दा) पहाडे मानसिकतायुक्त नेपाली राज्य गम्भीर भएर लागेन भने यो भुसभित्रको आगो भित्रभित्रै फैलिएर अझै ठूलो विनाश निम्त्याउन पनि सक्ने अवस्थामा पुग्न सक्छ। 
मधेसीमाथिका विभेदहरू : केही उदाहरण
मधेसीले पहाडमा झेल्नु परेको विभेदका मैले देखेका केही उदाहरणहरू म प्रस्तुत गर्न चाहन्छु। यस्ता घटना हामी सबैले देख्दै आएका छौं। तीन-चार महिना अगाडि (२०७१ असोजतिर) कुरा हो। कान्तिपुर यातायात चढेर लाजिम्पाटबाट गोंगबु आउँदै थिएँ। महाराजगंज नारायण गोपाल चोकनिर आइपुगेपछि अकस्मात सडकमा मागेर बस्ने मधेसी-भारतीय जस्ता देखिने दुई बच्चा गाडीको अगाडि आइपुगे। मैले ड्राइभरलाई सजग गराएँ। ड्राइभरले ‘साला भेलेका बच्चाहरू कुन दिन मर्छन्’ भने। म केही समयदेखि नेपालमा पहाडिया र मधेसी बीचको दुरीबारे सोचिरहेको थिएँ। मधेसमा नेपाली राष्ट्र र राष्ट्रियतासमेत विरूद्धमा उठेका असन्तोषबारे सोच्दै गरेको बेला यो ‘भेलेका बच्चाहरू’ शब्दले मानसिकरूपमा केही बेर रन्थनिन पुगेँ। 
त्यस्तै करिब एक वर्ष अगाडि तिहारका बेलाको कुरा हो। म मेरो घर तनहुँबाट काठमाण्डौं आउने क्रममा मुग्लिनमा झरेर नवलपरासी माइतबाट त्यही दिनमा काठमाडौं आइरहेकी मेरी पत्नी र छोरालाई कुरेर बसिरहेको थिएँ। साथमा सानो छोरा भएकोले उनी र मैले मुग्लिनबाट सँगै जाने सल्लाह गरेका थियौँ,  त्यसका लागि म मुग्लिन प्रहरीको ढाँट नजिकै बस्ने र उनीहरू चढेर आएको गाडीमै चढेर काठमाडौं आउने कुरा थियो। ढाँटनिर एक ट्राफिक प्रहरी ड्युटीमा रहेछन्। तिनको ‘नेमप्लेट’ हेरेर थाहा पाएँ, अँग्रजीमा तिनको नाम आर. दर्जी  लेखिएको थियो। नेपालीमा भने पुरा नाम लेखिएको थियो जुन अहिले पनि मलाई याद छ तर यहाँ जानीजानी लेख्न चाहिनँ। म मुग्लिनमा ती प्रहरीसँग कुरा गरेर बसिरहेका बेला , एउटा भारतीय ग्याँस ट्याङकर आयो। त्यो लामो सायद चौध चक्के ट्याङकर (त्यसका चक्का मैले गनिनँ, यहाँ अनुमानको भरमा लेखेको हुँ ) बाट त्यो गाडीका सहचालक झरेनन्। त्यहाँ गाडीको नम्बर दर्ता गराउनु पर्ने रहेछ तर भारतीय नम्बर प्लेट भएको त्यो गाडीको सहचालकले  गाडीभित्रैबाटै नम्बर भन्न खोजे। 
ट्राफिक प्रहरीले सहचालकलाई तल झर्न भने। सहचालकले हिन्दीमा भारतीय ट्याङकरका सहचालकले त्यस्तो गर्नु नपर्ने जिकिर गरेपछि ती ट्राफिक प्रहरी जंगिए र अन्टसन्ट जानी नजानी, कनीकुथी हिन्दीमा सहचालकलाई गाली गर्न थाले। त्यसपछि सहचालक झरेर नम्बर दर्ता गराए तर रीसको पारो चढी सकेका ट्राफिक प्रहरीले ट्याङकरको साइडलाइट लगायत अरू चिजहरू ठीक छ कि छैन भनेर निहुँ खोज्न थाले। केही कमजोरी पत्ता लगाएपछि ट्राफिक प्रहरीले उक्त ट्याङकरलाई ‘साइड’ लगाएर रोक्न र नजिकैबाट मेकानिक बोलाएर बनाउन भने। त्यो ट्याङकर छेउ लगाएर रोक्न लगाएपछि उनले मलाई भने – “हेर्नुस् न यी फोरमहरू कति ठूला कुरा गर्छन्? थाहा छ तपाइँलाई, यिनीहरूले यिनीहरूको आन्दोलन (सायद मधेस आन्दोलन होला) को बेला कम्ता दुःख दिएका थिएनन् हामीलाई ? त्यतिखेर म भैरहवा थिएँ  अहिले यहाँ आएर पनि ठूलो कुरा गर्छन् यिनीहरू।” यी ट्राफिक प्रहरीले भारतीय र ‘फोरम’ भनेर अपहेलना गरी बोलाइने गरिएका मधेसीहरूलाई एउटै नजरले हेर्दा रहेछन्। नेपाल राज्यको एउटा महत्वपूर्ण अंग प्रहरी प्रशासनका यी व्यक्ति पनि भारतीय र मधेसी नेपालीलाई एउटै नजरले हेर्दा रहेछन्। यो नेपाली पहाडिया समाजमा व्याप्त आम बुझाइ जस्तै हो भन्दा खासै फरक नपर्ला।
पाठकलाई थाहै होला दर्जी (परियार)हरू हाम्रो जातीय कुप्रथामा आफै पनि अत्यन्त विभेदबाट शताब्दीऔंदेखि प्रताडित  समूह हो। दर्जी (दमाई) लगायत अरू कथित पानी नचल्ने जातलाई गरिने विभेदकारी व्यवहारका प्रावधान हिन्दू धर्मशास्त्रमा नहोलान् तर धर्मशास्त्रको अर्थ लगाउने पण्डाहरूले जातीयतालाई सामाजिक, कानुनी र राजनीतिक रूपमै मान्यता दिलाए। कतिपय अवस्थामा जातीय आधारमा गरिने कार्यविभाजन राज्यसञ्चालनको अभिन्न र मार्गनिर्देशक दर्शन जस्तो बन्न पुग्यो। माओवादी नेता मातृका यादवले नेपाली राज्यको पहाडे र नेपालीभाषी चरित्रको बारेमा भनेका छन् –“पहाडका सीमान्तकृत, पिछडिएका वर्गका आममानिसले पनि मधेसीलाई मानवीय तरिकाले हेर्दैनन्।” 
उनले यसलाई नेपालको राष्ट्रनिर्माण प्रक्रियामा लिइएको मधेसी विरोधी र मधेसीलाई शंकाको भावनाले हेर्ने प्रवृत्तिले  सामाजिक रूप ग्रहण गरेको रूपमा अथ्र्याएका थिए। उनको यो विचारसँग खासै विमति राख्नुपर्ने कारण देखिँदैन। त्यसैले भारतीय र मधेसीप्रतिको गलत सोचका लागि ती ट्राफिक प्रहरीलाई व्यक्तिगत रूपमा दोषी देख्न म चाहन्न। 
समाजका नबुझेका, अशिक्षित र अर्धशिक्षित तप्कामा व्याप्त यो धारणा कतिपय शिक्षित, विद्वान र प्रबुद्ध भनिएका वर्गहरूमा पनि पाइन्छ। एकपटक त्रिभुवन विश्वविद्यालयका कुनै एक विभागका एक लब्ध प्रतिष्ठित प्राध्यापकले पनि मधेसीलाई “धोती” भनेको मैले सुनेको छु।  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका एक जिम्मेवार नेताले आफ्नो संगठन भित्रका मधेसीहरूप्रति इंगित गर्दै ‘फोरमहरू’ भनेको थाहा पाएँ। मेरो गाउँको विद्यालयहरूमा पढाउन आउने मधेसी शिक्षकहरूलाई ‘धोती मास्टर’ भनेर बोलाउने गरिनु सामान्य नै मानिन्छ। 
सार्वजनिक यातायातहरूमा मधेसीहरूप्रति गरिने विभेद झन् प्रष्ट हुन्छ। गाडीका चालक सहचालकहरू प्रायः मधेसीहरूलाई (खासगरी गरीखाने वर्गकालाई) ‘भेले’वा ‘फोरम’भन्छन्। मधेसीहरूले गाडी रोक्न हात दिए भने “ऊ फोरमहरूले रोक्न खोजे , कहाँ जाने रैछ ,सोध त” भनेर प्रायः चालकहरूले सहचालकलाई अह्राउँछन्। प्रायः जसो खलासीहरू मधेसीहरूलाई ‘तिमी’ भनेर सम्बोधन गर्छन्, ती मधेसीहरू उमेरले बढी नै भए पनि। ‘उता जाऊ न भैया’, ‘अलि उता सर न भैया’ भनेर अपमान गरेको देख्छु। हुन त नेपाली व्याकरणका किताबहरूमा तिमीलाई आदरार्थी शब्द भनिन्छ तर आफूभन्दा उमेर धेरै भएका व्यक्तिहरूलाई तिमी भन्नु अपमान हो। खासगरी गरिब र गरिखाने  मधेसी र भारतीयहरू काठमाडौं लगायत पहाडमा यस्ता अपमानहरू पचाएर हिंड्ने गरेको देख्छु। आफूभन्दा ठूलो उमेरका लाग्ने पहाडियाहरूलाई भने खलासीहरूले ‘‘अलिक पछाडि सर्नुस् , एकतिरको मात्रै डन्डी समाएर उभिनुस् , खुट्टा उता सार्नुस्” जस्ता आदरभाव दर्शाउने शब्दहरू प्रयोग गर्छन्। 
स–साना बच्चाहरूले पनि काठमाडौंमा तरकारी र फलफूल बेच्ने, कपाल काट्ने र बोतल र कागज संकलन गर्ने मधेसी र भारतीयहरूलाई ‘तिमी’ भन्छन्। 'ए भैया एक किलो कागजको कति दिन्छौ ?' जस्ता अनादर जनाउने भावले कुरा गर्छन्। कहिलेकाहीं ठूलाठूला व्यापार गरेर बस्ने मधेसीहरूलाई पनि पहाडिया ग्राहकहरूले यस्तै अपमानजनक व्यवहार गरेको देख्न पाइन्छ। ‘यस्तो किन गरेको’ भनेर सोधियो भने कहिलेकाहीँ ‘भारतमा पनि नेपालीहरूलाई यस्तै गर्छन्’ भन्ने बनिबनाउ जवाफ पाइन्छ। 
