Thursday, May 23, 2024

सिरोहिया, नागरिकता र रविको द्वैधचरित्र

 सिरोहिया, नागरिकता र रविको द्वैधचरित्र  

शिवप्रसाद तिवारी 

कान्तिपुर पब्लिकेशन्सका प्रकाशक एवं अध्यक्ष कैलाश सिरोहियाको विरुद्ध नागरिकताका विषयमा  पक्राउ पुर्जी जारी भएपछि उनी पक्राउ समेत परिसकेका छन्।  नेपाली राजनीतिमा एक्कासी ठुलै स्थान बनाउन सफल भएका रवि लामिछाने नेपाली राजनीतिको पोखरीमा ठुलै छाल उत्पन्न गर्न सफल भएका छन्। धेरै मात्रामा व्यक्तिगत र निश्चित समूहको स्वार्थमा केन्द्रित नेपाली राजनीति र वस्तुगत तथ्यमा भन्दा पनि कवि भूपि शेरचनले भने झैं हल्लैहल्लामा बहकिने नेपाली समाजलाई नराम्ररी ध्रुवीकृत गर्न पनि लामिछाने  सफल भएका छन् । लोकप्रियतावादको बुइ चढेर सिरोहियाविरुद्ध जुन खाल्डो उनले खनेका छन्, उनी स्वयंकै नागरिकता र दोहोरो राहदानी सम्बन्धी विगतका कारण त्यही खाल्डोमा उनी आफै जाकिन सक्ने संभावना अब बढेर गएको छ। 

केही अगाडि कानुनी रुपमा अमेरिकाको नागरिक छँदै नेपाली नागरिकता र राहदानी प्रयोग गरेर नेपालमा अवैधानिक र गैह्रकानुनी रुपमा पेशा र व्यवसाय गरेको मात्र नभई राजनीतिमा हामफालेर उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत हुन उनी सफल भएका थिए। संवैधानिक र कानुनी रुपमा एउटा गैरनागरिक (पछि अदालतको आदेशबाट प्रमाणित भएको) नेपालको गृहमन्त्रीजस्तो संवेदनशील पदमा पुग्नु सामान्य विषय थिएन। त्यो नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दा पनि गम्भीर प्रकृतिको विषय हो।  तर नेपालमा जन्मिएका लाखौं व्यक्ति विदेशी मुलुकका नागरिकका रुपमा रहेका र उनीहरुले गैरआवासीय नेपाली नागरिकता माग गरिरहेका सन्दर्भमा रविको उक्त गम्भीर त्रुटिलाई नेपाली समाजले र उनैले भ्रष्ट भनेर लल्कारेका राजनीतिक दल र नेताले पनि क्षमा गरिदिए। उनको त्यो गम्भीर त्रुटिका कारण चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा पुनः निर्वाचन गनुप¥यो। लामिछानेकै शब्दमा भन्नुपर्दा यस्तो गम्भिर कानुनी त्रुटिमा पनि उनीबाट असावधानीवश हुन गएको भन्ठानेर नेपाली राज्य र समाजले उनीमाथि विराट ‘करुणा’ देखायो। यसो गर्नुमा नेपालको समाज, राजनीति र अर्थतन्त्रमा बलियो प्रभाव भएका गैरआवासीय नेपालीलाई नबिच्काउने हेतु पनि रहेको हुनसक्छ। रवि पुनः नेपाली नागरिकमात्र बनेनन् सांसद निर्वाचित भएर शक्तिशाली गृहमन्त्री पनि बन्न सफल भए।   यसरी हेर्दा रवि लामिछानेको सक्रिय पहलमा नागरिकता प्रकरणमा प्रकरणमा गिरफ्तार भएका कैलास सिरोहिया भन्दा उनी  धेरै पछि नेपाली नागरिक बनेका व्यक्ति हुन् । नेपाली नागरिकता पुनः प्राप्त गरेको गैरआवासीय नेपालीले राजनीतिक अधिकारप्राप्त गर्नुअघि केही समय परिक्षणकालको व्यवस्था गरिएको भए उनी सायद अहिले त्यस्तै ‘परिक्षण अवधि’मै हुन्थे होलान्। तर पुराना दलबाट आजित भएका जनतालाई आफ्नो वाकपटुताको कौशल देखाउँदै नेपाली समाजमा देखिएको लोकप्रियतावाद भजाएर नवनागरिक रवि लामिछाने पुनः सांसद निर्वाचित हुन सफल भए। 