भारतमा अपमानजनक व्यवहार भोगेर आएका कतिपय पहाडियाहरूले अब नेपालमा नेपाली मधेसी र भारतीयहरूमाथी बदला लिनुपर्छ भनेको पनि मैले सुनेको छु। यस्तो एकातिरको रीस अर्कोतिर पोख्ने ‘इमोसन डिस्प्लेसमेन्ट’का उदाहरणहरू पनि प्रशस्तै देखिन्छन्। नेपालमा ‘इमोसन डिस्प्लेसमेन्ट’का उदाहरणहरू अरू घटनाहरूमा पनि उजागर भैसकेका हुन्।  ऋतिक रोशन काण्डमा मधेसी र भारतीय व्यापारी र समुदायमाथि असुरक्षित वातावरण श्रृजना भएको थियो।  बाह्रजना  नेपालीहरू इराकमा मारिएपछि भदौ १६ काण्डमा नेपाली मुस्लिम समुदायमाथि र तिनका धर्मस्थलमाथि  त्यस्तै आक्रमणहरू भएका थिए। अर्काथरि मानिसहरू चाहिँ वहुमतबाट अल्पमतमाथि ‘हल्का’ थिचोमिचो गर्ने त जहाँ पनि हुन्छ र त्यसको बारेमा धेरै सोच्न हुँदैन भन्दै टकटकिन खोज्छन्। जे चलिआएको छ, चलिरहन्छ भन्ने उनीहरूको सोचाइ हुन्छ। सभ्य र शान्तिपूर्ण समाज निर्माणमा यस्ता सोचाइहरूले सहयोग गर्दैनन्। 
तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले एउटा अन्तर्वातामा भनेका छन् – “मधेसी भनेको कुनै एउटै समूह होइन, विविधतायुक्त समूह हो तर यो समूह समग्रमा पहाडियाहरूबाट सामाजिक रूपमा तिरस्कृत र अपमानित समूह हो र यसैले उनीहरूलाई एक बनाउँछ।” माओवादी नेता मातृका यादवले पनि अन्तर्वातामा भनेका छन् –“पहाडे राज्यले मात्र होइन, पहाडिया समाजका एकदम ‘तल्लो’ तहमा राखिएका  मानिसले पनि मधेसीलाई अपमानजनक व्यवहार गर्छन्।” सशस्त्र सर्घषमा होमिनु अगाडि स्वास्थ्य उपचारका सिलसिलामा जाँदा धरानमा उनी स्वयंले त्यस्तो भोगेको पनि उनले त्यो अन्तर्वार्तामा उल्लेख गरेका थिए। यसरी स–साना लाग्ने र दैनिक व्यवहारमा निरन्तर भैरहेका यस्ता घटनाहरूले मधेसीहरूलाई नेपाली भाषी समाज र त्यही मानसिकताबाट निर्देशित नेपाली राज्यका विरूद्ध एकजुट बन्न प्रेरित गरेको छ र मधेसवादी राजनीति गरिरहेकाहरूलाई निरन्तर मुद्दा मिलिरहेको छ। 
व्यक्तिगत रूपमा मलाई राम्रो लाग्ने मेरा एक रौतहटका  मधेसी  साथी छन् ठाकुर थरका।  दिल्लीमा साउथ एसियन युनिभर्सिटी पढ्दा चिनेको। व्यक्तिगत अन्तरक्रियाहरूमा उनी मलाई शालीन लाग्छन् र हामीसँग जस्तै विमति भएपनि सरल तरिकाले सम्मानपूर्वक आफ्ना तर्कहरू राख्छन्।  उनी अहिले आफूलाई स्वतन्त्र मधेसको पक्षपाति भन्ने सिके राउतको समूहका सक्रिय सदस्य छन्। हाम्रा विचार विमर्शहरूमा उनले उनी स्वयंले व्यक्तिगत रूपमा भोगेका विभेदका प्रसंगहरू र मधेसीहरूले खप्नुपरेको ताडनाबारे फेहरिस्त लगाउन पछि पर्दैनन्। एक्काईंसौं शताब्दीमा पनि यस्तो आफैलाई हराउने र दुःख दिइरहेका संरचनाहरूको किन हिस्सा बनिरहने भन्ने उनी तर्कना गर्छन्। राजनीतिक महत्वाकांक्षाका कारण उनले भन्ने सबै कुराहरू मलाई ठीक नलागे पनि उनी पूरै गलत हुन् भनेर भन्न म सक्तिन। मधेसीहरूलाई (अरू सीमान्तकृत र पिछडिएका वर्गहरूलाई पनि) सामाजिक र राजनीतिक रूपमा सम्मान गर्न सकिएन भने यस्ता पात्र र प्रवृत्ति जन्मिरहने छन्। 
मधेसीलाई पहिचानको मामलामा केही बुझाइहरू छन्। मधेसीलाई नेपालीका रूपमा नबुझ्ने र मधेसी स्वंयले पनि नेपाली र मधेसी फरक फरक हुन् भनी बुझ्ने गरेको उनीहरूले प्रयोग गर्ने भाषाहरूलाई सुक्ष्म अध्ययन गर्ने हो भने थाहा पाउन सकिन्छ।  गोंगबुमा म डेरा गरेर बस्दा मधेस आन्दोलनताका  एकजना सर्लाहीका कपाल काट्ने मधेसी भाइ भन्थे– “हेर्नुस् , नेपाली र मधेसी त भाइभाइ जस्तै हो र मिलेर बस्नुपर्छ।” यी सर्वसाधारण मधेसी नेपाली नागरिकले मधेसी र नेपाली पहिचान फरक रूपमा बुझेका रहेछन्। मेरो हालै सम्पन्न वीरगंज भ्रमणका बेला एकजना पहाडियामुलका तराइबासीले भने –“यो ललका पुलभन्दा तल (दक्षिणतिर) मधेसीहरू धेरै छन् र पुलभन्दा माथि (उत्तरतर्फ) हामी नेपालीहरू बढी छौं। यसरी यी सामान्य बोलीहरूमा पनि नेपाली र मधेसीलाई फरक फरक रूपमा बुझेका रहेछन् भन्ने देखिन्छ।  
अवको हाम्रो आवश्यकता भनेको मधेसी पनि नेपाली हुन् भन्ने फराकिलो आमबुझाइ श्रृजना गर्नु हो। संविधान र कानुनले समानताको प्रत्याभुति गर्लान्  तर सामाजिक र व्यवहारिकरूपमा पनि त्यो बुझाइ विकसित हुन जरूरी छ। प्रख्यात भारतीय राजनीतिक मनोविज्ञ र विद्धान  आशिष नन्दीले भने झैं “मानिसको मस्तिष्कबाट सुरू भएको कुनै प्रथा वा व्यवहार मानिसकै मस्तिष्कबाटै नहटेसम्म व्यवहारिकरूपमा अन्त्य हुन सक्दैन”।  मधेसीप्रति गरिने व्यवहारको सन्दर्भमा पनि संविधान र कानुनी रूपमा जेसुकै लेखिए पनि आममानिसको मस्तिष्कबाट पूर्वाग्रहपूर्ण सोचाइ नहटेसम्म व्यवहार पुरै बदलिन सक्दैन, जुन असम्भव त होइन तर सजिलो पक्कै छैन। 
सामाजिक विभेद,  संरचनागत हिंसा  र प्रतिहिंसा  
योहान ग्याल्टुङ नामका एक शान्ति र द्घन्दका विश्वविख्यात विद्घानले भनेका छन् – ‘मानिसहरूलाई  उनीहरूको क्षमता प्रर्दशन गर्न नदिनु ,तिनीहरूलाई स्वतन्त्रतापूर्वक हिंडडुल गर्न र व्यक्तिगत इच्छा आकांक्षाहरू पूरा हुन नदिन खडा गरिएका वा भएका भौतिक, सामाजिक, कानुनी, मनोवैज्ञानिक र राजनैतिक संरचनाहरूले पनि हिंसा गरिरहेका हुन्छन्।’ हिंसा भनेको प्रत्यक्ष शारीरिक हिंसामात्र बुझ्ने बुझाइ अब साघुँरो बुझाइ हुन पुगेको छ। माथि उल्लिखित संरचनागत हिंसाहरूले पनि समाजमा असन्तुष्टि, आवेग, पीडा, छटपटी, विद्रोह, दमन र अहमहरू पैदा गरिरहेकै हुन्छन्। हिंसाले कुनै न कुनै बेला, कुनै न कुनै रूपमा प्रतिहिंसा त जन्माइहाल्छ  नि ! त्यस्तो प्रतिहिंसा व्यक्तिगत, सामाजिक र राजनीतिक जुनसुकै रूपमा अभिव्यक्त हुनसक्छ। 
समाज जति शिक्षित र सभ्य हुँदै जान्छ, समाजले यस्ता स–साना लाग्ने तर गहिरा र अर्थपूर्ण कुराहरूमा विचार पुर्याउन थाल्छ। मानिसहरूबीचमा घोषित-अघोषित, जानी-नजानी , चाहेर-नचाहेर विभिन्न रूपमा विभेद गर्ने समाज र राष्ट्र कहिले पनि शान्त रहन सक्दैन, भलै मुर्दाशान्ति केही समय किन कायम नहोस्। तानाशाही शासन व्यवस्थामा सञ्चार माध्यमहरूको विकास राम्रोसँग नहुँदा, राज्यसत्तासँग मात्रै सञ्चारका माध्यमहरू हुँदा मानिसहर्रूको ‘विचारनिर्माण’ प्रक्रियामा नै हस्तक्षेप गरेर र डर त्रास देखाएर नियोजित सामाजिक र  राजनीतिक इन्जिनियरिङ गर्न सम्भव थियो होला, पञ्चायतकालमा जस्तै।  अब त्यस्तो उत्तर कोरिया, भुटान लगायत केही देशहरूमा सम्भव होला।  जनचेतनाका कारण र सञ्चारका माध्यमहरूको व्यापक विकासका कारण नेपाल लगायत अधिकांश विश्वका देशहरूमा यो सम्भव छैन। तर हाम्रो समाज र राजनीतिमा पुरानो सोचाइका अबशेषहरू बलियैसँग डेराडन्डा जमाएर बसेका छन् र त्यस्ता सोचाइहरू हाम्रा मस्तिष्कबाट हटिसकेका छैनन्।  
आशिष नन्दीले उत्तर–औपनिवेशिक भारतीय राज्य र सामाजिक संरचना पनि औपनिवेशिक पाराकै जस्तो रहेको सन्दर्भमा भनेका छन् – “औपनिवेशिकता मानिसहरूको मस्तिकमा छाप बनाएर सुरू भएकोले, मानिसको मस्तिकबाट हटेमात्रै यो सामाजिक रूपमा हट्न सम्भव छ , तर त्यसो भएको छैन, त्यसैकारणले आज पनि भारतीय राजनीति र समाजको औपनिवेशिक चरित्र अझै कायम छ।” त्यसैगरी जातीय कुप्रथा, मधेसीहरूप्रतिको विभेद र अन्य कुरीतिहरू कानुनी  रूपमा उन्मुलन भएका होलान्, तर मानिसहरूको मस्तिष्कमा बलियो छाप जमाएर बसेको छन्। त्यसैले त  जातीय, क्षेत्रीय, लैङ्गिक र अन्य आधारमा उत्पीडन भैरहेकै छन्।