कान्तिपुरले श्रृखंलाबद्ध रुपमा विभिन्न सहकारीबाट गैरकानुनी रुपमा रवि लामिछाने प्रवन्ध निर्देशकका रुपमा कार्यरत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएकोसमाचार प्रकाशित भएपछि सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको उन्माद बोकेका उनी क्रुद्ध छन्।  कान्तिपुरको प्रकाशनगृहका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध उनी प्रतिशोधमा उत्रिएको घामजस्तै छर्लङ्ग छ। त्यसको पहिलो कडीका रुपमा उनले उनी समर्थित एउटा अनलाइनबाट एकैचोटि कान्तिपुर र अन्नपूर्ण पोष्टका प्रकाशकलाई खुइल्याउने प्रयास गरे। जुन पछि गएर पत्रकार र मिडियाले श्रोतको पहिचाननै खुलाउने विसगंतिपूर्ण स्थितिमा पटाक्षेप हुन पुग्यो। त्यसपछि, उनी अब मधेशी मुलका कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको नागरिकताको वैधता माथि प्रश्न उठाएर उनलाई सबक सिकाउने प्रयासमा छन्। यसमा उनी नराम्ररी असफल हुने बलियो संभावना छ। उल्टै विगतको उनको दोहोरो राहदानीसम्बन्धी विषय उल्झिएर सजाय भोग्नुपर्ने स्थितिमा पुग्न सक्ने परिस्थिति बन्न सक्छ। साथै यसले नागरिकताको पेचिलो समस्या रहेको मधेश र मधेशी अनि आफूलाई मात्र शुद्ध नेपाली ठान्ने कतिपय पहाडियामा विद्यमान मनोविज्ञानका बीचमा गहिरो ध्रुविकरण पनि गर्नेछ। यसले नेपालका नवनागरिक एवं नवनेता रविलाई ठुलै राजनीतिक क्षति पु¥याउन सक्छ। 

अपुष्ट समाचारहरुमा आए अनुसार कैलाश सिराहियाको नागरिकताको जारी मिति र किसिम (वंशज वा अंगीकृत) जस्ता विषयमा विरोधाभास छ। यसका विषयमा सिरोहियाले सामाजिक संजालमार्फत र  विज्ञप्ति जारी गरेर स्पष्टिकरण दिइसकेका छन्। यदि कैलाश सिरोहियाको नागरिकताको किसिमको बारेमा रवि लामिछानेका समर्थक र नेपालका मधेशीलाई शुद्ध नागरिक नदेख्नेले चलाइएका अफवाह सही नै हुन् भने पनि त्यसको धेरै दोषको भागिदार कैलाश स्वयं नहुन सक्छन्। मधेशीका हकमा नागरिकताको विषय पेचिलो छ । २०३०को दशकको मध्यतिर नागरिकता बनाएका कैलाश सिरोहियाले त्यसबेला आफू १८÷२० वर्षको हुँदा प्रशासनलाई प्रभाव पारे भन्न गाह्रो छ। यदि प्रशासनले रेकर्ड राख्दा गल्ति गरेको हो भने उनलाई मात्र सजाय दिनु ठुलो अन्याय र मुर्खता हुने छ। मधेशमा त्यहीं जन्मेहुर्केकाले पनि नागरिकता पाउन ठुलै मेहनत गर्नुपर्ने परिस्थिति अझै छ। त्यसबेला पहाडिया मनोविज्ञान बोकेको प्रशासनले मधेशीलाई नागरिकता दिनुअघि कति केरकार गथ्र्यो होला अनुमान गर्न सकिन्छ। 

यसबीचमा नेपालमा विभिन्न पेशा व्यवसायमा संलग्न भएर र हजारौंलाई रोजगारी दिएर कैलाश सिरोहियाले आफूलाई जिम्मेवार नेपाली नागरिक प्रमाणित गरिसकेका छन्। कान्तिपुरको सयौं आलोचना गर्न सकिएला तर नेपालको सबैभन्दा अग्रणी सञ्चारमाध्यमका रुपमा नेपाली समाजमा कान्तिपुरले खेलेको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न सक्तैन। कैलाश सिरोहियाको नागरिकता बनेको बेलाको तुलनामा भर्खरै मात्र दोहोरो राहदानी प्रकरणमा मुछिएका रवि लामिछानेको घटना बढी ताजा छ। 