मनोविज्ञहरूका अनुसार पीडा, विभेद भोग्नेलाई त यस्ता विभेदहरूले ठूलै मनोवैज्ञानिक र कतिपय अवस्थामा त शारीरिक पनि  क्षति पुर्याइरहेका हुन्छन्। यो अप्रत्यक्ष हिंसा नै हो। प्रायः मनोविज्ञहरू के कुरामा पनि सहमत देखिन्छन् भने विभेद पीडितहरू मात्रै होइन कि पीडकहरू स्वयंलाई पनि यस्ता विभेदजन्य व्यवहारले निकै मनोवैज्ञानिक क्षति पुर्याइरहेको हुन्छ। पीडकहरू जात, वर्ण, लिङ्ग, या अरू कुनै आधारमा आफूलाई अरूभन्दा श्रेष्ठ ठानेर अरू ‘तल्ला’ तहका मानिसलाई विभेद गर्न र पीडा दिन उद्यत हुन्छन् र त्यसलाई जायज ठान्छन्। त्यस्ता क्रियाकलापबाट ग्लानिवोध गर्दैनन्, त्यस्तो ग्लानिवोध गर्ने मनोवैज्ञानिक प्रक्रिया (सिस्टम) तिनीहरूमा विकसित नै भएको हुँदैन। यसरी आफूभित्रको अमानवीयतालाई बढावा दिँदै लैजान्छन् र आफूलाई एक अमानवीय र लङ्गडो व्यक्तित्व बनाउन पुग्छन्। यसर्थ विभेदको यो दुइधारे पत्तिले स्वयं विभेदकारीहरूलाई पनि काटिरहेको हुन्छ, कतिपय अवस्थामा उनीहरूले पनि थाहा नपाउने गरी। यसरी विभेदकारी र पीडादायी सामाजिक र मनोवैज्ञानिक संरचनाहरू खडा हुन्छन् जसले विभेद पीडित र विभेदकारी स्वयंलाई क्षति पुर्याइरहेको हुन्छ। पीडक र पीडितहरूमा ध्रूवीकृत समाज कसरी शान्तिपूर्ण रहन सक्छ र ? 
नागरिकताको सन्दर्भ र जटिलता
नेपाल र भारतबीचको खुला सीमा र सन् १९५० को सन्धीमा रहेको नेपाल र भारतका नागरिकलाई दुवै देशमा ‘नागरिक’सरहको व्यवहार गर्ने र अधिकार दिने प्रावधानले गर्दा कतिपय नेपालीले भारतमा गएर भारतीय नागरिकता लिएर बसेका होलान् र भारतीयहरूले नेपालमा आएर  नागरिकता लिएका होलान्। नेपाल र भारत दुबै देशका संविधानमा निश्चित समय मुलुकमा रहनेलाई प्रक्रिया पुर्याएर नागरिकता दिने प्रावधानहरू छन्। यसैको आधारमा कैयौं नेपालीहरूले भारतीय नागरिकता र भारतीयहरूले नेपाली नागरिकता लिएका होलान्। यही प्रावधानको दुरूपयोग गरेर धेरै नेपाली र भारतीयहरूले एकअर्को देशको नागरिकता लिएका छन्। यी समस्या सल्ट्याउन विशेष उपायहरू सृजना गर्न र अपनाउन सकिएलान्-सक्नुपर्छ। यस्ता सामाजिक र कानुनी छिद्रहरू भने टाल्ने कोसिस हुनैपर्छ।  
नेपालीहरू पनि भारतको कुनाकुनामा गएर बसोबास गरेका छन् र रासनकार्ड र मतदाता परिचयपत्र लिएका छन्। भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखिनै  दार्जिलिङ, सिक्कीम र महाकाली पश्चिममा रहेका  नेपाली भाषीबाहेक पनि कतिपय  नेपालीहरू भारत गएर घरजम र बन्दोबस्ती गरेर बसेका छन्। एउटा राष्ट्रिय दैनिकमा भर्खरै प्रकाशित समाचार अनुसार भारतमा रहेको नेपालीहरूको एक प्रवासी संगठनका कतिपय पदाधिकारी र सदस्यहरूले रासनकार्ड लिइसकेका रहेछन्। म दिल्लीमा पढ्न बस्दा दिल्लीमै पसल गरेर बसिरहेका एक राजस्थानका गुप्ताले भनेका थिए–“तुम भी रासनकार्ड चाहो तो बनासक्ते हो, आसान है” (तिमीपनि चाहान्छौ भने रासनकार्ड बनाउन सक्छौ, सजिलो छ ) मेरो गाऊँ केशवटार (तनहुँ)बाट भारतमा गएर लामो समय उतै बसेका मध्ये केहीले उतै घर बनाएर बसेको, रासनकार्ड लिएको मलाई थाहा छ। यसैगरी कैयौं भारतीयहरूले मधेसमा आएर नेपाली नागरिकता लिएका छन्। दुबै देशका नागरिक भएको आधिकारिक परिचयपत्र भएकाहरूको संख्या पनि धेरै  नै छ, यसलाई नर्कान मिल्दैन।  मानिसहरू व्यक्तिगत रूपमा के गर्दा सजिलो हुन्छ, त्यसै गर्छन्।
करिब १० बर्ष अगाडि जति हुनुपर्छ, म गोंगबुमा बस्दा काठमाडौंमा कुनै एउटा पाउरोटी कारखानामा काम गर्ने भारतीय मुस्लिमले मलाई रौतहटबाट नागरिकता बनाएको सुनाएका थिए। रौतहटमा उनका ससुराले छोरा भनेर नागरिकता बनाइदिएको उनले खुसीसाथ सुनाएका थिए। दार्जिलिङ, सिक्कीम, आसाम र भुटानबाट आएका कतिपय नेपालीभाषी भारतीय र भुटानीहरूले नेपाली नागरिकता बनाएका छन्। नेपालका निजी विद्यालयहरूमा पढाउँदा मेरा कतिपय त्यस्ता साथीहरू थिए। २०७१ सालको मंसिरमा एउटा अध्ययन भ्रमणको लागि वीरगंज जाँदा बारा जिल्ला पनि जाने अवसर जुरेको थियो। बाराको एउटा गाऊँमा पहाडीमूलका कुनै एक व्यक्तिले भनेका थिए – “एउटा हाँगा (व्यक्ति वा परिवार) यता (नेपालतिर) छ भने उताबाट (भारतबाट) पातहरू (व्यक्तिहरू) आएर नागरिकता त लिइहाल्छन् नि।” यो भनाइ नेपालबाट भारतमा गई त्यहींको नागरिक बन्नेहरूको हकमा पनि लागु हुन्छ। 
नेपाली शासकवर्ग यस्तो परिस्थिति उत्पन्न हुनसक्नेप्रति पञ्चायतकालदेखि नै त्रस्त थिए। नेपालीहरू भारतमा जाँदा सागरमा एउटा सानो नदी मिसिएको जस्तो खासै फरक नपर्ने तर भारतीयमुलका भनिएका मानिसहरूले  धमाधम नेपाली नागरिकता लिइदिए भने कतै नेपालको सामाजिक र राजनीतिक सन्तुलन अनि  नेपालको ‘राष्ट्रिय चरित्र’ खल्बलिने त होइन भन्ने डर उनीहरूमा थियो। त्यहीमाथि ‘बर्मा (हाल म्यानमार) र नेपाल’ लगायत देशहरूमा भारतीय मूलका भनिएका मानिसहरूमाथि विभेद, अन्याय र अत्याचार भएको भएको आवाज भारतीय संसदमा र पत्रपत्रिकामा उठ्न थालेपछि खासगरी पञ्चायतकालमा ‘एउटै भाषा एउटै भेष, एउटा राजा एउटै देश’मा विश्वास गर्ने पञ्चायती शासकहरू झस्कन पुगेका थिए र त्यसलाई त्यसबेलाको समय र परिस्थिति अनुसार स्वभाविक पनि मान्न सकिएला। राज्यका रूपमा नेपालले बरू भारतसँग सन् १९५० सन्धी पुनरावलोकन गर्ने, नागरिकता वितरणमा सावधानी अपनाउने गर्न सक्छ। यी कुराहरू लागू गर्न सजिलो छैन र नेपाली शासकले त्यो आँट गर्न सक्लान् जस्तो पनि देखिँदैन। यही विषयले पनि नेपालमा मधेस मुद्दालाई थप जटिल बनाइदिएको छ। 
मधेस जागरण र परिणाम  
अहिले मधेसमा एक किसिमको जागरण पैदा भएको छ। दोस्रो जनआन्दोलन पछि देशै जागेको बेला मधेसीहरू नजागिरहन के सक्थे र ? २०६३ को मधेस आन्दोलनपछि मधेसीहरू पहाडे मानसिकता बोकेको नेपाली राज्यले आफूहरूमाथि सदियौंदेखि गर्दै आएको विभेद र थिचोमिचोप्रति सचेत र सजग भएका छन्। त्यस मधेस आन्दोलनपछि सायद माओवादी सशस्त्र संघर्षको  ‘आंशिक सफलता’बाट प्रेरित भएर होला मधेसमा कैयौँ सशस्त्र समूह जन्मिए, “मधेसको अधिकारको लागि भन्दै, मधेसको स्वतन्त्रताको लागि भन्दै, मधेसमा नेपालको कथित औपनिवेशिक शासनको अन्त्यको लागि भन्दै।” मधेसका सशस्त्र समूहहरू अहिलेलाई धेरै नै निस्तेज भए पनि मधेसको हकहितका लागि लड्न भनेर , झण्डै दर्जनको संख्यामा मधेसवादी क्षेत्रीय दलहरू खुलेका छन्। नेपाल सद्भावना पार्टी त पहिले देखि नै थियो। मधेस आन्दोलनको परिणामस्वरूप उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम जन्म्यो। मधेस जागेको बेला मधेसको मुद्दालाई ‘क्यास’ गर्न तराई मधेस लोकतान्त्रिक पार्टी लगायत धेरै दलहरू खुले। राष्ट्रिय राजनीतिमा मूलधारको राजनीति गरेका दलहरूबाट महन्थ ठाकुर, विजयकुमार गच्छदार , शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला जस्ता व्यक्तिहरू मधेसको क्षेत्रीय राजनीतिमा हामफाल्न वाध्य भए। मधेस आन्दोलनको राप र तापले नेपाल संबैधानिक रूपमा पनि  संघीयतामा जान बाध्य भयो। रामवरण यादव र परमानन्द झा जस्ता मधेसीमूलका व्यक्तिहरू राष्ट्रपति र उपराष्ट्रपति बन्न पुगे।
सिङ्गो मधेसमा एक प्रदेश हुनुपर्ने असाध्यै असान्दर्भिक माग पनि उठ्न पुग्यो। यो माग किन असान्दर्भिक देखिन्छ भने एउटै भाषा र एउटै भेष लागु गरिएकोमा नेपालको राष्ट्रनिर्माण प्रक्रिया विभेदकारी थियो भन्नेहरूले बहुभाषी र बहुसांस्कृतिक मधेसमा सम्पर्क भाषाको रूपमा हिन्दी  राख्न चाहे। राजेन्द्र महतोले त राष्ट्रिय जनगणनाको बेला आफ्नो मातृभाषा हिन्दी लेखाउन मधेसीहरूलाई उर्दी नै जारी गरे। मधेस भित्रैका जातीय, लिङ्गीय, लगायतका विभेदहरूमा आँखा चिम्लिएर लगातार नेपाली राज्यले मधेस र मधेसीप्रति गरेको विभेदका विरूद्ध चर्का नाराहरू लगाइरहे र करिब ८०० कि. मि. लम्बाइ र २२-२५ कि. मि. जति चौडाइ भएको विचित्रको भुगोलमा एउटै मधेस प्रदेशमात्र माग गरे। हुन त  अधिकांश क्षेत्रीय दलका नेताहरू मधेसमा उच्चवर्गीय घरानाका व्यक्तिहरू र अवसरवादी राजनीतिका पर्याय बनेकाहरू छन् : तर मधेसीहरूले खप्नुपरेको सामाजिक विभेदले र यसले राज्यका अन्य अंगहरूमा पनि पारेको प्रभावका कारणले गर्दा मधेसवादी राजनीति गर्नेहरूलाई मुद्दाहरू मिलिरहेका छन् र मिलिरहने छन्। 
मधेस आन्दोलित हुँदा त्यहाँ पनि बदलाभावले पहाडीयाहरूप्रति अलि बढी नै दुव्र्यवहार र असुरक्षाको स्थिति पनि  उत्पन्न भएको रहेछ। मानिसहरूको व्यवहारमा क्रिया र प्रतिक्रिया बराबर हुन्छ भन्न पनि सकिंदैन। मानिसहरू आन्दोलित हुँदा भीडको मानसिकताले काम गर्दा प्रतिक्रियाहरू क्रियाहरू भन्दा कठोर हुनसक्छन्।   वीरगंजमा मधेस आन्दोलनका बेला कुनै पहाडियाको शिरको टोपी भुईंमा फालेर मधेसी आन्दोलनकर्ताहरूले कुल्चिदिए छन्  । पहाडियाहरू मधेस बहुल क्षेत्रहरूबाट आफ्ना घर जग्गा र अन्य जायजेथा धेरै कम मूल्यमा बेचेर उत्तरतर्फ पहाडीयाहरू बहुमत रहेको सिमरा, पथलैया, अमलेखगंज, हेटौँडातिर बसाईं सर्न बाध्य भएछन्। 
त्यहाँ काम गर्ने पहाडीया सरकारी र निजि संस्थाका कर्मचारीहरूलाई नामै किटेर मधेस छोड्न धम्की दिइएछ। मधेसी बहुल क्षेत्रबाट केही पहाडीयाहरू रातारात धपाइएर जंगलको बाटो हुँदै पहाडीया बहुल क्षेत्रमा पुगेर ज्यान जोगाउन सफल भएछन्।   त्यति हुँदा पनि त्यहीँ भित्रका केही मधेसीहरूले कैयौँ पहाडियाहरूलाई घरमा लुकाएर संरक्षण र सुरक्षा दिएछन्। पहाडीमूलका सञ्चारकर्मीहरूलाई विभिन्न चेतावनी दिइएछ र आफूले चाहेको समाचारहरू सम्प्रेषण गर्न बाध्य पारिएछ।  (अहिले भने मधेस आन्दोलनका बेला परल मूल्यभन्दा आधा कम रकममा घर जग्गा बेचेर हिँडेकाहरू पmर्किएमा त्यतिनै मूल्यमा फिर्ता दिन मधेसी क्रेताहरू तयार भएको कुरा पनि सुन्न पाइयो। पुरानो सद्भाव फर्किंदै रहेछ ) मधेसी राजनीतिक दलका नेताहरूले दिने गरेका मन्तव्यहरूमा पनि बदलाभाब अलिक बढीनै रहेको प्रतित भयो। महन्थ ठाकुरले मधेसले अव क्षतिपूर्तिको साँवा मात्र होइन ब्याज पनि माग्छ भनेर धम्क्याए, हृदयेश त्रिपाठीले राज्यपुर्नसंरचना गर्दा चितवन जिल्ला मधेसमा नपारिए मधेसले खोसेर पनि लिने बताए, मधेसवादी राजनीतिमा धेरै पछि  हाम फालेका शरदसिंह भण्डारीले सायद रक्षामन्त्री नै हुँदाहोला, भविश्यमा तराइका २२ जिल्ला नेपालमै नरहनसक्ने चेतावनी दिए। हिंसा र प्रतिहिंसाको (हिंसाको फराकिलो परिभाषा अनुसार) यो श्रृंखला अहिलेलाई भने केही मथ्थर भएको छ। 
सिक्नुपर्ने पाठ
देशहरू बन्ने र टुक्रिने क्रम अहिले पनि चलिरहेकै छन्। क्रिमियामा ‘प्रायोजित’ नै भनिएको भए पनि जनमतसंग्रहबाट क्रिमिया युक्रेनबाट टुक्रिएर रसियामा बिलय भएको घोषणा भयो। युगोस्लाभिया, चेकोस्लोभाकिया, सोभियत संघजस्तो शक्तिशाली राष्ट्र, सुडान, इन्डोनेसिया जस्ता राष्ट्रहरू टुक्रिएका धेरै भएको छैन। राजनीतिशास्त्रका बेत्ताहरूले राष्ट्रहरूको संख्या अझै बढ्ने भविश्यवाणी गरेका छन्। विश्वका देशहरूमा चलेका पहिचान केन्द्रित  आन्तरिक द्धन्दहरूका कारण मुलुकहरू टुक्रिएका उदाहरणहरू छन्।  
राष्ट्रियतालाई साँघुरो रूपमा परिभाषित गर्दा विभेदमा पारिएकाहरू असन्तुष्ट हुँदै जान्छन् र दीर्घकालमा वैकल्पिकबाटो खोज्नसक्छन्। राजनीतिशास्त्रका प्रख्यात विद्घान स्यामुअल हन्टिङटनले अब भविश्यका द्घन्दहरू सांस्कृतिक द्घन्दहरू हुने भविश्यवाणी गरेका छन्। उनले भविश्यवाणी गरे अनुरूप ठूलठूला संस्कृतिहरूका बीच द्धन्द हुने छाँट अहिलेलाई नदेखिएको भए पनि, उनले भनेझैं  संसारमा साक्षरता बढ्दै जाँदा, यातायातका र सञ्चारका साधनहरूको द्रूतदर विकास हुँदै जाँदा अनौठोरूपमा पहिचानको आधारमा द्घन्दहरू बढ्दै गैरहेका छन्। नेपालमा भने विश्वराजनीतिमा पराजित घोषणा गरिएको कम्युनिज्म र विश्वराजनीतिमा चर्किर्द गएको पहिचानको मुद्दा अनौठो रूपमा फ्युजन हुन पुग्यो माओवादी सशस्त्र युद्धका रूपमा र त्यसपछि पनि। यसले शताब्दीऔंदेखि सीमान्तकृत समुदायलाई सशक्तिकरण त गर्यो,  तर उनीहरूमा श्रृजित भएका असिमित आकांक्षाहरूको व्यवहारिक समाधान पत्ता लगाउने आर्थिक, राजनीतिक र वैचारिक सामथ्र्य हामीसँग नभएजस्तो देखिन्छ। विश्वव्यापीकरणको कारण पनि राष्ट्रहरू कमजोर बन्दै गैरहेका छन्। सानो र कमजोर अनि दुइटा शक्तिशाली राष्ट्रहरूका बीचमा हुँदा चर्चित नेपालविज्ञ अमेरिकी अध्येता लिओ रोजले भने झैँ राष्ट्रको रूपमा हाम्रालागि सँधै चुनौतीहरू थिए र अहिले पनि चुनौतीहरू थपिँदै र जटिल बन्दै गैरहेका छन्  । अहिले आन्तरिक रूपमा पनि हामी बिथोलिएको अवस्था छ। मधेसको मुद्दालाई सम्मानजनक रूपमा समाधान गर्न पहल नगर्ने हो भने भोलि नेपाली राष्ट्रियतालाई अरू अरू पहिचान समुहहरूले पनि चुनौती दिन सक्छन्। मधेस र मधेसीलाई नेपाल राष्ट्रले अहिलेसम्म निरन्तर मर्कामा पारेको थियो होला, अब गम्भीर भएर ज्ञानमा आधारित प्रभावकारी र व्यवहारिक  समाधान नखोज्ने हो भने मधेसले नेपाललाई मर्कामा पार्न सक्छ। त्यसका केही लक्षणहरू देखिइसकेका छन्, सचेत हुनु जरूरी छ। 
अन्त्यमा, 
काठमाडौले मधेसप्रति गरेको जस्तो व्यवहार सुदूरपश्चिमसँग, कर्णालीसँग, हिमाली क्षेत्रसँग, चेपाङहरूसँग, दलितहरूसँग र  अरू सीमान्तकृत समुदाय र वस्तीहरूसँग पनि गरेको छ। धेरैले  सराप्ने गरेका अनगिन्ती पहाडीया बाहुन पुरूषहरूपनि काठमाडौँको विभेदकारी व्यवहारबाट एक वा अर्को रूपमा मर्कामा परेका छन्  ।  गणतन्त्रसहितको पूर्ण लोकतन्त्र आएपछि पनि यसतर्फ काठमाडौँले सजिलै र धेरै ध्यान दिएको पाइँदैन।  काठमाडौँले यो कुरा बेलैमा बुझ्न जरूरी छ नत्र मर्कामा पर्ने पालो काठमाडौंको हुन सक्ने छ।  
–लेखक त्रिभुवन विश्वविद्यालयमा  अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति कार्यक्रम अन्तर्गत प्राध्यापनरत छन्।
-बिहीबार ७ फागुन २०७१ (१९ फेब्रुअरी २०१५)मा सेतोपाटीमा प्रकाशित 

Knowledge-based approach to Nepal’s foreign policy


Knowledge-based approach to Nepal’s foreign policy

105
Shiva Prasad Tiwari 
The primary goal of foreign policy is the protection and promotion of ‘national interests’. Its goal is to protect national sovereignty, independence and economic interests, and enhance national security and prestige in the international arena. A number of factors – both domestic and international – influence a country’s foreign policy.  Like other state policies, it is also shaped by geographical realities, history, cultural and political factors. Hence, foreign policy is sometimes called an extension of domestic politics. States identify their priorities and formulate the policy to achieve their goals. But Nepal sorely lacks this knowledge-based approach, without which we cannot formulate and implement our foreign policy.