पुराना राजनीतिक दलमा भ्रष्ट र यथास्थितिवादीको कब्जा र हालीमुहाली देखेर दिक्क भएका जनताले आशा गरेर जिताएका रवि लामिछानेले बदलाको राजनीति गर्दै र त्यसमा गृहप्रशासनको दुरुपयोग गरेर नेपाली जनताको आशामाथि तुषारापात गरेका छन्। हालैमात्र पनि उनले संसदमा गरेको संबोधन नेपाली कांग्रेसप्रति र त्यसका नेताहरुप्रतिमात्रै केन्द्रित थियो। नेपाली राजनीतिको फोहोर सफा गर्न आएको दाबी गर्ने यिनले हालैमात्र समाचारहरुमा आएको गिरिबन्धु प्रकरण लगायत सत्तारुढ एमाले र माओवादी मुछिएका भ्रष्टाचार प्रकरणमा चुइँक्क बोलेनन्। बरु उनी सामाजिक सञ्जालमा आएका विषयहरु घडी चोरीेलगायतका सामाजिक सञ्जालका विषय उठाएर नेपाली कांग्रेस र त्यसका नेताहरुलाई खुइल्याउनतिर लागे। उनको उद्देष्य उनी प्रवन्ध निर्देशक रहेका बेला विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रुपमा प्रवाह भएको रकमबाट विषयान्तर गर्नु देखियो। नेपाली कांग्रेसले रवि लामिछानेप्रति देखाएको व्यवहारमा राजनीतिक स्वार्थ र पूर्वाग्रह छैन भन्न सकिन्न। कांग्रेस, एमाले र माओवादी लगायत पुराना दलमा भ्रष्ट र यथास्थितिवादीहरुको पकड छ।  नयाँ राजनीतिक दलहरुका कारण आफ्नो हालीमुहाली गुम्छ कि भन्ने डर कांग्रेसलाई मात्र होइन एमाले र माओवादीलाई पनि छ। तर आफ्नो गल्ति छोप्न रविले छानीछानी एमाले र माओवादीप्रति सहिष्णुता र उनको विरोध गर्ने कांग्रेस र मिडियाप्रति पूर्वाग्रह देखाएका छन्। यसले उनको राजनीतिमा नयाँपन केही छैन भन्ने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण प्रक्रियामा उनको अहम् भूमिका भएको सत्य हो तर उनले उक्त पार्टीलाई आफ्नो व्यक्तिगत लाभको हतियार बनाएको पनि प्रष्टै देखिएको छ। अघिल्लो पटक उनले  गृहमन्त्री र सांसदको पद  मात्र नभई नागरिकको हैसियत पनि गुमाउनुपर्दा उनको पार्टीबाट मन्त्री भएका अन्यले पनि सरकार छोड्नुपर्ने बाध्यता सृजना गराइएबाट पार्टीमा लामिछानेको हैकम र कब्जा देखिन्छ। यसर्थ उनको पार्टीमा नयाँ राजनीतिक दलमा हुनुपर्ने खास चरित्र केही देखिँदैन। 

पुनः नागरिकताकै प्रसंगमा फर्कौ। कानुनी रुपमा नेपालका यी नवनागरिकले लोकप्रियतावादको बुइ चढेर नेपालमै वर्षौदेखि पेशा व्यवसाय  गरेर बसेका नेपाली नागरिक कैलास सिरोहियाको हुर्मत काढ्ने प्रयास गरेका छन् । यसरी बदलाभाव प्रेरित यिनीमाथि यसअघि उनकै दोहोरो राहदानी प्रकरणमा  नेपाली समाज र राज्यले करुणा अब नदेखाउन सक्छ।  यिनी नेपाली नागरिक नहुँदै अमेरिकी नागरिक छँदै राज्यसंयन्त्रलाई गुमराहमा राखेर नेपालमा पेशा व्यवसाय गरेको र राजनीतिमा लागेर सांसद र गृहमन्त्री समेत भएको आधारमा पुनः  छानबीन गर्नुपर्ने माग जोडतोडले उठ्ने नै छ। आफनो नागरिकताको सन्दर्भमा आफै कमजोर धरातलमा रहेका रवि लामिछानेले कैलाश सिरोहियाको नागरिकतालाई लिएर गर्न खोजेको ध्रुविकरणको खाल्डोमा उनी आफै जाकिने संभावना बलियो छ।

 रवि लामिछानेले आफैले गरेको वा उनलाई अन्य कसैले समेत उकासेको भए पनि उनको लोकप्रियताको धागोमा उनिएको रास्वपाको अधोगति पनि यहींबाट शुरु हुने प्रबल संभावना छ। पुराना दलका अर्कमण्यता, भ्रष्ट आचरण र यथास्थितिवादी सोचबाट आहत नेपाली जनताका लागि आशा देखाएका नयाँ शक्तिको अवसान खुशीको विषय भने होइन। तर समाजमा चौतर्फी निराशा हुँदा रवि लामिछाने जस्ता दुस्साहासी र आत्मकेन्द्रित लोकप्रियतावादीको उदय हुन सक्दो रहेछ भन्ने पाठ पनि सिक्नु पर्ने भएको छ। 


Twitter (X) : @shivap566