Not surprisingly, we are not producing expert knowledge such as theories, models and paradigms that could be useful for countries like ours. I doubt if we have even developed realistic conceptual frameworks for our foreign policy formulation and implementation. Most of the studies have only produced ‘thick descriptions’, which is of limited use when it comes to understanding and developing a sound policy.
During the reigns of Rana oligarchy (846 to 1951) and monarchy (1951 to 1990), the domestic as well as foreign policies were tailored to the need of regime sustenance. The democratic governments after the regime change in 1990 were expected to adopt the knowledge-based approach and develop strong institutional structures. But that did not happen. Not that Nepalese foreign policy experts have not raised the issue. But they just put the blame on the political instability and protracted political transition for lack of this knowledge-based approach.
There were some initiatives in the past to shape and update the foreign policy. The Institute of Foreign Affairs (IFA) was set up in 1993 under the Ministry of Foreign Affairs (MOFA) and was revamped in 1998. The purpose of the Institute was to conduct policy research and training, and disseminate information through seminars and publications. Though IFA at present claims to be doing research on security, climate change and food security, it has hardly produced reliable and authentic knowledge. IFA is limited to publishing annual reports, speeches of heads of states and conducting a few seminars on foreign policy every year.
Similarly, university research centers don’t seem to be effective. Centre for Nepal and Asia Studies (CNAS) and Political Science Department under the state-owned Tribhuvan University are not in a position to contribute knowledge to foreign policy. The government has been unable to coordinate among scholars and experts to create knowledge. Non-governmental Organizations (NGOs), on the other hand, have only been producing books, journals and holding workshops just for the sake of showing their existence to donors. Some political analysts and foreign policy experts are making limited contributions to I/NGOs because of the sake of handsome payments.
Ministry of Foreign Affairs officials admit that they don’t have any mechanism for knowledge production. They hardly get inputs from IFA. CNAS and I/NGOs even don’t bother about giving inputs/feedbacks to the officials. The officials also argue that they don’t have any mechanism for inter-ministerial coordination because of lack of ‘funds’. It is however difficult to accept this argument. Government of Nepal has been spending billions of rupees for academic institutions like Tribhuvan University and many research centers. The foreign ministry itself has been spreading its presence in many parts of the world. The budget required for an institution would be equivalent to the funds Nepal government allocates for a couple of its embassies abroad.
One welcome development has however happened recently. Tribhuvan University has started Masters Program in International Relations and Diplomacy in 2013. It seems that this program has worked as a platform for many International Relations and foreign policy experts. If this department sets up research centers, it will be in a position to contribute to foreign policy formulation.
For a country like Nepal that occupies a sensitive geo-strategic location, a sound foreign policy is needed to protect its national sovereignty status. Nepal’s domestic politics is being shaped by external powers such as India, China and the US, among others. International Organizations like the UN, World Bank, International Monetary Fund (IMF), World Trade Organization (WTO) and many other international institutions have also played important roles in shaping policies of Nepal.
The emergence of India and China as ‘superpowers’ is likely to pose a challenge to Nepal’s sovereign status. These two states are not so friendly when it comes to cooperating on our economic development.
So, it is only the knowledge based pragmatic foreign policy that can ensure Nepal’s survival amidst the challenging domestic and international settings. For that, we must change the mindset that we can have a sound policy only after ending the political transition. As we cannot become a militarily power, it’s only the knowledge-based foreign policy approach that can ensure Nepal’s survival. So, it’s time we corrected our course to meet the new challenges.
Tiwari is a faculty member at Masters Program in International Relations and Diplomacy, Tribhuvan University 
Published in setopati.net on 25 November 2014. 

Sunday, June 3, 2018

वाम विजयपछि भारतका विकल्प

वाम विजयपछि भारतका विकल्प


शिवप्रसाद तिवारी


‘दि हिन्दु’ मा हालसालै प्रकाशित आलेखमा भारतीय अध्येता जोरावरदौलत सिंहले दक्षिण एसियामा भारतको भूमिका खुम्चिँदै गइरहेको विश्लेषण गरेका छन्। उनका अनुसार शीतयुद्धकालमा भारतले पाकिस्तान, श्रीलंका, बर्मा (हाल म्यानमार), नेपाल आदि मुलुकमा खासगरी प्रजातन्त्रवादीहरूलाई बल पुग्ने गरी बोल्न सक्थ्यो। भारतको सुरक्षालाई सहयोग पुग्ने गरी ती मुलुकहरूमा राजनीतिक पद्धति र सत्ता परिवर्तन गर्न र सरकारहरूलाई आफूअनुकूल व्यवहार गर्न प्रभावित गर्न सक्थ्यो।
तर शीतयुद्धपछि सन् २००० मा भारत लोकतन्त्रवादी मुलुकहरूको अन्तर्राष्ट्रिय समूह (कम्युनिटी अफ डेमोक्रेसिज) को सदस्य बनेको भए पनि नेपालबाहेक छिमेकका र अन्य राष्ट्रमा लोकतन्त्रको समर्थनमा बोल्न र हस्तक्षेप गर्न नसकेको सिंहले उल्लेख गरेका छन्। उक्त लेखको नेपाली अनुवाद अन्नपूर्ण पोस्ट्मा पनि प्रकाशित थियो। यस्ता विश्लेषण अन्य प्राज्ञहरूको पुस्तक र आलेखमा पनि पाइन्छन्। सिंहको लेखमा अपवादको रूपमा उदाहरण दिइएको नेपालमा समेत भारतको प्रभाव खुम्चिन लागेको जस्तो देखिएको छ, खासगरी वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अभूतपूर्व रूपमा विजय भएपछि। त्यसका केही कारण छन्।
मंसिर १० र २१ मा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रको ‘वामपन्थी (कम्युनिस्ट) गठबन्धनले दाबी गरे झैं उनीहरूको दुईतिहाइ बहुमत नआए पनि आरामदायी बहुमत आएको छ। प्रदेश सभाहरूमा पनि सातमध्ये ६ वटा प्रदेशहरूमा उक्त गठबन्धनको आरामदायी बहुमतसहित सरकार बनाउने प्रक्रिया सुरु भएको छ। प्रतिनिधिसभाको २७५ सिटमध्ये १७४ सिटमा र राष्ट्रियसभाका निर्वाचन हुने ५६ मध्ये ३९ सिटमा विजय हासिल गरेका छन्। समग्र नेपाल नै ‘लाल लाल’ भएको अवस्था छ। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन्। एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने अनुमानहरूलाई गलत सिद्ध गर्दै उनीहरू एकताको सँघारमा छन्।
वाम गठबन्धन र भारत : चिसिएको सम्बन्ध
संविधानसभाबाट ३ असोज २०७२ मा संविधान जारी हुने बेला र त्यसपछि जारी भएको संविधानविरुद्ध भारतले गरेको विरोध र हस्तक्षेपका कारण नेपालमा भारतविरोधी भावना उत्पन्न भएको थियो। भारतले संविधानको विरोध गर्दै मधेसकेन्द्रित दलको आन्दोलन र नाकाकेन्द्रित धर्नालाई नैतिक र अन्य किसिमका समर्थन गर्दै अघोषित नाकाबन्दी गर्‍यो।
घोषित नाकाबन्दी गर्दा अन्तर्राष्ट्रिय कानुनविरुद्ध हुने र अन्तर्राष्ट्रिय समुदायमा अलोकप्रिय भइने हुँदा उसले मधेसकेन्द्रित दलले गरेको नाकाकेन्द्रित धर्नाका कारण नेपालमा खाद्यान्न, इन्धन, औषधिलगायत अत्यावश्यक वस्तु पठाउन नसकिएको बताएको थियो। नेपालको संविधान अपूर्ण र समावेशी नरहेको भन्दै भारतको अल्पसंख्यकप्रति असहिष्णु भनेर बौद्धिक वर्गबाट आरोप लगाइने गरिएको हिन्दुवादी भारतीय जनता पार्टी नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको संविधानका विरुद्धमा जनमत जुटाउँदै हिँडेको थियो।
कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री छँदै सुरु भएको नाकाबन्दी प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भइसकेपछि पनि निरन्तर रहिरह्यो। त्यसैबीच संविधान जारी भइसकेपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन भारतले कोसिस गरेको आरोप एमालेले लगायो। त्यसअगाडि सम्म भारतका विश्वासिला मित्र मानिएका ओली विस्तारै भारतसँग टाढिन पुगे।
भूकम्पले थिलोथिलो भएको मुलुकमा संविधान जारी गर्ने जस्तो मुलुकको आन्तरिक र सार्वभौम अधिकारविरुद्ध भारतको अमानवीय नाकाबन्दीका कारण नेपालको पहाडमा भारतविरोधी भावना ह्वात्तै बढेर गयो। त्यसै पनि नेपालप्रतिको निरन्तरको हस्तक्षेपकारी व्यवहारका कारण भारतसँग बाक्लो सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध भए पनि खासगरी पहाडी क्षेत्रमा भारतविरोधी भावना व्याप्त छ। पञ्चायतकालमा भारतीय चुनौतीकै कारण नेपालको छुट्टै पहिचानका लागि पनि शासकहरूले भारतविरोधी भावनालाई बढावा दिएका थिए। ओली र उनको दल एमालेले पहाडमा व्याप्त त्यही भावना उपयोग गरे चुनावका बेला।
भारतको हस्तक्षेप र ठुल्दाइ प्रवृत्तिविरुद्ध बोल्न सक्ने दल र नेता बन्न पुगे, एमाले र त्यसका अध्यक्ष केपी ओली। एमाले राष्ट्रवादी दलको छवि बनाउन सफल भयो। यस्तो राष्ट्रवादी छवि स्थानीय मुद्दाहरूमा केन्द्रित हुनुपर्ने स्थानीय तहको निर्वाचनमा पनि प्रयोग भयो। प्रदेश २ बाहेक अन्य प्रदेशका स्थानीय तहका निर्वाचनमा एमाले सबैभन्दा धेरै स्थानमा विजयी भयो, कतिपय ठाउँमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भए पनि। असार १४ मा प्रदेश २ मा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भने मतको हिसाबले त्यति पछाडि नपरे पनि निर्वाचित प्रतिनिधिको संख्याको हिसाबले एमाले पाँचौं स्थानमा पुग्यो।
त्यसैको तोडमा र भारत आफ्नो विरोधमा लागेको थाहा पाएर माओवादी केन्द्रसँग प्रदेशसभा र प्रतिनिधिसभाका लागि गठबन्धन र पछि पार्टी एकता गर्ने निर्णयमा एमाले पुगेको देखिन्छ। त्यसबीचमा एमाले र त्यसका अध्यक्ष ओलीलाई मधेसविरोधी र पहिचानविरोधीका रूपमा प्रचार गरियो। मधेसकेन्द्रित दलको यस्तो प्रचारमा भारतको पनि सहयोग र समर्थन रहेको एमालेको बुझाइ गलत थिएन। त्यसैले ओली र एमाले भारतसँग चिढिए र चीनसँग नजिकिन पुगे।
ओली र एमालेलाई गठबन्धन र पार्टी एकताको प्रयासमा चिनियाँ सद्भाव, समर्थन र प्रोत्साहन रहेको आकलन गरिएको छ। भारतीय र केही पश्चिमा समाचारमाध्यम र विज्ञहरूले वामपन्थी गठबन्धन निर्माणमा चीनको महत्वपूर्ण भूमिका रहेको विश्लेषण गरेका छन्। चीन र वाम गठबन्धनले यसलाई खुला रूपमा स्वीकार नगरेका भए पनि परिस्थितिजन्य कारणले यी विश्लेषण गलत होइनन् भन्न सकिन्छ।
एमालेले स्थानीय तहको चुनावको घोषणापत्रमा समेत नेपाली राष्ट्रियताको पक्षमा र भारतविरोधी जस्ता देखिने बुँदाहरू राखेको थियो। घोषणापत्रको बुँदा नं १९ मा भनिएको छ, ‘पटक–पटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गरिनेछ। एमाले परनिर्भरताको अन्त्य गर्न स्पष्ट योजनाका साथ अगाडि बढ्नेछ। यसका लागि विगतमा चीनसँग गरिएका पारवहन र यातायात सम्झौता तथा रेलवे, सडक यातायात, पेट्रोलियम, ऊर्जा तथा सञ्चारसम्बन्धी समझदारीहरूको कार्यान्वयन गरिनेछ।’ त्यस्तै घोषणापत्रको बुँदा नं २३ मा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाइने उल्लेख छ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि वाम गठबन्धनको घोषणापत्रमा भारतसँगको दूरी बढेको देखाउने यस्ता धेरै बुँदा छन्। चीनप्रति सामीप्य देखाउने बुँदाहरू पनि घोषणापत्रमा छन्। ती बुँदामा कांग्रेसलाई भारत र विदेशी शक्तिपरस्त दलका रूपमा चित्रण गरिएको छ। एमाले र माओवादी केन्द्रका विगतका महाधिवेशनले पारित गरेका विधान र चुनावी घोषणापत्रमा विस्तारै हराउँदै गएको भारतविरोधी भावना अहिलेको घोषणापत्रमा पुनः देखिएका छन्। घोषणापत्रमा यस्ता आशयका धेरै बुँदामध्ये केही यस्ता छन् :
  • नेपालका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पहरेदार हुन्। त्यसकारण, नेपाली कम्युनिस्ट शक्तिहरू जनअधिकार र देशभक्तिको पर्याय बन्न पुगेका छन्।
  • छिमेकी तथा बाह्य मुलुकहरूसँग गरिएका सबै असमान र अपमानजनक सन्धिसम्झौताहरूलाई राष्ट्रिय हितअनुरूप प्रतिस्थापन गरिनेछ। समानता, पारस्परिक लाभ, सम्मानलगायतका पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताका आधारमा सबै देशसँग सुमधुर सम्बन्ध कायम गरिनेछ।
  • आगामी पाँच वर्षमा ...रसुवागढी–काठमाडौं–पोखरा– लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ।
  • भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गरिनेछ। सीमा समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिनेछ।
  • नेपालको राष्ट्रिय राजनीति आज मुख्यतया दुई प्रवृत्तिमा ध्रुवीकृत भएको छ। एउटा प्रवृत्तिले नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षपोषण गर्छ, नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई सम्पदाका रूपमा ग्रहण गर्दछ। ...अर्को प्रवृत्तिले अग्रगमनको यात्रा रोक्ने गरी दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरूलाई आफ्नो वरिपरि गोलबन्द गर्ने प्रयास गरिरहेको छ। यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रिय हित र स्वाभिमान कुण्ठित हुने गरी बाह्य शक्ति केन्द्रहरूको सल्लाह, परामर्श र आदेशलाई शिरोधार्य गर्नुपर्ने मान्यता राख्छ। यस प्रवृत्तिको प्रतिनिधित्व नेपाली कांग्रेसले गरिरहेको छ।
यसरी वाम गठबन्धनको घोषणापत्रमा भारतको हस्तक्षेप र भारतसँगको असमान सन्धिको विरोध गरिएका र उसको प्रभाव घटाउन खोजिएका धेरै विषय उल्लेख छन्।
रेलमार्ग : तीर एक सिकार अनेक
चीनबाट ल्याउने भनिएको रेलमार्गलाई काठमाडौं हुँदै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुर्‍याउने उल्लेख छ। यो रेलमार्ग चीनको महŒवाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ नामक रणनीतिक परियोजनाको एक हिस्सा हो। यसले नेपालमा चीनको प्रभाव पनि बढाउनेछ भारतको प्रभावको मूल्यमा। नेपाललाई आफ्नो प्रभावमा राखिरहन प्रयोग गरिएका प्रभाव क्षेत्र, आफ्नो सुरक्षा प्रणालीभित्रको मुलुक र हिमालयलाई आफ्नो प्राकृतिक सुरक्षा पर्खाल मान्ने भारतीय मान्यतालाई यो रेलमार्ग बनेको खण्डमा एकैसाथ प्रहार हुनेछ। लुम्बिनीजस्तो विश्वकै सांस्कृतिक महत्वको स्थलमा रेल पुर्‍याएर विश्वको ध्यान आफूतिर खिच्ने चिनियाँ रणनीतिमा भारतको अनियन्त्रित हस्तक्षेपका कारण नेपालका राजनीतिक दल, बौद्धिक वर्ग र जनताले पनि सहयोग गर्न सक्ने सम्भावना छ।
सिंगो नेपालभर प्रभाव पार्न नसकेपछि तराइलाई ‘बफ्फरभित्रको बफ्फर’ भन्दै आइरहेको थियो भारत। भारतीय सुरक्षालाई प्रतिकूल असर पार्न सक्ने र बाह्य शक्तिहरूलाई त्यहाँ उपस्थित हुन दिन नहुने भारतीय मान्यतालाई लुम्बिनीमा चिनियाँ रेलको प्रवेशले ठूलो प्रश्नचिह्न उठाउनेछ। चीनले यति पक्कै बुझेको छ। वाम गठबन्धनले पनि यो रेलमार्गलाई उच्च प्राथमिकतामा राखेको छ। यो सम्भवतः संयोग मात्र होइन।
चीनको चासो
अमेरिकाले सन् २०१७ डिसेम्बरमा सार्वजनिक गरेको सुरक्षा रणनीतिमा चीनलाई रणनीतिक प्रतिस्पर्धी मात्रै भनिएको छैन, अमेरिकाको समृद्धि र रुचिमा चुनौतीका रूपमा चित्रित गरिएको छ। चीनको आर्थिक र सैनिक उदय पश्चिमाहरूलाई र भारतलाई पनि चासो र चिन्ताको विषय भएको छ। भारत र चीनबीच सन् १९६२ मा सीमायुद्ध भएको थियो। त्यसयता उनीहरूबीच सीमा सम्झौता भएको छैन। सन् २०१७ को जुनदेखि अगस्तसम्म चलेको डोक्लाम विवादले यी दुई मुलुकबीच व्यापार र अन्तरनिर्भरता बढ्दै गइरहेको भए पनि सीमा विवादका कारण वैमनस्य रहिरहेको देखाउँछ। त्यहीमाथि हालैका वर्षहरूमा अमेरिका र अन्य पश्चिमा मुलुकसँग भारतको आणविक कार्यक्रमलगायतका विषयमा रणनीतिक सहकार्य वृद्धि भइरहेको छ। यस्ता सहकार्य चीनलाई सन्तुलनमा राख्न भएको चिनियाँ बुझाइ छ।
विश्व राजनीतिको चेसबोर्डमा नेपाल महत्वपूर्ण स्थानमा आइपुगेको छ। नेपाली भूमिलाई पश्चिमा शक्ति र भारतले आआफ्नै रुचिमा भए पनि मिलेर प्रयोग गर्न सक्छन् भन्ने विषयमा चीन सचेत छ। चीनलाई सन्तुलनमा राख्ने अमेरिका र युरोपका राष्ट्रहरूको ‘कन्टेनमेन्ट पोलिसी’ मा नेपालको भूमि पनि प्रयोग भएको जानकारी पाएर होला अहिलेसम्म नरम देखिएको नेपालको उत्तरी छिमेकी आक्रामक रूपमा आइरहेको छ।
बढ्दो आर्थिक र सैनिक शक्तिका कारण चीन नेपालमा आफूअनुकूलको शासन पद्धति र सरकार स्थापना गर्न लागेको हो भने अहिलेसम्म भारतको हस्तक्षेप बेहोर्दै आएको नेपालको लागि दुर्भाग्यपूर्ण हुनेछ। नेपालका प्राज्ञ र वरिष्ठ पत्रकारहरूले चीन नेपालमा पश्चिमाहरूको गतिविधिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीका कारण खासगरी राजतन्त्रको अन्त्यपछि गम्भीर ढंगले आइरहेको बताएका छन्। भारतले झैं चीनले पनि नेपालभित्रका विभिन्न शक्तिकेन्द्रहरूसँग छुट्टाछुट्टै सम्बन्ध कायम राख्न थालेको छ। नेपाली भूमिबाट चीनलाई सुरक्षामा कुनै खतरा छैन भनेर आश्वस्त तुल्याउन नसक्नु नेपालको गम्भीर कमजोरी हो।
बूढीगण्डकी ठेक्का जस्ता प्रकरणले पनि चीन र वाम गठबन्धनबीच नजिकको सम्बन्ध भएको पुष्टि गर्छ। यसरी भारतसँग चिढिएको र चीनसँग नजिक देखिएको वाम गठबन्धन अभूतपूर्व रूपमा विजयी भएर नेपालमा सरकार बनाउने भएपछि चीन खुसी हुनु स्वाभाविकै हो। प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा तिब्बतका निर्वासित सरकारका प्रधानमन्त्रीसँग एउटै कार्यक्रममा उपस्थित भएपछि चीन कांग्रेससँग चिढिएको चर्चा चलेको थियो। सम्भवतः देउवाले जानीजानी यस्तो गरेका थिएनन् होला तर चीनले संवेदनशील मान्ने यस्तो विषयमा उनी सचेत हुनैपर्थ्यो।
नेपालमा चीनमैत्री सरकार हुने हो भने विभिन्न शक्तिकेन्द्रहरूका चीनविरोधी क्रियाकलाप रोक्न सकिने उसको बुझाइ हुनसक्छ। चिनियाँ सरकारले खुला रूपमा नभने पनि ग्लोबल टाइम्सलगायत पत्रिका र त्यहाँका विज्ञहरूको भनाइ सुन्ने हो भने चीनको यस्तो धारणा बुझ्न सकिन्छ। त्यसमाथि पछिल्ला वर्षहरूमा नेपालका प्राज्ञ, प्राध्यापक, पत्रकार र विचार निर्माणमा प्रभावशाली हुनसक्ने ठूलो तप्कासँग ‘सहकार्य गर्न’ र उनीहरूलाई प्रभाव पार्न चीन सफल भएको छ। भूराजनीतिक र आर्थिक कारणले चीन नेपालका लागि भारतको विकल्प बन्न सम्भवतः कहिल्यै पनि सक्तैन तर नेपालमा प्रभाव पार्ने हिसाबले चीन आइसकेको पछिल्ला क्रियाकलापहरूले पुष्टि गर्छन्।
विगतमा चीन नेपालको विशिष्ट भूराजनीति र त्यसका कारण सृजित आर्थिक सम्बन्धले नेपालमा भारतलाई चुनौती दिन चाहिरहेको थिएन। चीनले सधैं नेपाललाई भारतसँग राम्रो सम्बन्ध राख्न सुझाव दिँदै आएको थियो र आफू नेपालमा भारतको विकल्प बन्न नसक्ने बताउँदै आएको थियो। अहिले अवस्था फेरिएको छ। नेपालमा मात्र नभएर चीनले समग्र विश्वराजनीतिक संरचनामा आफ्नो हिस्सा खोज्न थालेको छ। हालैका वर्षमा खासगरी सी जिनपिङले चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको नेतृत्व सम्हालेपछि यस्तो प्रवृत्ति देखिएको हो। चीनको बढ्दै गइरहेको अर्थतन्त्रले उसलाई यसतर्फ हौस्याएको छ।
उदाहरणका लागि, हालैको मालदिभ्स प्रकरणलाई लिन सकिन्छ। राजनीतिक उथलपुथलबीच मालदिभ्सका विपक्षी नेता मोहम्मद नासिदले भारतलाई सन् १९८७ को अपरेसन क्याक्टसमा झैं सैनिक हस्तक्षेप गर्न आग्रह गरे। भारतमा यसबारेमा सैनिक अधिकारी, प्राज्ञ र राजनीतिज्ञबीच बहस चल्न थालेपछि चीनको ग्लोबल टाइम्सले भारतलाई लक्षित गर्दै ‘विदेशी’ शक्तिहरूलाई मालदिभ्सको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै सम्पादकीय लेखेको छ। चीन अहिले मालदिभ्समा रणनीतिक महत्वका विभिन्न पूर्वाधार निर्माण आयोजनाहरूमा संलग्न छ।
नेपालमा भारतको प्रभाव
भारत नेपालको आन्तरिक राजनीतिमा इतिहासदेखि नै महत्वपूर्ण हिस्सा बन्दै आएको छ। बेलायतको उपनिवेश कायम हुँदादेखि नै नेपालमा भारतको प्रभाव थियो। सुगौली सन्धिपछि पहाडी क्षेत्रमा बलियो बन्दै गरेको नेपालको शक्ति र रवाफ खुम्चिएको थियो। त्यसैबेलादेखि नेपालमा भारतीय शासकको दबदबा सुरु भएको थियो। राणाशासनका बेला सन् १९२३ मा भएको शान्ति तथा मैत्री सन्धिले नेपालको सार्वभौमसत्ता स्वीकार गरेको भए पनि नेपाललाई भारतमा शासन गरेको बेलायतको प्रभाव क्षेत्रको मुलुकको रूपमा खुम्च्याएको थियो।
सन् १९४७ मा स्वतन्त्र भएपछि पनि भारतले भूराजनीतिक र सुरक्षाका कारणले भन्दै नेपालमाथिको बेलायतकालीन भूराजनीतिक दृष्टिकोण र तिनमा आधारित नेपाल नीतिलाई निरन्तरता दिएको थियो। उक्त भूराजनीतिक दृष्टिकोणले नेपाललाई भारतको प्रभाव क्षेत्र र भारतीय सुरक्षा प्रणालीको एउटा भाग मान्छ। नेपाललाई भारत र चीनजस्ता ठूला मुलुकहरूबीचको बफ्फर ठान्छ। तदनुरूप नेपालका हिमालहरूलाई भारतीय सुरक्षा प्रणालीका पनि प्राकृतिक पर्खाल मान्छ। नेपालप्रतिको यस्तो अवधारणाका कारण भारत नेपालका हरेकजसो विकासक्रमलाई भारतीय सुरक्षाको साँघुरो दृष्टिकोणले हेर्छ र नेपालको आन्तरिक राजनीतिलाई उसको अनुकूल हुने गरी प्रभावित पार्न खोज्छ। भारतको यस्तो दृष्टिकोण नेपालको सार्वभौमसत्ताप्रति असंवेदनशील देखिन्छ।
यस्तै अवधारणाको जगमा भारत नेपालको आन्तरिक राजनीतिक विकासक्रममा पनि प्रभावशाली रहँदै आएको छ। २००७ मा प्रजातन्त्रका लागि आन्दोलन, त्यसपछि भएको तत्कालीन राणाशासक, राजा र कांग्रेसबीच भएको त्रिपक्षीय दिल्ली सम्झौता र २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा भारतको महत्वपूर्ण भूमिका थियो। दसबर्से माओवादी सशस्त्र विद्रोहका बेला र त्यसपछि माओवादी र त्यसबेलाका मूलधारका सात दलबीचको सहमतिमा पनि भारतको महत्वपूर्ण हात थियो। २०७२ असोजमा संविधान जारी गर्ने क्रममा आफूलाई भूमिका नदिइएको ठानेर नै त्यसको सशक्त र निरन्तर विरोध गरेको थियो।
नेपालका हालै सम्पन्न निर्वाचनमा उसले नरुचाएको वाम गठबन्धनको विजयले भारत नराम्रोसँग झस्किएको हुनुपर्छ। उसले प्रभाव क्षेत्र र सुरक्षा प्रणालीभित्र मानेको र पानी, व्यापारलगायत विभिन्न रणनीतिक रुचिहरू भएको नेपालमा वाम गठबन्धनको अब बन्ने सरकारले भारतीय प्रभावलाई कमजोर बनाउँदै चीनलाई बढी भूमिका दियो भने भारत नेपालमा २००७ सालपछि सबैभन्दा अप्ठेरो परिस्थितिमा हुनेछ। पञ्चायतकालमा नेपालको आन्तरिक राजनीतिमा भारतको प्रभाव कम थियो, भारतको इच्छाविपरीत नेपालले चीन र अरू राष्ट्रसँग सम्बन्ध स्थापित गरेको थियो र अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा सक्रिय थियो। तर पनि भारतको ‘सुरक्षा संवेदनशीलता’ प्रति नेपाल सदैव सचेत थियो।
तर अहिले वाम गठबन्धनको विजयपछि भूराजनीति र भूअर्थशास्त्र केही बदलिन सक्ने देखिएको छ। भारतले नरुचाएको र चीनसँग ढल्किने स्पष्ट संकेत देखाएको वाम गठबन्धनले नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अभूतपूर्व विजय हासिल गरेपछि। नेपाल भारतको प्रभावबाट टाढिएर चीनको प्रभाव बढ्नु २००७ सालअघिदेखि नै कायम रहेको भारतीय नीतिको पराजय हो। त्यसो हुन नदिन भारतले सकेसम्म प्रयास गर्ने निश्चितजस्तै छ। अहिलेको सन्दर्भमा त्यस्तो प्रयास असफल हुने सम्भावना पनि उत्तिकै छ।
नेपालमा कम्युनिस्टहरूको आरामदायी बहुमतसहितको सरकार बन्नु भारतलाई रणनीतिक दृष्टिकोणबाट विभिन्न कारणले प्रतिकूल हुनसक्छ। नेपालमा कम्युनिस्टहरूको प्रभाव बढ्दै जाँदा नेपालसँग सीमा जोडिएका भारतका मुख्य भूमि बिहार र उत्तरप्रदेशमा कम्युनिजमको प्रभाव फैलन सक्छ। त्यसैकारणले नेपालमा माओवादी सशस्त्र युद्ध हुँदा र त्यसपछि पनि माओवादी किसिमको अतिवादी कम्युनिजम ती प्रदेशहरूमा नफैलिओस् भनेर मधेसमा कम्युनिस्टहरूको प्रभाव भौतिक र राजनीतिक रूपमा फैलन नदिन भारतले सक्रिय भूमिका खेलेको थियो।
एमालेजस्तो लोकतन्त्रीकरण भइसकेको भनिएको पार्टीले राष्ट्रवाद र भारतविरोधी भावनाको नारा उग्ररूपमा उठाइदिँदा भारत उदेकमा परेको हुनुपर्छ। त्यसैले मधेसलाई कम्युनिस्टहरूको प्रभाव कम रहेको ‘बफ्फरभित्रको बफ्फर’ बनाउन लक्ष्य उसले राखेको थियो। प्रदेश २ को हकमा त्यस्तो सफलता केही हदसम्म हात लागेको भए पनि प्रदेश १, प्रदेश ५ र प्रदेश ७ का भारतसँग जोडिएका तराईका भूभागको हकमा भारतीय लक्ष्यले मूर्तरूप लिन पाएन।
शीतयुद्ध अन्त्यको केहीअघि फ्रान्सिस फुकुयामाले ‘दि इन्ड अफ हिस्ट्री’ लेखेर विश्वव्यापी रूपमा कम्युनिस्टहरूको पराजयको उद्घोष गरे। उदारवादी लोकतन्त्रले दोस्रो विश्वयुद्धताका नाजीवाद र फासीवाद अनि शीतयुद्धकालमा कम्युनिजम (साम्यवाद) लाई पराजय गरेपछि यसलाई विकल्पहीन विचार पद्धति ठहर्‍याइयो। नेपालमा कम्युनिस्टहरूको उदय विश्व कम्युनिस्ट आन्दोलनको अपवाद भएको छ। विश्वमा कम्युनिस्टहरू पराजित भइरहँदा नेपालमा उनीहरू एकपछि अर्को सफलता हात पारिरहेका छन्। नेपालमा कम्युनिस्टहरूको सफलताले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ योगदान गर्न सक्ने दाबी गरिन थालिएको छ।
भारतका विकल्प
अब बन्ने वाम गठबन्धनको सरकार भारतविराधी भावनालाई समेत क्यास गरेर विजयी भएको हुँदा भारतका लागि पञ्चायतकालीन सरकारभन्दा पनि अप्ठेरो हुन सक्नेछ। त्यसैले भारतले चुनावको प्रारम्भिक परिणामले नेपालमा वाम गठबन्धनको सरकार बन्ने देखिएपछि नेपालमा माओवादी केन्द्र, कांग्रेस र मधेसकेन्द्रित दलहरूको संयुक्त सरकार बनाउन प्रोत्साहित गर्न खोजेको समाचार आएको थियो। तर माओवादी केन्द्र उक्त गठबन्धनबाट बाहिर नआउने भएपछि उसले अहिले केपी ओलीसँग सहकार्य गर्ने तत्परता देखाएको छ।
यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुनावी प्रक्रिया पनि सकिइनसक्दै प्रधानमन्त्रीका सबैभन्दा सशक्त दाबेदार केपी ओलीलाई फोन गरेर बधाइ दिएका मात्र थिएनन्, भ्रमणको निम्तोसमेत दिइसकेका छन्। भारतकी विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणमा आएर केपी शर्मा ओली र पुष्पकमल दाहालसँग ‘वान टु वान’ वार्ता गरिसकेकी छिन्। चिसिएका सम्बन्ध सुधार्न अन्तर्राष्ट्रिय राजनीतिमा धेरैजसो कूटनीतिलाई पहिलो प्राथमिकतामा राखिन्छ। भारतले पनि त्यही गरिरहेको छ।
यी सबैको लक्ष्य नेपालमा भारतको प्रभाव नघटोस् भन्नेतर्फ लक्षित छ र नेपालमा भारतको मूल्यमा चीनको प्रभाव नबढोस् भन्ने पनि। नेपाल भारतको विदेश नीतिमा महत्वपूर्ण स्थान ओगट्ने मुलुक हो। पानी, व्यापार, सामाजिक र सांस्कृतिक कारण अनि क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति सम्प्रेषण (पावर प्रोजेक्सन) सवालमा भारतलाई जहिले पनि नेपाल महत्वपूर्ण हुन्छ।
तर नेपालको राजनीतिमा भारतका अरू धेरै अस्त्र पनि छन्। नेपालको आन्तरिक राजनीति प्रभावित गर्न भारतसँग मधेसमा स्वतन्त्रताका माग गर्ने शक्तिहरूलाई बढावा दिने, फेरि नाकाबन्दीलगायत नकारात्मक विधिहरू अपनाउने, सन्धिहरूको नवीकरण नभएको निहुँमा आर्थिक रूपमा अप्ठेरोमा पार्ने, नेपालमा उसको प्रभावमा रहेका दल र शक्तिहरूलाई उचाल्ने कोसिस गर्न सक्छ। अन्तिम परेका खण्डमा भारतका तीभन्दा अरू अस्त्र पनि होलान्।
अन्तर्राष्ट्रिय राजनीतिमा युद्धसम्मका अस्त्र हुन्छन्। तर भारत अहिले त्यस्तोतिर नलागेकै बेस हुन्छ। त्यस्ता विधिहरू भारतकै रुचिका लागि प्रत्युत्पादक हुने अघोषित नाकाबन्दी प्रकरणले देखाएका छन्। नेपालको संविधान निर्माणजस्तो आन्तरिक मामिलामा देखिने हस्तक्षेप गर्दा र नाकाबन्दी लगाउँदा उसले नेपालमा प्रभाव गुमाएको छ। सकेसम्म कूटनीतिक र सकारात्मक तरिकालाई प्राथमिकतामा राख्नु भारतकै रुचिको दृष्टिले पनि श्रेयस्कर हुन्छ।
उचित विकल्प
भारतको बौद्धिक वृत्तमा नेपालमा बढी हस्तक्षेपकारी भूमिका खोज्दा प्रभाव झन् घट्दै गएको विश्लेषण हुन थालेका छन्। त्यसैले नेपालको आन्तरिक राजनीतिको सूक्ष्म व्यवस्थापनमा लाग्नुभन्दा पनि आफ्ना एजेन्डाहरू पूरा गर्न सकारात्मक विधिहरू खोज्नुपर्ने बहसहरू हुन थालेका छन्। अरू त अरू नेपालमा राजतन्त्र अन्त्य गर्न र माओवादीलाई मूलधारमा ल्याउने क्रममा भएको बाह्रबुँदे सम्झौतामा सहयोगी भूमिका खेलेका कूटनीतिज्ञ श्याम शरणले पनि उनको हालै प्रकाशित चर्चित पुस्तक ‘हाउ इन्डिया सिज दि वर्ल्ड’ मा यस्तै धारणा व्यक्त गरेका छन्। नेपालमा वाम गठबन्धन बन्नु र चुनावमा विजयी हुनुअगाडि नै उक्त पुस्तक प्रकाशित भएको थियो।
वाम गठबन्धनका घटकहरूसँगको सम्बन्ध सुधारका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको काठमाडौं भ्रमणका सन्दर्भमा अन्नपूर्ण पोस्ट् दैनिकले आफ्नो सम्पादकीयमा भारतको नेपालसँगको सम्बन्ध बिगार्नमा भारतको औपनिवशेकालीन अवधारणाहरू जिम्मेवार रहेको ठहर गरेको थियो। सम्पादकीयमा भनिएको थियो, ‘नेपालको सार्वभौमसत्ताको सम्मान हुने गरी र नेपालमा समृद्धिलाई टेवा दिने गरी भारतको नेपाल नीतिका बारेमा नवीन र सृजनशील अवधारणाहरू आउनु आवश्यक छ।’
भारतलाई नेपाललगायत दक्षिण एसियाली मुलुकहरूका सन्दर्भमा उसको राष्ट्रिय हित संरक्षण हुने तर साना छिमेकीहरूको पनि सार्वभौमसत्ताको सम्मान गर्न सम्भव हुने नयाँ र सृजनशील अवधारणाहरूको जरुरी छ। भारतमा ज्ञान उत्पादनका लागि शक्तिशाली विश्वविद्यालय र थिंकट्यांकहरू छन् र अध्ययन–अनुसन्धानको संस्कृति भएकाले उसले त्यसो गर्न सम्भव पनि छ। भारतले यस्ता अवधारणा विकास गर्नु अत्यावश्यक भइसकेको छ। भारतको विरोधमा खुला रूपमा नउत्रेको भुटानमा समेत भारतको रबैयाका बारेमा असन्तुष्टिहरू सुनिन्छन्।
नेपालका वाम गठबन्धनका कम्युनिस्ट पार्टीहरूलाई थप चिढ्याउनुभन्दा उनीहरूसँग रचनात्मक सहकार्य गरेर असल नियतका साथ उनीहरूको थप लोकतन्त्रीकरण गर्न पनि भारतले सहयोग गर्नुपर्छ। नेपालका लोकतन्त्रवादी शक्तिहरूका अन्तरविरोधबीच खेल्नेभन्दा पनि उनीहरूका बीचमा सहकार्य र सद्भाव बढाउन भारतले उनीहरूमाथिको आफ्नो प्रभावको सकारात्मक प्रयोग गर्न सक्छ। लोकतान्त्रिक नेपालले नै भारतका सुरक्षालगायत अन्य रुचिलाई सम्बोधन गरिदिन सक्छ।



ट्विटरः @shivap566
-शनिबार, ५ फागुन २०७४ (१७ फेब्रुअरी २०१८) को अन्नपूर्ण पोस्ट्मा प्रकाशित